
काठमाडौँ– सांसदहरुले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको छानविनको दायरामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ल्याउनुपर्ने बताएका छन्।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उनीहरुले तीनकुने घटनामा ज्ञानेन्द्र शाहको भूमिका देखिएकाले छानविनको दायरामा ल्याउनपर्ने धारणा राखेका हुन्।
बैठकमा कांग्रेस सांसद जीवन परियारले चैत्र १५ गतेको घटनामा ज्ञानेन्द्र शाहको भूमिकाका बारेमा बहस भएकाले समितिमा बोलाउन सुझाव दिए।
कुनै पनि व्यक्तिले अराजकता र अमानवीय काम गरे संविधानको नजरमा बराबर रहेकाले ज्ञानेन्द्र शाहका विषयमा छलफल हुनुपर्ने उनले बताए। उनले लोकतन्त्रमाथि धावा बोल्नेहरु विरुद्ध राज्य चूप लागेर बस्न नहुने धारणा राखे।
त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता देखिएको जवाफदेहीको तहमा ल्याउनुपर्ने बताए। ज्ञानेन्द्र शाहको आह्वानपछि भएको प्रदर्शन हिंसात्मक भएकाले राज्यले गम्भीर भएर अनुसन्धान गर्नुपर्ने उनले बताए।
बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले तीनकुने घटना राज्यपक्षले नियोजित रुपमा घटाएको आरोप लगाए। उक्त घटनाको निष्पक्ष न्यायिक छानविन भए त्यसदिन भएको कमीकमजोरी बाहिर आउने उनले बताए।
उनले उक्त घटनामा नेताहरुलाई झुटा मुद्दा लगाएर आस्थाका बन्दीका रुपमा नराखेर अपराधिक मुद्दा लगाउनु अत्यन्त आपत्तिजनक भएको बताए।