माओवादीमा ‘नन्दबहादुर’हरू हाबी हुँदा युवामाथि आघात

किरण पौडेल २६ चैत २०८१ २१:४४
92
SHARES
माओवादीमा ‘नन्दबहादुर’हरू हाबी हुँदा युवामाथि आघात

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू र आफ्नो पार्टी अग्रगमन, संघीयताको पक्षधर र पूर्णरूपमा लोकतान्त्रिक दल रहेको दाबी गर्छन्। उनी माओवादी क्रान्तिकारी शक्ति र युवा जमातले भरिएको भन्न थाक्दैनन्।

पछिल्लो समय त पार्टीको नीति नै ४० प्रतिशत युवा नेतृत्व भन्ने छ। तर यसरी युवाकै वकालत गर्ने माओवादीमा युवालाई भूमिकाविहीन बनाउँदै लगिएको छ। यसका अलावा पुराना नेता बर्चस्व कायम भएको गुनासो बढेको छ।

माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट बिदा भएका नेतालाई व्यवस्थापन गर्ने र पार्टीमै जिम्मेवारी दिने निर्णय भएको थियो। क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेर हद (३२ वर्ष) कटेकालाई पार्टीले व्यवस्थापन गर्ने भनिएको थियो।

जसअनुसार संगठनको तत्कालीन उपाध्यक्षदेखि महासचिवसम्मका लागि केन्द्रीय प्रतिनिधि बनाउने, उपमहासचिवलाई प्रदेश सचिवालय सदस्य बनाउने र सचिवदेखि कोषाध्यक्षसम्मका लागि प्रदेश सदस्य बनाउने आश्वासन दिएको थियो।

पार्टी उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा विद्यार्थी संगठनका इन्चार्ज हिमाल शर्मा र पूर्वअध्यक्ष पञ्चा सिंहसहित तीन सदस्यीय कार्यदलले बिदाइ भएकालाई पदाधिकारी तहका नेतालाई सोही अनुसारको जिम्मेवारी दिन पार्टीलाई सिफारिस गरेको थियो।

पार्टी पदाधिकारीको चैत १८ र १९ मा पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले यसअघि विद्यार्थीसम्बन्धी कार्यदलको सिफारिसको आधारमा एक तह बढुवाको सिफारिसलाई स्थगित गरेर स्थानान्तरणको सिफारिसलाई भने स्वीकार गर्ने निर्णय गरेको छ।

गत माघमा बसेको केन्द्रीय समिति बैठकले नै पूर्वविद्यार्थीलाई पार्टीमा लैजाने निर्णय गरेको थियो। तर एकाएक चैत १८ को पदाधिकारी बैठकले सोही सिफारिसलाई नस्वीकार्ने निर्णय लिएसँगै माओवादी नेता हिमाल शर्मा प्रतिगमन भएको बताउँछन्।

उनी पार्टीको केन्द्रीय समिति बैठकको निर्णयलाई पदाधिकारीले उल्ट्याउनुलाई शर्माले अनौठो मानेका छन्। गत चैत १८ को बैठक त्यही बैठक हो, जसले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पदीय जिम्मेवारी दिने निर्णय गर्‍यो। गत माघको केन्द्रीय समिति बैठकमा पार्टी फर्किने आशय नन्दबहादुरले प्रकट गर्दा चर्को विरोध भएको थियो।

तिनै नन्दबहादुरलाई माओवादीले चैत १८ कै बैठकले एकैपटक केन्द्रीय सदस्य, स्थायी समिति र पदाधिकारी (उपाध्यक्ष) पदमा चयन गर्‍यो। अहिले माओवादीभित्रै नन्दबहादुरको विषयले विरोध भइरहेको छ।

