वैदेशिक रोजगारीमा सुधार ल्याउन भण्डारीको दुई वर्षको संघर्ष र उपलब्धि

हिमाल प्रेस २७ चैत २०८१ १३:५२
68
SHARES
वैदेशिक रोजगारीमा सुधार ल्याउन भण्डारीको दुई वर्षको संघर्ष र उपलब्धि

काठमाडौँ- वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्नो दुईबर्से प्रगाति विवरण सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्दै वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित, व्यासायिक र पारदर्शी बनाउन दुई वर्षमा धेरै संघर्ष गर्नु परेको र यसलाई गर्व गर्न लायक व्यवसाय बनाउन आफूले काम गरेको बताए।

वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि नीतिगत सुधार र व्यवसायीको हकहितका लागि प्रयत्न तथा सामाजिक उत्तरदायित्वका वहन गरिएको उनले बताए। ‘वैदेशिक रोजगारी क्षेत्रका व्यवसायीले उठाएका केही एजेन्डाहरूमा काम गर्दागर्दै पनि टुंग्याउन सकिएन। बाँकी काम नयाँ नेतृत्वले गर्छ। कार्यसमितिले २६ महिनाको कार्यकाल सम्पन्न गर्दै नेतृत्व हस्तान्तरण गर्न लागेको हो,’ उनले भने।

दुई वर्षमा संघले पहिलोपटक श्रमग्राम परिसरमा उजुरी, गुनासो सुन्ने र समाधान गर्न दुई कोठे मेलमिलाप कक्ष निर्माण गरी व्यवसायी तथा कामदारका ३४ सय उजुरी तथा गुनासाहरू व्यवसायी र कामदारसँगै राखेर समाधान गरेको भण्डारीको दाबी छ। एक वर्षमा न्यूनतम एक सय कामदार पठाउनुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाका कारण कतिपय म्यानपावर कम्पनी नवीकरणसमेत हुन सकेका छैन। यसलाई हटाउन संघले प्रभावकारी भूमिका खेले पनि कार्यान्वयनको तयारीमा पुगेको अध्यक्ष भण्डारीले बताए।

अध्यक्ष भण्डारीले आगामी नेतृत्वले सेवा शुल्क निर्धारण, मागपत्र प्रमाणीकरण, आकर्षक गन्तव्यमा व्यवसायीको पहुँच बढाउँदै सम्मानित र व्यवस्थित वैदेशिक रोजगार बनाउनका लागि आफूले बाटो बनाइदिएको पनि जानकारी गराए। संघले आगामी कार्ययोजनामा समयसापेक्ष ऐन नियम परिमार्जनमा पहल गर्नुपर्ने, सेवा शुल्क व्यवस्थापन र कामदारको लागत निर्धारण, विभिन्न नयाँ गन्तव्य मुलुकसँग श्रम सम्झौताका लागि पहल गर्नुपर्ने, मागपत्र प्रमाणीकरण सहजीकरण गर्नुपर्नेलगायत सातवटा बुँदा प्रस्ताव गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको छ।

संघले वैदेशिक रोजगार ऐन २०६४ संशोधनमा भूमिका खेलेको, विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेकाहरूलाई सम्मान गरेर विदेशमा सिकेको सीप, क्षमता र आर्जित पुँजी स्वदेशमा लगाउन प्रोत्साहित गर्ने कार्यको थालनी गरेकोलगायत वर्तमान कार्यसमितिको उपलब्धिका सूचीमा राखेको छ।

अध्यक्ष भण्डारीका अनुसार वैदेशिक रोजगार ऐनअनुसार व्यवसायीले राखेको धरौटीबाट २५ प्रतिशत ब्याज वैदेशिक रोजगार कोष सञ्चालनका लागि ल्याइएको, युरोपको मागपत्र प्रमाणीकरण र साउदी आइडी खुलाउन, कोरिया–जापान तथा इजरायल रोजगारीमा व्यवसायीहरूको पहुँच पुर्‍याउन, नयाँ र आकर्षक रोजगार गन्तव्य विकासका लागि पहल गरेको उनको दाबी छ।

