
काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशभरको वायु प्रदूषण नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण गराउँदै सरोकारवाला विभिन्न १५ संघसंस्थाले १४ बुँदे माग अघि सारेका छन्।
क्लिन अप नेपाल, सेवक नेपाल, बास नेपाल, सोसेक नेपाल, नाईस नेपालगञ्ज, भूमिथान नेपाल, युवालय, सामुदायिक विकास मञ्च नेपाल दोलखालगायतका संघसंस्थाहरूले वायु प्रदूषण गर्न ध्यानाकर्षण गराएको हो।
प्रदूषणका कारण जनस्वास्थ्यमा असर पर्न नदिन उनीहरूले घर बाहिर, सार्वजनिक यातायात, सार्वजनिक क्षेत्र र भिडभाड हुने क्षेत्रहरूमा मास्कको प्रयोगलाई अनिवार्य गर्न माग गरेका छन्।
बालबालिकाको संवेदनशील स्वास्थ्यलाई ध्यान दिँदै अति प्रदूषित क्षेत्रमा वायुको गुणस्तर सुधार नहुँदासम्म विद्यालय सञ्चालनमा रोक लगाउनुका साथै काठमाडौँ उपत्यकाभित्रका सबै कार्यालयको समयलाई हप्ताको पाँच दिन कायम गर्न उनीहरूले माग गरेका छन्।
त्यस्तै इन्धनबाट चल्ने सवारीसाधनको सरकारद्वारा नियमित र प्रभावकारी चेकजाँच गरी पुराना र अत्याधिक धुवाँ निकाल्ने सवारी साधनहरूको सञ्चालनमा रोक लगाउनुपर्ने ती संघसंस्थाहरूको माग छ।
फोहोरको श्रोतमा वर्गीकरण नगर्ने, जथाभावी फोहोरमैला फ्याँक्ने र खुलारूपमा फोहोरमैला जलाउनेहरूलाई पहिचान सार्वजनिक गरी तत्काल कानुनी कारबाहीको दायरमा ल्याउन उनीहरूले ध्यानाकर्षण गराएका छन्।
सार्वजनिक स्थलमा धुम्रपान गरी सलाई र चुरोटको ठुटा जथाभावी फ्याँक्नेहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गरी वन डढेलो प्राकृतिक श्रोत, जैविक विविधता विनाश र वायु प्रदूषणको प्रमुख कारक भएकोले डढेलो लगाउनेलाई पहिचान गरी कानुनबमोजिम कडा कारबाही गर्न सरोकारवालाहरूले माग गरेका छन्।
नागरिकलाई प्रदूषणको जोखिमबाट जोगाउन विद्युतीय सञ्चार, सामाजिक सञ्जाल र फोन सन्देशलगायत विभिन्न माध्यमहरूबाट तत्कालै सार्वजनिक सूचना र सतर्कता सन्देश जारी गर्नुपर्ने उनीहरूको भनाइ छ।
पछिल्लो केही समयदेखि काठमाडौँ उपत्यकासहित प्रमुख सहरहरूमा बढ्दै गएको प्रदूणका कारण सर्वसाधारणलाई आँखा पोल्ने, टाउको दुख्ने, थकान, रुघाखोकी, स्वासप्रस्वासलगायतका समस्या देखिएका छन्। विशेषज्ञहरूले वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिस्क, आँखा, नाक र घाँटीलगायतका अंगहरूमा समस्या देखिने गरेको छ।