
काठमाडौँ- केही समययता राजावादी (दक्षिणपन्थी) शक्तिहरू राजसंस्था पुनः स्थापनाको आन्दोलनमा होमिएका छन्। विभिन्न समूह, दल र अभियान्ता समेत ‘राजा फर्काऊ अभियान’ मा छन्।
प्रजातन्त्र दिवस (फागुन ७) को पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देश र फागुन २५ मा पोखरादेखि काठमाडौँ आउँदा देखाएको जाँगरले राजा समर्थितहरू हौसिएका छन्। राजावादी शक्तिहरू पूर्वराजा ज्ञानेन्द्रको श्रीपेँच पहिराउने र नारायणहिटी फर्काउने अभियानस्वरूप सडक तताइरहेका छन्।
उनीहरूका एजेन्डा समान छन्- ‘हिन्दुराष्ट्रसहित राजसंस्था फर्काउने र अर्को पूर्वराजा शाहलाई नै राजगद्दीमा राख्ने।’ समान एजेन्डा र समान व्यक्तिको पक्षमा खुले पनि सामूहिक आन्दोलन वा प्रदर्शन गर्न अझै सकेका छैनन्। उनीहरू अरूको आन्दोलनमा जान पनि सकेका छैनन् भने आन्दोलनमा भएका घटनाको जिम्मा लिन नै।
उनीहरूको एजेन्डा राजसंस्था हो र ज्ञानेन्द्र शाहलाई नै राजगद्दीमा राख्ने हो। समान एजेन्डा भएर पनि राजावादी शक्ति किन मिल्दैनन्? यो अनौठो छ। उनीहरू पछिल्ला दिनमा समूहमा विभाजित भएर आन्दोलन गरिरहेका छन्।
आज (बुधबार) पनि राजसंस्था पुनःस्थापना नामक हालै गठन गरिएको संस्थाले स्मार्ट दरबार धुमबाराहीमा कार्यक्रम गरेको थियो। संस्थाका कार्यवाहक अध्यक्ष जगमान गुरुङले नै औपचारिक पत्र काटेर सबै राजावादी शक्तिलाई निमन्त्रणा दिएका थिए। प्रतिबद्धता सभामा वक्ताका रूपमा राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति, नेपाली कांग्रेस (बीपी), शिव सेनालाई पत्र काटिएको थियो।
यसअघि पूर्वराजा ज्ञानेन्द्रकै सक्रियतामा नवराज सुवेदी संयोजक रहेको सोही संस्थाको कार्यवाहक संयोजक जगमान छन्। सुवेदी गत चैत १५ को तीनकुनेको हिंसक घटनापछि निवासमै नजरबन्दमा परेपछि जगमानले सोही संस्थाका कायवाहक संयोजक तोकिएका हुन्।
तीनै जगमानले निम्तो दिइएको कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएनन्। राजसंस्था पुनःस्थापना समितिकी एक सदस्यका अनुसार सबै राजावादी शक्तिका अध्यक्षलाई नै लक्षित गर्दै कार्यक्रममा निमन्त्रणा गरिएको थियो। तर यो कार्यक्रम लिङ्देन देखिएनन्।
लिङ्देन नगएका विषयमा राप्रपाभित्र अनेकथरी कुरा
राप्रपाका अध्यक्षसमेत रहेका लिङ्देन अहिलेको संसद्को चौथो ठूलो दलका नेता एवं राजावादी शक्तिमध्येको शीर्ष दलका मूल नेता हुन्।
लिङ्देन आजको प्रतिबद्धता सभामा आउने आश थियो। यसअघि एउटै कार्यक्रममा नदेखिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्ट, कांग्रेस बीपीका नेता कर्ण मल्लसमेत उपस्थित थिए। सबैभन्दा बढी चासोका साथ हेरिएका लिङ्देन भने कार्यक्रममा पुगेनन्।
उनलाई कार्यक्रममा नगएको विषयमा हिमाल प्रेसले सोध्दा आफूलाई कार्यक्रमबारे जानकारी नै नभएको प्रतिक्रिया दिए। ‘मलाई कार्यक्रमबारे थाहा भएन’ लिङ्देनले भने।
लिङ्देनलाई मात्र निम्तो नआएको वा राप्रपालाई नै नबोलाइएको भन्ने विषयमा राप्रपा प्रवक्ता मोहन श्रेष्ठमार्फत जानकारी लिँदा निमन्त्रणा आएको विषयमा जानकारी नभएको दाबी गरे। ‘यसविषयमा मलाई थाहा भएन। राजेन्द्र गुरुङलाई सोध्नुपर्छ।’ पार्टी स्रोतले भने निम्तो आएको जानकारी दिएको छ।
राप्रपा महामन्त्रीसमेत रहेका राजेन्द्र गुरुङलाई चासो राख्दा आफूलाई ‘अध्यक्षका बारेमा थाहा नभएको र प्रवक्ता (मोहन श्रेष्ठ)लाई नै सोध्न’ अनुरोध गरे। गुरुङ र श्रेष्ठ राप्रपामा लिङ्देन निकट नेता मानिन्छन्। लिङ्देनका विषयमा जानकारी लिँदा भने उनीहरूले फरकफरक तर्क राखे।
लिङ्देनले पनि दिएनन् निम्तो
