
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रकाशचन्द्र लोहनीले देशमा अहिले ‘रावण’हरूको शासन रहेको बताएका छन्।
काठमाडौँको बल्खुमा राप्रपाले आयोजना गरेको खबरदारीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेता लोहनीले आफूले गरेपछि जे पनि ठीक हुने प्रवृत्ति सत्ता सञ्चालन गर्नेहरूमा देखिएको आरोप लगाए।
‘नेपालमा अहिले रावणहरूको शासन भएको छ। रावण भनेको अहंकार हो, अरूको चिज मेरो भन्ने घमण्ड हो। सर्वसाधरणलाई उपेक्षा गर्ने मनस्थिति हो। मैले गरेपछि जे पनि ठीक हुन्छ भन्ने हो। यो रावण प्रवृत्ति हो,’ उनले भने।
लोहनीले ‘रावण’ प्रवृत्तिविरूद्ध संघर्ष गर्न मूल चुनौती रहेको बताए। उनले भने,‘जनताको मत लिएर सरकारमा गएका छन्। उनीहरूमा रावण प्रवृत्ति हावि हुँदै गएको छ। यसका विरूद्धमा संघर्ष गर्न मूल चुनौती देखिएको छ।’
लोहनीले देश अस्थिर र अराजक अवस्थामा रहेको बताउँदै जनता पीडित भएको उल्लेख गरे।