गत केन्द्रीय समितिको बैठकमा समेत अधिकांश केन्द्रीय सदस्यहरूले नन्दबहादुरलाई पार्टीमा नफर्कन अनुरोध गरेका थिए। त्यसबेला अध्यक्ष प्रचण्डले आफूले नभई नन्दबहादुर आफैँले फर्कन खोजेको जबाफ दिएका थिए। अहिले युवालाई पद नदिने तर राजकीय पद दिने निर्णयले माओवादी पुराना नेताकै पक्षमा लागेको विरोध भइरहेको छ।

माओवादीनिकट अखिल क्रान्तिकारीकी उपमहासचिव निर्मला गौतम उपराष्ट्रपति पार्टीमा फर्किने काम सही नभएको बताउँछिन्। यता युवालाई रोक लगाएको विषयमा समेत पार्टीमा विरोध भइरहेको छ।

पूर्वविद्यार्थी नेता पवन कार्कीले त पार्टीले युवाहरूलाई निषेध गरेको आरोप लगाउँछन्। उनी पुराना नेता व्यवस्थापनमा लाग्दा नयाँहरू बर्जित भएको बताए।

‘विद्यार्थी संगठनबाट उमेरहदका कारण बिदा भएका युवाहरु जसले आफ्नो जीवनको दसकौँ वर्षको उर्जाशील समय पार्टी संगठन लाई समर्पित गरे तिनै युवा कमरेडलाई पार्टीमा उचित जिम्मेवारी दिने भनि पार्टीको आठौँ केन्द्रिय समिति बैठकको निर्णयमा, पदाधिकारी बैठकको गत माघ २७ को निर्णय र गत फागुन १३ गतेको पार्टी केन्द्रको परिपत्रअनुसारको जिम्मेवारी साथै कार्यदलले समेट्न नसकेका र जथाभावी स्थानान्तरण गरिएका कमरेडको जिम्मेवारी मिलानको बारेमा छलफल चलिरहेका बेला उक्त निर्णयविपरित पार्टी कार्यालयको निर्णय भनेर आएको परिपत्रले पार्टीभित्र युवालाई निषेध गर्नेगरि पार्टी केन्द्रिय समितिको निर्णयबाट पछाडि हट्ने गरी गरिएको सो परिपत्र तत्काल सच्याउन र विद्यार्थीबाट उमेर हदका कारण बिदा हुनभएका सम्पुर्ण कमरेडको जिम्मेवारी ठोस गरि केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्नुहुन पार्टी नेतृत्व को गम्भीर ध्यानाकर्षण गर्दछु,’ उनी भन्छन्।

यसका लागि पार्टी अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण गर्ने समेत उनी बताउँछन्।

यसअघि यिनै पुराना नेताहरूलाई पार्टीमा व्यवस्थापनका लागि वैकल्पिक केन्द्रीय सदस्य बनाउन सिफारिस समेत गरिएको थियो। शर्मा नेतृत्वकै कार्यदलले गरेको सिफारिसलाई पार्टीको पदाधिकारी बैठकले वैकल्पिक केन्द्रीय सदस्य बनाउन नसकिने बताएको छ।

‘हामीले सिफारिस गरेको थियौँ। तर पार्टीले ग्रहण गरेन,’ शर्मा भन्छन्,‘गत बैठकले पनि युवालाई बढुवा नगर्ने भनेको छ। यो बुढुवा नै होइन समायोजन मात्र हो।’

पार्टी महासचिव देव गुरुङले समस्या सुल्झिने बताएका छन्। युवा नेतारू पुराना नेतालाई व्यवस्थापन गर्दा पार्टी चुकेको गुनासो गर्छन्। माओवादीमा पूर्वसभामुख अग्नि सापकोटा र कृष्णबहादुर महरा पार्टी उपाध्यक्ष छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि उपाध्यक्षमै फर्किएका छन्।

उनीहरूकै कारण केन्द्रीय कमिटी जम्बो बनेको र युवा नअटाएको नेताहरू बताउँछन्।

प्रकाशित: २६ चैत २०८१ २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast