
काठमाडौँ- नेपालका लागि बेलायती राजदूत रोब फेन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता तथा नेपाल–संयुक्त अधिराज्य संसद मैत्री समूहका संयोजक विराजभक्त श्रेष्ठको ब्रिटिश दूतावासमा भेटघाट सम्पन्न भएको छ।
भेटघाटका क्रममा नेपाल-वेलायतबीचको ऐतिहासिक सम्बन्ध, अन्तर्राष्ट्रिय समसामयिक राजनीतिक तथा कूटनीतिक चासोका विषयहरू, नेपाल-संयुक्त अधिराज्य (यूके) संसद् मैत्री समूहको भूमिका र सम्भावनाबारे कुराकानी भएको स्रोतले जनाएको छ।
छलफलमा पर्यावरण संरक्षण, सांस्कृतिक सम्पदाको संरक्षण, सूचना प्रविधिको प्रयोग तथा आर्थिक कूटनीतिको प्रवर्द्धन जस्ता महत्त्वपूर्ण विषयहरूमा विचार–विमर्श गरिएको थियो।
भेटमा राजदूत रोब फेन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता तथा नेपाल–संयुक्त अधिराज्य संसद मैत्री समूहका संयोजक माननीय विराजभक्त श्रेष्ठ, रास्वपाका केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी, ब्रिटिश दूतावासका राजनीतिक प्रमुख म्याट वाल्टर्स, राजदूतका राजनीतिक सल्लाहकार सुमित शर्मा एवं श्रेष्ठका स्वकीय सचिव प्रदीप ज्ञवालीको उपस्थिति थियो।
उच्चस्तरीय संवादले नेपाल–वेलायत सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी समझदारी र सहकार्यका नयाँ आयाम खोल्ने विश्वास गरिएको छ।