चैत २६ अर्थात मंगलबार राप्रपाले राजसंस्था पुनःस्थापनाकै लागि आमसभा गर्यो। बन्दी रहेका राप्रपा नेतालाई छुटाउने दबाबसहित राजा फर्काउने अभियानका लागि बल्खुमा कार्यक्रम गरेको थियो।
लिङ्देनले कांग्रेस, एमाले र माओवादीलाई समेत सार्वजनिकरूपमै कार्यक्रममा आउन अनुरोध गरेका थिए। ‘ठूला दलका कार्यकर्तालाई हाम्रो कार्यक्रममा आउन अनुरोध छ। बरु आफ्नै झन्डा लिएर आउँदा समेत हुन्छ’ लिङ्देनले भनेका थिए। तर, उनै लिङ्देनले भने राजावादी शक्ति राप्रपा नेपाल, राजसंस्था पुनःस्थापना अभियानलाई निम्तो दिएनन्।
‘हामीले व्यक्तिगत रुपमा बोलायाएनौँ। सबैलाई सामूहिक आह्वान गरिएको थियो,’ प्रवक्ता श्रेष्ठ भन्छन्। राप्रपाका एक नेताका अनुसार राप्रपाको आमसभामा जान अभियानका संयोजक जगमान गुरुङ समेत राजी थिए।
‘संयोजक आउने कुरा थियो। राप्रपाले निम्तो दिएन,’ राप्रपाका एक नेता भन्छन्। राप्रपाले नबोलाए पनि अभियानका सदस्य केही नेत्रृ भने आमसभामा पुगेका थिए। तर त्यही अभियानले गरेको कार्यक्रममा लिङ्देन पुगेनन्।
अभियान खुलेबाटै देखिए तिक्तता
गत चैत ४ मा राजावादी सबै शक्ति समेट्ने गरी राजसंस्था पुनःस्थापना अभियान खोलिएको थियो। राप्रपाका वृद्ध नेता नवराज सुवेदीको संयोजकत्वमा गठित अभियानको घोषणा कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका थापा नै उपस्थित थिएनन्।
उनीहरू दुवैले कार्यक्रममा बोलाएको तर समिति गठनको कुरा नभनिएकाले नगएको प्रतिक्रिया दिएका थिए। सुवेदी नेतृत्वको अभियानले जनकमान्डरका रूपमा दुर्गा प्रसाईँलाई अघि सारेको थियो। तिनै प्रसाईको अगुवाईमा गत चैत १५ मा तीनकुनेमा प्रदर्शन गरिएको थियो। जुन कार्यक्रममा राप्रपा र राप्रपा नेपालका अध्यक्ष देखिएनन्। यता, राप्रपाकै अन्य नेता भने पुगेका थिए।
अभियानको कार्यक्रमले राप्रपाभित्रै फाटो देखिएको थियो। लिङ्देन र महामन्त्री धवलशमशेर जबराबीच नै तिक्तता देखिएको राप्रपा नेताहरू सुनाउँछन्। यसपछि पनि लिङ्देनले तीनकुने घटनाको हिंसक घटनाको जिम्मा नलिने बताएका थिए। तर तिनै राप्रपा पार्टीले अभियानको तीनकुने कार्यक्रमलाई ऐक्यवद्धता जनाएका थिए।
यता, राप्रपा नेपालका अध्यक्ष थापा भने अघिल्ला कार्यक्रममा उपस्थित नभए पनि आज (बुधबार) को कार्यक्रममा पुगेका थिए। उनले वक्ताका रूपमा सम्बोधन समेत गरेका थिए। राप्रपाका तर्फबाट भने पाका नेता प्रकाशचन्द लोहनी गएका थिए।
राजसंस्था पुनःस्थापना नयाँ व्यक्ति हाबी
राजसंस्था पुनःस्थापनाका लागि गरिँदै आएका अधिकांश कार्यक्रममा पुराना राजावादीभन्दा नयाँ हाबी भइरहेको देखिएको छ। कुनै बेला एमालेको कोटाबाट पदीय जिम्मेवारी लिएका जगमान गुरुङ कार्यवाहक कमान्डर छन्।
कुनैबेला एमाले र माओवादीबाट विभिन्न जिम्मेवारी निभाएका दुर्गा प्रसाई जनकमान्डर तोकिएका थिए। एमालेबाटै प्रदेश प्रमुख बनेका राजेश अहिराजसमेत अभियानका सदस्य तोकिएका थिए। यसरी सबै ठाउँमा अधिकांश नयाँ अनुहार देखिएपछि लिङ्देन र थापाले तिक्तता साँधेको नेताहरू सुनाउँछन्।
आजकै कार्यक्रममा पनि यसअघि एमाले कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी गंगा चौधरी पनि कार्यक्रममा पुगेकी थिइन्। योसँगै कुनै बेला कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव समेत बनेका कर्ण मल्ल समेत राजावादी अभियानमा खुलेका छन्।
यसरी नयाँ पात्र खुले पनि पुराना नेता केशरबहादुर विष्टसहित नेता हालसम्म कुनै कार्यक्रममा देखिएका थिएनन्। यसअघि अभियानकै सदस्यमा रहेका विष्टले आफू सदस्यमा नबस्ने जानकारी दिएका थिए।