नेपाली कामदारको आकर्षण युरोपतर्फ, प्रमाणीकरणको समस्या यथावत्

रमेश भारती २९ चैत २०८१ २१:११
48
SHARES
नेपाली कामदारको आकर्षण युरोपतर्फ, प्रमाणीकरणको समस्या यथावत्

काठमाडौँ- वैदेशिक रोजगारीका लागि युरोप जाने नेपाली कामदारको संख्या बढ्दो छ। वैदेशिक रोजगार विभागका अनुसार युरोप जाने कामदारको संख्या ४६ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको फागुनसम्ममा युरोपका आधा दर्जन देशमा २३ हजार ५ सय १० जना कामदार गएका थिए।

यस वर्ष फागुनसम्म ३४ हजार ३ सय ६६ जना युरोपका सातवटा देशमा गएको विभागको तथ्यांक छ। यो श्रम स्वीकृति लिएर जानेको संख्या हो। गत आवको सोही अवधिको तुलनामा यस वर्ष १० हजार ८ सय ५६ (४६.१७ प्रतिशत) बढी कामदार युरोप गएको देखिएको छ। यसमा श्रम स्वीकृति नलिई युरोप जाने नेपालीको संख्या समावेश छैन।

गत आर्थिक वर्षमा ६० हजारभन्दा बढी नेपाली रोजगारीका लागि युरोप गएको विभागको तथ्यांक छ। वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले नेपाली कामदार रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस, पोर्चुगलसहितका युरोपेली देशमा जाने गरेको जानकारी दिए।

उनका अनुसार खाडी र मलेसियाको तुलनामा आकर्षक तलबसुविधा, श्रमिकमैत्री कानुन, अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोपतर्फ सोझिएको हो। ‘रोमानिया, क्रोएसिया, साइप्रस र पोर्चुगल, माल्टा नेपाली कामदारको रोजगार गन्तव्य बनेका छन्। खाडी तथा मलेसियामा केन्द्रित नेपालको श्रमबजार युरोपतर्फ सोझिएको धेरै वर्ष भएको छैन। छोटो समयममा ती देशमा जाने कामदारको संख्या उच्च दरमा बढेको हो’, उनले भने।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले युरोपका देशमा नेपाली श्रमिकको संख्या वृद्धि हुँदा खाडी जाने कामदारको संख्या घट्न थालेको बताए।  बेलायत, जर्मनीसहितका देशले नेपालबाट दक्ष तथा अदक्ष श्रमिक लैजान रुचि देखाउन थालेपछि आगामी वर्ष युरोप जाने नेपालीको संख्या अझ बढ्ने देखिएको छ।

भण्डारीले युरोपका कतिपय मुलुकमा नेपाली श्रमिकको माग राम्रो भए पनि मागपत्र प्रमाणीकरण झन्झटिलो भएका कारण यो अवसर गुमिरहेको बताए। ‘सरकारले संस्थागत मागपत्र प्रमाणीकरणमा अनेक समस्या देखाउने गरेको छ। यही समस्याका कारण युरोपमा वार्षिक ५० हजारभन्दा बढी रोजगारी गुम्ने गरेको छ’, उनले भने।

नेपाली नियोग नरहेका श्रम गन्तव्यमा जाने श्रमिकलाई म्यानपावर कम्पनीले व्यक्तिगत श्रम स्वीकृतिमा पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। श्रम मन्त्रालयका अधिकारीहरू भने मागपत्र प्रमाणीकरण सहज बनाउन गृहकार्य भइरहेको बताउँछन्।

गत वर्ष फागुनसम्म रोमानिया जाने नेपालीको संख्या ७ हजार ५ सय ४४ थियो। यस वर्ष १० हजार २८६ ले बढेर १७ हजार ८ सय ३० पुगेको विभागको तथ्यांक छ। गत वर्ष फागुनसम्म १ सय ९८ जना नेपाली पोर्चुगल गएकामा यस वर्ष एक हजार २२ जना गएका छन्।

गत फागुनसम्ममा ७ हजार ५ सय ६ जना क्रोएसिया गएकामा यस वर्ष ८ हजार ८०५ जना पुगेका छन्। साथै यस वर्ष ४ हजार ९० जना नेपाली साइप्रस गएका छन्। गत वर्ष यो संख्या ३ हजार ६७९ थियो।

माल्टा जाने संख्या भने यस वर्ष २ हजार ६४ जनाले कमी आएको छ। गत आवको फागुनसम्ममा ४ हजार ५८३ जना माल्टा गएकामा यस वर्ष २ हजार ५१९ मात्र गएका छन्। क्रोएसिया र साइप्रस जाने नेपालीको संख्या भने सामान्य रुपमा बढेको छ।

विभागका अनुसार प्रतिशतका आधारमा हेर्ने हो भने सबैभन्दा बढी पोर्चुगल गएका छन्। संख्याका हिसाबले युरोपमा सबैभन्दा धेरै रोमानिया गएका छन्। चालु आवको फागुनसम्म रोमानिया, क्रोएसिया, साइप्रस, पोर्चुगल र माल्टा पाँच लाख ३१ हजार वैदेशिक रोजगारीमा गएका मध्ये ५७ हजार ८ सय ७६ युरोपका देशमा गएको देखिन्छ। फागुनसम्म वैदेशिक रोजगारीमा जाने कुल संख्याको तुलनामा युरोपका यी पाँच देशमा जानेको संख्या लगभग ११ प्रतिशत छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारले प्रारम्भिक चरणमा अध्ययनसमेत सुरु गरेको जनाएको छ। यसअघि नेपालले बेलायतसँग श्रम सम्झौता गरी नेपाली श्रमिक पठाउन बाटो खुला गरेको थियो। जर्मनीले नेपालबाट दक्ष तथा अदक्ष नेपाली श्रमिक लिन इच्छा देखाएको छ। श्रम सम्झौता गरेको जर्मनीमा सरकारले कामदार पठाउन सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast