गण्डकी विश्वविद्यालय कुलपतिमा प्राडा. तिवारी नियुक्त

हिमाल प्रेस २९ चैत २०८१ १८:१५
104
SHARES
गण्डकी विश्वविद्यालय कुलपतिमा प्राडा. तिवारी नियुक्त गण्डकी विश्वविद्यालयका कुलपति प्राडा. इन्द्रप्रसाद तिवारी

पोखरा– गण्डकी विश्वविद्यालयका कुलपतिमा प्राडा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन्। गण्डकी प्रदेश सरकारमातहत सञ्चालित यो विश्वविद्यालयमा कुलपति नियुक्त हुने उनी दोस्रो हुन्।

पहिलो कुलपति प्राडा. गणेशमान गुरुङले गत ४ फागुनदेखि अवकाश लिएका थिए।

रिक्त कुलपति नियुक्तिका लागि विश्वविद्यालय न्यासिक परिषद् अध्यक्ष एवं कुलपति छनोट समिति संयोजक प्राडा. कैलाशनाथ प्याकुरेल रहेको समितिले एक महिना लगाएर प्राडा. तिवारीसहित तीन जनाको नाम मुख्यमन्त्रीसमक्ष सिफारिस गरेको थियो।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीमध्ये कांग्रेसनिकट प्राडा. तिवारीलाई शुक्रबार नियुक्त गरेका हुन्। कुलपति बन्नका लागि सात जनाले आवेदन दिएकामा ५ जनाको आवेदन स्वीकृत भएको थियो।

अन्तिम तीन जनामा प्राडा. तिवारीसहित प्राडा. विश्वकल्याण पराजुली र प्राडा. सरोज कोइराला थिए। पृथ्वीनारायण क्याम्पसका निवर्तमान प्रमुख प्राडा. कोइरालासहित अर्का प्राडा. पराजुली एमालेनिकट हुन्।

पोखरा लेखनाथ निवासी प्राडा. तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्व डिनसमेत हुन्।

पोखराको मुस्ताङचोकमा मुख्य कार्यालय रहेको गण्डकी विश्वविद्यालयले नेपाल सरकारबाट जग्गा प्राप्ति गरी पोखरा–३२ स्थित ज्ञानकुन्जमा स्थायी तथा अस्थायी संरचना निर्माण गरेको छ।

गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेश सभाबाट २०७६ असोज २७ मा पारित भएसँगै यसले विश्वविद्यालयको मान्यता पाएको हो। नेपालका अन्य विश्वविद्यालयमा प्रधानमन्त्री वा मुख्यमन्त्री कुलपति रहने व्यवस्था भएकामा यहाँ भने न्यासिक परिषद्को व्यवस्था गरी कुलपति नियुक्ति गर्ने व्यवस्था गरिएको हो।

यहाँ हाल खेलकुद व्यवस्थापनमा स्नातक (बीएसएम), बीआइटी, बीफार्मा, बीबीए, बीएएलएलबी र एमआइटी एआइको पढाइ हुँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast