
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका पदाधिकारी र सरकारका प्रतिनिधिहरूबीच सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ‘वार्ता’ सुरु भएको छ।
नेपाल सरकार र महासंघबीच विगतमा पटकपटक भएका सहमतिअनुसार अविलम्ब विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग राखेर महासंघको नेतृत्वमा शिक्षक कर्मचारीहरू यही चैत २० गतेदेखि काठमाडौँमा आन्दोलित छन्।
आन्दोलन लम्बिदै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघको नाममा बुधबार पत्र पठाउँदै विद्यालय शिक्षा विधेयक–२०८० मा छलफल भनेर बोलाएको थियो।
आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले विधेयकमा शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हिमालप्रेसलाई जानकारी दिइन्। उनले भनिन्, ‘छलफल सुरु भएको छ।’
आजको छलफललाई महासंघले ‘वार्ता’ को रुपमा नलिएको संयोजक पराजुलीले प्रस्ट्याइन्। ‘वार्ता भनेपछि विभिन्न विषयमा सहमतिको कुरा हुन्छ। हामीलाई अहिले कुनै सहमति गर्नु नै छैन। हाम्रो एउटै माग शिक्षक महासंघसँग भएका सहमतिअनुसार अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्छ भन्ने मात्रै हो,’ उनले भनिन्।
महासङ्घ छलफलको नाममा सरकारसँग लोभिएर आम नेपाली शिक्षक माथि धोका नहोस