
काठमाडौँ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारमा जाने कामदार असुरक्षित हुनुमा सरकार दोषी रहेको आरोप लगाएका छन्।
आगामी २९ गते कार्यकाल पूरा गरिरहेका अध्यक्ष भण्डारीले मंगलबार पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन्।
उनले दुई वर्ष संघको नेतृत्व सम्हाल्दा सय कामदार, घरेलु कामदार, सेवा शुल्क परिमार्जनका लागि मन्त्रालयसँग सहकार्य र आगामी दिनका लागि सहजीकरण गरेको जिकिर गरे।
‘दुई वर्ष संघको नेतृत्व सम्हाल्दा कामदारका लागि कानुनी समस्या समाधानको प्रयास गरेँ। कैयौँ भावी योजना बनाएको छु। नयाँ कार्यसमितिलाई काम गर्न सजिलो बाटो बनाउने प्रयास गरेको छु,’ उनले भने।
अहिले पीडितका नाममा म्यानपावरलाई दबाब दिने प्रयास भए पनि ठगी गर्ने व्यक्ति वा शैक्षिक कन्सल्टेन्सीमाथिको कारबाही र व्यवस्थापनमा श्रम मन्त्रालय चुकेको भण्डारीको भनाइ छ।
भण्डारीले मागपत्र प्रमाणीकरणलगयातका समस्या समाधान लागि मन्त्रालयसँग समन्वय गरेर दुई वर्षमा तीन हजार ४ सय मुद्दाको समाधान गरेको बताए।
उनले फ्रि भिसा र फ्रि टिकटका नाममा भइरहेको ठगी नियन्त्रणका लागि प्रयास गरेको र यसको विकल्प खोज्नुपर्ने अवधारणा बनाएको उल्लेख गरे। भण्डारीले रेमिट्यान्सले कुल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको र यसको प्रयोगमा सरकारले ध्यान नदिँदा दुरुपयोग भइरहेको जिकिर गरे।
वैदेशिक रोजगारको क्षेत्रमा धेरै समस्या रहेको बताउँदै भण्डारीले समस्या सुधार गर्न सरकारलाई आग्रह गरे।