शिक्षा मन्त्रालय र महासंघबीच छलफल भएको हो? यसो भन्छिन् नानुमाया पराजुली

हिमाल प्रेस २९ चैत २०८१ २१:२८
5.2k
SHARES
शिक्षा मन्त्रालय र महासंघबीच छलफल भएको हो? यसो भन्छिन् नानुमाया पराजुली

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई आज पनि छलफलमा आउन आग्रह गरे पनि महासंघ नगएको जानकारी प्राप्त भएको छ।

मन्त्रालयले बोलाएको तर फुर्सन नभएर आफूहरू नगएको नेपाल शिक्षक महासंघका सहअध्यक्ष एवं आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले हिमालप्रेसलाई जानकारी दिइन्।

उनले भनिन्,‘शिक्षा मन्त्रालयका सचिवज्यूले हाम्रो अध्यक्ष लक्ष्मीकिशोर सुवेदी सरलाई म्यासेज गर्नुभएको रहेछ, छलफल गरौं भनेर। हाम्रो फुर्सद भएन। गएनौं।’

उनले कोही कसैसँग पनि वार्ताको कुरै नभएको र तत्काल ऐन चाहिएको बताइन्। ‘वार्ताको कुरै छैन। शिक्षा मन्त्रालयले शिक्षा विधेयकबारे छलफल गर्न निरन्तर आइदिनुस् भन्छ। शिक्षा मन्त्रालयलाई विधेयकका सम्बन्धमा प्राविधिक सहयोग गर्नुपर्ने भयो भने निरन्तर सम्पर्कमा रहुँला भनेका छौं। मन्त्रालयसँग वार्ता गर्न जरुरी पनि छैन। अरूसँग पनि जरुरी छैन। हामीलाई चाहिएको ऐन हो,’ संयोजक पराजुलीले थप भनिन्।

मन्त्रालय र महासंघबीच बिहीबार मन्त्रालयमा सवा घण्टा छलफल भएको थियो। उक्त छलफलमा महासंघले शिक्षा ऐनमा समेटिनुपर्ने २४ बुँदा सरकारलाई बुझाएको थियो। आन्दोलन चर्कंदै गएपछि शिक्षा मन्त्रालयले चैत २१ र २२ गते छलफल र परामर्शका लागि भन्दै महासंघलाई बोलाएको थियो।

२०७५, २०७८ र २०८० सालमा सरकार र महासंघबीच भएका सहमति अनुसार अविलम्ब शिक्षा ऐन माग गर्दै दश दिनदेखि काठमाडौँको माइतीघर–नयाँ बानेश्वर सडकमा शिक्षक कर्मचारीहरू आन्दोलित छन्। महासंघको नेतृत्वमा चैत २० गतेदेखि सडक आन्दोलन सुरु भएको हो।

आन्दोलनकै बीचमा महासंघले चैत २५ गते आम शैक्षिक हडताल घोषणा गरेको थियो। हडताल घोषणापछि विद्यालयमा वार्षिक परीक्षाफल प्रकाश, एसईई उत्तरपुस्तिका परीक्षण प्रभावित बनेको छ। नयाँ शैक्षिक सत्रको मुखैमा शिक्षकहरू आन्दोलनमा होमिएपछि विद्यार्थी भर्ना अभियानसमेत प्रभावित हुने देखिएको छ।

महासंघको आन्दोलन समीक्षा बैठकमा आन्दोलन अझ व्यवस्थित गर्दै निरन्तर अगाडि बढाउने कुरा भएको पराजुलीले जानकारी दिइन्।

याे पनि

सरकार र महासंघबीच कुन कुन विषयमा छलफल भयो? [नानुमाया पराजुलीसँग कुराकानी]

प्रकाशित: २९ चैत २०८१ २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast