
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको बताएका छन्। बिहीबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारको मुख्य एजेण्डा नै स्थायित्व, सुशासन र विकास रहेकाले अहिले गतिशील स्थायित्व कायम भएको उल्लेख गरे।
उनले राज्यका नीतिहरु छिनछिनमा अस्वभाविकरुपमा बदलिने र नकारात्मक असर पर्ने कामको अन्त्य गर्नमा सरकारको ध्यान रहेको बताए। प्रधानमन्त्री ओलीले सबैको विचारलाई सरकारले सम्मान गर्ने भएकाले अहिले कुनै आन्दोलन गरिरहनुपर्ने अवस्था नरहेको जिकिर गरे। उनले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए।
निजी क्षेत्रसमेत विकासका लागि कम्मर कसेर आत्मविश्वासका साथ लागेकाले सरकार त्यसलाई सघाउन तयार उनले बताए। प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिनका लागि विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै लैजाने धारणा राखे।
ठूला उत्पादन र उत्पादकत्व बढाउन सरकार अग्रसर रहेको भन्दै उनले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको पनि बताए।