‘केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्’

हिमाल प्रेस २९ चैत २०८१ १६:५५
48
SHARES
‘केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्’ प्रधानमन्त्री केपी शर्मा ओली

लुम्बिनी– प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र कुनै पनि हिसाबले ठीक नभएको बताएका छन्। नेकपा एमाले रूपन्देहीले शुक्रबार बुटवलमा गरेको जागरण सभालाई सम्बोधन गर्दै ओलीले राजतन्त्रले जनताको पक्षमा कहिल्यै काम नगरेको बताएका हुन्।

राजतन्त्रले तिरो लिने र त्यसको दुरुपयोग गरी मोजमस्तीमात्रै गरेको उनको आरोप छ।

‘हामीले संघर्ष गर्नुपर्‍यो, बलिदान दिनुपर्‍यो, अनेक खाले दुःखहरू बेहोर्नुपर्‍यो। २५० वर्षको राजतन्त्रमा के भएको थियो? राजाहरूले बताइदिऊन्,’ उनले भने, ‘दुनियाँका अगाडि बडा थियौ, अरु के गर्‍यौ?’ उनले प्रश्न गरे।

राजतन्त्र सामन्ती शासन व्यवस्था भएको बताउँदै जनतालाई पढ्न तथा काम सिक्न समेत नदिएको बताए।

‘हिरोसिमा र नागासाकीजस्ता सहरहरू ध्वस्त भएर बचेको जापानले यसबीचमै विकास ग¥यो। कोरिया १९६० सम्म हामीभन्दा पछाडि थियो। त्यसपछि विकास गर्दै गएर अहिले उसको र हाम्रो प्रतिव्यक्ति हेर्‍यो भने त्यो तुलना नै गर्न मिल्दैन। तर, हाम्रोमा राजतन्त्रले केही गर्न दिएन,’ ओलीले भने।

उनले लुम्बिनी कपिलमुनि, बुद्ध, महर्षिहरूको उर्वर थलो रहेको बताउँदै कुनै पनि सामन्ती व्यवस्था नटिक्ने बताए। एमालेका ओलीले सरकारमा आएपछि विकास सुरू हुने गरेको बताए।

‘हामी हट्दा विकास रोकिने, हामी आउँदा विकास विकास सुरु हुने भईरहेको छ,’ उनले भने।

उनले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल आफूहरू सरकमा आएपछि नै शुरू गरिएको दाबी गरे।

प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरुले एमालेलाई विभाजनको कोशिश गर्नेहरु असफल भएको टिप्पणी गर्दै भने, ‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन्। म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरु पार्टीमा आउनेछन्। यस देशको विकासको भाग्यरेखा हामी आफैँ कोर्छौँ। मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरुले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन्।’

यस्तै कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवस्थाको कमजोरीलाई छोपेर प्रतिगामी तत्वहरूले टाउको उठाउन खोजे पनि त्यो कल्पना मात्रै भएको बताए। उनले दरबारियाहरू कहिले पनि जनतासँग काम नगरेको र सधैँ अराजकतामा रमाउन खोजेको दृष्टान्त काठमाडौंमा पछिल्लोपटक चैत १५ मा देखिएको बताए।

‘दलहरू सधैँ जनतासँग रहेका हुन्छन्, तर दरबारियाहरू आफ्नो स्वार्थमा केन्द्रीकृत हुन्छन्, अहिले एमालेलाई कमजोर बनाउन त्यही शक्ति लागेका छन्, एमालेविरूद्वको प्रहार हो, केपी ओलीविरूद्वको प्रहार हो,’ पौडेलले भने।

एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्ने सबै कार्यकर्ताको दायित्व भएको उनले बताए। अर्थमन्त्रीसमेत रहेका पौडेलले हरेक विकासको अगुवाइ गरेको पार्टीले अबको बजेटमा पनि युवा केन्द्रीकृत कार्यक्रम समेटिने र अहिले थालिएको सबै योजना समेटिने जनाए।

एमालेका सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले एमाले र यसको नेतृत्वले देश र जनताका पक्षमा गरेका कामबारे आफूहरु खुलस्त छलफल गर्न तयार रहेकाले विपक्षी र प्रतिगामी पक्षहरुबाट हुने गलत प्रचारको पछि नलाग्न आग्रह गरे।

प्रकाशित: २९ चैत २०८१ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast