
काठमाडौँ– करिब १६ वर्षपछि भारतको मुम्बई आक्रमणका आरोपी तहव्वुर रानालाई अमेरिकाबाट भारत ल्याइएको छ। राना सवार जहाज बिहीबार साँझ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेको थियो।
नेसनल इन्भेस्टिगेशन एजेन्सी (एनआई) ले २६ नोभेम्बर २००८ मा भएको मुम्बई आक्रमणका प्रमुख योजनाकार रानालाई अमेरिकाबाट सफल प्रत्यर्पण गरिएको जनाएको हो।
एनआईले विज्ञप्ति जारी गरेर प्रत्यर्पण प्रक्रिया सुरू हुनुअगावै राना अमेरिकाको न्यायिक हिरासतमा रहेको जनाएको छ। रानाको सबै कानुनी विकल्प सकिएपछि प्रत्यर्पण सम्भव भएको एनआईको भनाइ छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै रानालाई भारत प्रत्यर्पित गरिने घोषणा गरेका थिए। एकपटक अमेरिकी अदालतले पनि रानालाई भारत प्रत्यर्पित गर्न अनुमति दिएको थियो। तर गत वर्ष नोभेम्बरमा उनले पुनर्विचार गर्न भन्दै निवेदन दिएका थिए। रानाको निवेदनलाई अमेरिकाको सुप्रिम कोर्टले गएको महिना खारेज गरेको थियो।
पाकिस्तानी मूलका क्यानाडाई नागरिक राना अमेरिकाको जेलमा थिए। रानालाई सन् २०१३ मा आफ्नो साथी डेविड कोलमैन हेडलीसँग मुम्बई र डेनमार्कमा आक्रमणको योजना बनाएको आरोपमा दोषी ठहर गरिएको थियो।
यो मामिलामा रानालाई अमेरिकी अदालतले १४ वर्षको जेल सजाय सुनाएको थियो।
२६ नोभेम्बर २००८ मा आतंकवादीहरूले मुम्बईको कैयौँ भवनमा एक साथ आक्रमण गरेको थियो। त्यो आक्रमणमा १६४ जना मारिएका थिए। त्यस्तै सुरक्षाकर्मीको कारबाहीमा ९ आतंकवादीको मृत्यु भएको थियो।
मुम्बई आक्रमणमा पाकिस्तानमा सक्रिय आतंकवादी संगठन लश्कर–ए–तैय्यबाको संलग्नता रहेको भारतको आरोप छ। आक्रमणमा संलग्न आतंकवादी अजमल कसाबलाई सुरक्षाकर्मीले जिवीत समाएको थियो। कसाबलाई नोभेम्बर २०१२ मा फाँसी दिइएको थियो।
को हुन् राना?
भारतीय एजेन्सीले पाकिस्तानी–अमेरिकी नागरिक डेविड कोलमैन हेडलीबारे गरिरहेको छानबिनमा एउटा नाम पटकपटक आइरहेको थियो। र, त्यो नाम थियो–तहव्वुर राना।
सिकागोमा कडा सुरक्षाबीच चार सातासम्म चलेको अनुसन्धानका क्रममा रानाबारे धेरै जानकारी बाहिर आएको थियो। मुद्दा सुनुवाइकै क्रममा हेडली रानाविरूद्ध सरकारी साक्षी बनेका थिए।
रानाको जन्म पाकिस्तानमा भएको थियो। मेडिकल डिग्री हासिल गरेका उनी पछि पाकिस्तानी सेनाको स्वास्थ्य समूहमा सामेल भएका थिए। रानाकी श्रीमती पनि डाक्टर थिइन्। सन् १९९७ मा क्यानाडा गएका श्रीमान–श्रीमती सन् २००१ मा त्यहाँको नागरिक बनेका थिए।
सन् २००९ मा पक्राउ पर्नु केहीअघि रानाले अमेरिकाको सिकागोमा एक इमिग्रेसन र ट्राभेल एजेन्सी खोलेका थिए। सिकागोमा हेडलीसँग उनको फेरि मित्रता सुरू भएको थियो। मुम्बईमा आक्रमण गर्नुअघि सन् २००६ र २००८ का बीच उनी कैयौँपटक मुम्बई आएका थिए।
पटकटक भारत आउने क्रममा सुरक्षाकर्मीको नजरबाट जोगिन उनले रानाको ट्राभेल एजेन्सीको शाखा मुम्बईमा खोलेका थिए। राना पाकिस्तानमा सक्रिय आतंकवादी संगठन लश्कर–ए–तैयबाको निर्देशनमा यस्तो गतिविधि गरिरहेको अदालतमा हेडलीले बयान दिएका थिए।
मुम्बई आक्रमणमा ६ अमेरिकी नागरिकको पनि ज्यान गएको थियो। अमेरिकी नागरिकको हत्यासहित १२ आरोपमा रानालाई सजाय दिइएको थियो।