
झापा- पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं २ का नरेन्द्रकुमार आङ्देम्बेको खुसीको सीमा छैन। ‘आँख्लैपिच्छे सुत्ला च्यापेको छ,’ बारीमा मकैखेती फस्टाएपछि दङ्ग पर्दै आङ्देम्बे भन्छन्,‘पोहोरभन्दा यसपालि उत्पादन निकै बढ्ला जस्तो छ।’ उनले यसपालि डेढ बिगाहामा मकै खेती गरेका छन्।
गाउँमा आङ्देम्बे जस्तै ३७ जना किसान मिलेर बरपिपल कृषक समूह गठन गरेका छन्। समूहमा जोडिएरपाँच कठ्ठादेखि चार बिगाहासम्म जग्गा भएका किसानहरू मकै खेतीमा लागेका हुन्। झापा जिल्लाको १५ पालिकामध्ये मकै खेतीका लागि प्रख्यात छ झापा गाउँपालिका। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाका प्रमुख रवीन्द्र सुवेदीले यो पालिका नेपालमै सबैभन्दा राम्रो मकै उत्पादन हुने क्षेत्र मानिएको बताए।
परियोजनाले झापा गाउँपालिकाको सबै सात वटा वडा र छिमेकी कनकाई नगरपालिकाको वडा नं. ५ र ६ मा मकै जोन कार्यक्रम लागु गरेको छ। जसका कारण यहाँका ९० प्रतिशत भन्दा बढी किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित भएका छन्। झापा गाउँपालिका वडा नं. ७का मिर्जा सोरेन सार्जम बाहा कृषि सहकारी संस्थामा आवद्ध छन्। उनी जस्तै सहकारीमा आवद्ध एकसय ९५ जना कृषक व्यावसायिक रुपमै मकै खेतीमा लागेका छन्।
परियोजना प्रमुख सुवेदीले झापा र कनकाई नगरपालिकाको माटो मकै खेतीका लागि उर्बर रहेको हुँदा सरकारले २०७६ सालदेखि मकै जोन कार्यक्रम लागु गरेको बताए। सुरुमा झापा गाउँपालिकाको वडा नं.६ र कनकाई नगरपालिकाको वडा नं. ९ मा परीक्षणको रुपमा मकै जोन कार्यक्रम लागु भएको थियो। जोन कार्यक्रम लागू हुन पाँच सय बिगाहाभन्दा बढी जग्गामा मकै खेती हुनुपर्दछ। हाल झापाका सबै वडा र कनकाईको वडा नं. ५ र ६ मा यो कार्यक्रम सञ्चालन भइरहेको छ।
धानभन्दा मकै दोब्बर फल्ने किसान बताउँछन्। कसै कसैले एक कठ्ठा बारीमा १५ मन (मुरी) (१५०० केजी) सम्म मकै फलाएको बताएका छन् भने प्रति बिगाहा डेढ सय मन मकै त औसतमै फल्ने गरेको झापा गाउँपालिका वडा नं.४ का मुस्लिम कृषक समूहका कलाम शेख बताउँछन्।
‘धानभन्दा दोब्बर फल्छ मकै,’ शेख भन्छन्, ‘मकैमा खर्च पनि धान खेतीको हिसाबमा थोरै हुन्छ। त्यही भएर गाउँका सबै किसान मकै खेती लगाउन थाल्नु भएको छ।’ पछिल्लो समय शून्य खनजोतमै मकै खेती हुन थालिसकेको छ। जसका कारण किसानको लागत ह्वात्तै घटेको छ।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारी झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकै जोन लागु भएतापनि अरु क्षेत्रमा उत्तिकै मकैखेती फस्टाएको बताउँछन्। झापा जिल्लामा ४४ हजार ३५० हेक्टर र नेपालभर लगभग १० लाख हेक्टर जग्गामा मकै खेती हुने गरेको भण्डारीले बताए। झापा गाउँपालिका सिङ्गै मकै खेतीमा लागेको पाइएको छ। मकै जोन लागु भएकाले सरकारले किसानलाई खेतीका लागि बिउ, मल, उपकरण, सिँचाइ र भण्डारणका लागि सहयोग पुर्याउने गरेको छ।