
काठमाडौँ- बिमस्टेक राष्ट्रहरूको कृषिमन्त्रीस्तरीय बैठक काठमाडौँमा सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा बुधबार बैठक सम्पन्न भएको हो।
बैठकमा भारत र भुटानका सम्बन्धित मन्त्रीहरूले भौतिक उपस्थिति जनाएका थिए भने बंगलादेश, म्यानमार र श्रीलंकाका मन्त्रीहरू भर्चुअल माध्यमबाट सहभागी भए। साथै बैठकमा थाइल्याण्डका उपस्थायी सचिवले सहभागिता जनाएका थिए।
बैठकमा क्षेत्रीय कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गर्ने र यस क्षेत्रका कृषिसम्बद्ध मुख्य चुनौतीहरूको समाधान गर्ने विषयमा छलफल भएको छ।
मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माको अध्यक्षतामा भएको बिमस्टेक राष्ट्रहरूका कृषि क्षेत्रका उच्च अधिकारीहरूको बैठकमा छलफल भएका एजेण्डाहरूलाई पनि मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेको छ।
मन्त्रीस्तरीय बैठकमा बिमस्टेक राष्ट्रहरूमा कृषि क्षेत्रमा भएका कार्यक्रमहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै कृषि क्षेत्रको सहकार्य कार्ययोजना २०२३–२०२७ को कार्यन्वयनको प्रगति समीक्षासमेत भएको छ।
त्यस्तै बैठकमा बिमस्टेक राष्ट्रहरूका कृषि क्षेत्रका उच्च अधिकारीहरूको बैठकमा कृषि क्षेत्रको भावी लक्ष्य र आगामी योजनाहरूमासमेत छलफल भएको छ। बैठकले बिमस्टेक राष्ट्रमा क्षेत्रीय खाद्य भण्डारको स्थापना र क्षेत्रीय बीउ भण्डार स्थापना गर्ने सहमति गरेको छ। साथै क्षेत्रीय कृषि व्यापारको प्रवद्र्धनका विषयमा भएको सहमतिका अतिरिक्त सदस्य राष्ट्रको कृषि क्षेत्रमा क्षमता विकासका लागि समेत विशेष पहल गर्ने सहमति भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।
कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न बिमस्टेक सेन्टर अफ एक्सलेन्स र कृषि विकासमा डिजिटल सार्वजनिक पूर्वाधार (डीपीआई) को स्थापनाका लागि सदस्य राष्ट्र भारतले अवधारणा प्रस्तुत गरेको थियो।
बैठकले बिमस्टेक पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्यका लागि नयाँ कार्ययोजना अनुमोदन गरेको छ। त्यस्तै यस अवसरमा नेपालामा सन् २०२५ को जुन महिनामा आयोजना हुने पर्वतीय कृषि प्रविधि कार्यशाला र श्रीलंकामा जलवायु स्मार्ट कृषि केन्द्रको स्थापनाका विषयमासमेत छलफल भएको छ।
श्रीलंकाले सन् २०२७ मा हुने चौथो बिमस्टेक कृषिमन्त्रीस्तरीय बैठक तथा उच्च अधिकारीहरूको बैठक आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस अवसरमा कृषि क्षेत्र प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल र भारतबीच मन्त्रीस्तरीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपाल र भारतबीच कृषि क्षेत्रका अनुसन्धान, प्रविधि विकास, बाली उत्पादन, कृषि बजार, कृषि व्यापार, बाली संरक्षण, सिचाई, प्राङगारिक खेतीलगायतका विषयमा सहकार्यका लागि दुवै देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीपत्रमा नेपालका तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री अधिकारी र भारतका तर्फबाट कृषि, किसना कल्याण तथा ग्रामीण विकासमन्त्री शिवराजसिंह चौहानले हस्ताक्षर गरेका छन्।
दुवै देशबीच द्विपक्षीय बैठक बसी साझा हितका विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै नेपाल र भुटानबीच कृषि क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठक बसेर साझा हितका विषयमा छलफल भएको छ। बैठकमा प्राङ्गारिक खेती अनुसन्धान, प्रविधि विकास, जलवायुमैत्री कृषि प्रणाली विकास, कृषि र पशुपन्छी आनुवंशिक स्रोतको आदान प्रदान, कृषि व्यापारलगायतका विषयमा छलफल भएको छ।
बैठकमा सदस्य राष्ट्रका मन्त्रीस्तर र उच्च अधिकारीहरूको छलफलबाट खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता, ग्रामीण विकासको प्रवद्र्धन, कृषकहरूमाझ रहेको गरिबी न्यूनीकरण र दिगो विकासका लागि कृषिको महत्वपूर्ण भूमिकालाई पुनरावलोकन गरिएको छ।
बैठकले सदस्य राष्ट्रहरूबीच ज्ञान, प्रविधि, उत्कृष्ट अभ्यास, साझा समस्या र चुनौतीहरूको समाधानका उपायहरूको आदान प्रदानले कृषक र सम्बद्ध सरोकारवाला पक्षलाई लाभ पुर्याउने सहकार्यका लागि बलियो आधार निर्माण तयार गरेको कृषि तथा पशुपन्छी मन्त्रालयको भनाइ छ।
बैठकलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले बैठकमार्फत जारी गरिएका प्रतिबद्धताहरू सदस्य राष्ट्रहरूमा कृषि प्रणालीको उत्पादनशीलता, उत्थानशीलता र स्थायित्वि वृद्धि गर्न व्यवहारिक पहलरूमा परिणत हुने विश्वास व्यक्त गरे।
अनुसन्धान, प्रविधि हस्तान्तरण, जलवायु अनुकुलन र मूल्य शृंखला विकासमा सामूहिक प्रयासले यस क्षेत्रका मुलुक र जनताको खाद्य सम्प्रभुता तथा आर्थिक समृद्धि हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने उनले बताए।