वैदेशिक रोजगारीमा समस्याका रूपमा देखा परेको सिण्डिकेटलाई विफल बनाउन पनि वर्तमान कार्यसमितिले काम गरेको उनको दाबी छ। स्थापनाको ३२ वर्षपछि संघले आफ्नै प्रशासनिक भवन बनाउन सफल भएकोलाई पनि भण्डारीले आफ्नो उपलब्धि मानेका छन्। भवन काठमाडौँ महानगरपालिका–७ स्थित सिफलमा छ। उक्त प्रशानिक भवनको उद्घाटन सोमबारमात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उद्घाटन गरेका थिए।

यही चैत २९ गते हुने ३०औं साधारणसभाबाट संघको नयाँ नेतृत्व चयन हुँदैछ।

भण्डारी नेतृत्वको कार्यसमितिले गरेको मुख्य उपलब्धि

वैदेशिक रोजगार व्यवसायी संघको आफ्नै प्रशासनिक भवन खरिद,

संघमा सदस्यता आबद्धता बढाएर झण्डै एक हजार सदस्य बनाइएको,

वैदेशिक रोजगार विभाग श्रमग्रामपरिसरमा उजुरी, गुनासो सुन्न र समाधान गर्न दुई कोठे मेलमिलाप कक्ष निर्माण व्यवसायी तथा कामदारको ३४ सय उजुरी/गुनासाहरु व्यवसायी र कामदार सँगै राखेर समाधान,

विदेशमा रहेका नेपाली कुटनीतिक निकायमा नयाँ नियुक्त भएका राजदूत, श्रम सहचारी तथा श्रम काउन्सिलरसँग भेटघाट तथा अन्र्तक्रिया अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाएर व्यवसायीको आवाज उठाइएको,

सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको सहकार्य तथा संवादलाई सुमधुर बनाउने कार्य क्षेत्रगत सुधार, नीतिगत सुधार र सामाजिक उत्तरदायित्वका कामलाई प्रमुख प्राथमिकता दिएर काम गरिएको,

सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा क्षमता अभिवृद्धि कार्यक्रम युएईमा रोजगार मेला आयोजना गर्नुका साथै साउदी, कतार, युएई, मलेसियालगायतका मुलुकमा स्थलगत भ्रमण तथा  अन्तर्क्रिया कार्यक्रम गरिएको,

सय संख्याको बाध्यात्मक प्रावधानलाई दुई पटकसम्म बाधा अड्काउ फुकाउने काम गराइएको र यो व्यवस्थालाई ऐनबाट हटाउने काम अन्तिम चरणमा पुर्‍याइएको,

वैदेशिक रोजगार व्यवसायमा लगाउन खोजिएका सिण्डिकेटका प्रयासलाई विफल बनाउनुका साथै हालसालै मात्र मलेसिया रोजगारमा गएका कामदारलाई ४५ डलर रोजगारदातामार्फत लाद्न खोजेकोमा यसको विरुद्ध आन्दोलन गरेर यसलाई हटाइएको,

वैदेशिक रोजगार ऐनअनुसार व्यवसायीले राखेको धरौटीबाट २५ प्रतिशत ब्याज वैदेशिक रोजगार कोष सञ्चालनका लागि ल्याइएको,

व्यवसायीको मृत्यु तथा बिरामी भएमा उनीहरुको परिवारलाई आर्थिक सहयोग गर्ने व्यवस्था सुरु,

विभिन्न परिबन्धमा परेर साउदी अरबको जेलमा परेका व्यवसायी वीरेन्द्र साह तेलीको रिहाइका लागि पैरवी,

युरोपको मागपत्र प्रमाणीकरण खुलाउन साउदी आइडी खुलाउन, कोरिया–जापान तथा इजरायल रोजगारीमा व्यवसायीहरुको पहुँच पुर्‍याउन, नयाँ र आकर्षक रोजगार गन्तव्य विकास गर्न साथै वैदेशिक रोजगार ऐन २०६४ संशोधनमा भूमिका खेलेको,

सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई समस्या पर्दा सहयोग तथा स्वदेशमै प्राकृतिक विपत्तीमा परेकाहरुलाई सहयोग विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेकाहरु उद्यमीलाई सम्मान गरेर विदेशमा सिकेको सीप, क्षमता र आर्जित पुँजी स्वदेशमा लगाउन प्रोत्साहित गर्ने कार्यको थालनी,

व्यवसायीमाथि हुने आक्रमणमा सुरक्षाको प्रत्याभूत गराउन,व्यवसायीहरुलाई एकताबद्ध बनाउन र सबै व्यवसायीलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाइएको 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast