राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रममा पार्न खाजिएको छ : ओली

हिमाल प्रेस २६ चैत २०८१ १६:४३
22
SHARES
राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रममा पार्न खाजिएको छ : ओली तस्बिर : प्रधानमन्त्रीको सचिवालय

जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समितिका साथ काम गरिने बताएका छन्।

मंगलबार मधेश प्रदेशसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने उल्लेख गरे।

‘सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न उपयुक्त समयमा संविधान संशोधन गर्छौँ, त्यसका लागि एमाले र कांग्रेसको यो संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौँ। तर, ‘प्याण्डोरा’ को बाकस खोलेजस्तो गर्दैनौँ,’ उनले भने।

ओलीले प्रतिगमनका लागि ढोका खोल्न संविधान संशोधन नहुने बताए।

‘प्रतिगमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ,’ उनले भने,‘राजतन्त्र फेरि ल्याउने भनेर केही लागेका छन्। विगतमा निरंकुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रममा पार्न खोजेका छन्। हामीले नयाँ पुस्तालाई सचेत बनाउनुपर्छ। आजको सचेत समाजले त्यस्तो सामन्ती व्यवस्था स्वीकार्न सक्दैन। गणतन्त्र यस देशको वर्तमान र भविष्य हो। प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा हरनु खुसीको कुरा हो।’

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको संघर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित एवं सुदृढ बनाउनु सबैको कर्तव्य भएको उल्लेख गरे।

‘यो श्रेष्ठ प्रणाली हो, हामीले यसको रक्षा गर्नुपर्छ। अभ्यासमा आएको लामो समय नभएकाले यो व्यवस्थामा केही कमजोरी भए होलान् तर सुधार गरेर जानुको विकल्प छैन,’ ओलीले भने,‘अब हामी द्रूत गतिमा अघि बढेका छौँ। यस प्रणालीअन्तर्गत सांसदको सपथ लिने अनि बाहिर गएर संविधान मान्दिनँ भन्ने अभिव्यक्ति दिनु हुँदैन।’

प्रधानमन्त्री ओलीले अनावश्यक हल्ला चलाइएको भए पनि भारत र चीनसँगको सम्बन्ध सुमधुर रहेको बताए।

प्रकाशित: २६ चैत २०८१ १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast