![सप्तकोशीमा डल्फिनको विहार [तस्बिरहरूसहित]](https://himalpress.com/wp-content/uploads/2025/04/Dolphin_saptakoshi_river_by_bibek_regmi-8-1.jpg)
इटहरी– सप्तकोशीमा दुर्लभ गंगेटिक डल्फिन देखिएको छ। कोशी ब्यारेजको ४४, ४५, ४६ र ४७ नम्बरको ढोका भएर बग्ने नदीको भागमा सोमबार डल्फिन देखिएको हो।
चेतनशील प्राणीका रूपमा लिइने स्तनधारी जलचर डल्फिन कोशीमा गंगाबाट आएर विचरण गर्ने गरेको जानकारहरू बताउँछन्।
स्थानीय जानकार एवम् अभियानकर्मी उमेश मण्डलका अनुसार वर्षायाममा बाढीले बगाएर गंगासारसम्म पुर्याउने भए पनि कात्तिकदेखि वैशाखसम्म सप्तकोशीमा डल्फिन देख्न सकिन्छ।
‘सप्तकोशीमा पानी सफा हुने र यहाँको नदीमा रम्ने डल्फिन हेर्नका लागि विदेशी पर्यटक पनि आउँछन्,’ मण्डलले हिमालप्रेससँग भने, ‘डल्फिन पानीको गति तीव्र भएको ठाउँमा खेल्दैन। पानीको गति तीव्र भएको ठाउँ नजिकै डल्फिन रमाउँछ।’
वर्षामा बाढीले बगाएर गंगामै पुर्याउने गरेको भए पनि पानीको बहाव कम भएपछि डल्फिन यस क्षेत्रमा आएर विचरण गर्ने उनी बताउँछन्। ‘डल्फिनले एउटा बच्चा पाउँछ। अम्खोराजस्तो खाल्डो बनाउँछ र जमेको पानीमा बच्चा पार्छ। एक हात बराबरको बच्चा पारेपछि डल्फिनले बिस्तारै आफूसँगै रम्न सिकाउँछ,’ उनले भने।
मण्डलका अनुसार डल्फिनले बच्चा पाइसकेपछि माउले रुङ्ने गरेको छ। भालेले रुङ्दा पोथी आहाराका लागि पानीको गहिराइसम्म पुग्छ। पोथीले रुङ्दा भाले आहाराका निम्ति जान्छ। हुर्कँदै गएपछि भने बच्चालाई पनि आफूसँगै रम्न सिकाउँछ र आहाराका लागि खोजीमा निस्किन्छ।
डल्फिन कोशीको माथितिर निस्कनु भनेको आहारको खोजीमा हो। ‘डल्फिनको मीठो आहारा माछा हो। जुन खान खोजिरहेको हुन्छ। माछा फुत्किएर भाग्दा डल्फिनले माथितिर खोज्छ, त्यतिबेलै डल्फिन देख्न पाइन्छ’, मण्डल भन्छन्, ‘कोशीमा भएको डल्फिन संरक्षण गरिनुपर्छ। जसले लोप हुँदै गएको स्तनधारी प्राणी हेर्न विश्वबाट नै मानिसहरू आऊन्।’
डल्फिनले १० देखि १७ महिनासम्ममा बच्चा जन्माउँछ। गंगेटिक डल्फिनले १० देखि ११ महिनामा बच्चा जन्माउने मण्डल बताउँछन्। डल्फिनले जन्मिएको दुई वर्षसम्म आमासँगै रहने र दूधपान गर्ने गरेको अध्ययनहरूले देखाएका छन्।
डल्फिनको मनपर्ने आहारा सानो प्रजातिको माछा हो। नेपालमा भने सप्तकोशीसहित कर्णाली, नारायणी र मोहना नदीमा डल्फिन पाइन्छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार सप्तकोशीमा पछिल्लो पटक सन् २०२३ मा डल्फिन गणना गरिएको थियो। जहाँ १९ वटा डल्फिन गणना भएको थियो। पछिल्लो समय डल्फिन संरक्षण चुनौती बन्दै गएको उनले जनाए।
नदीमा बाँध र अन्य जलविद्युत् परियोजना निर्माण गर्दा डल्फिनहरूको प्राकृतिक आवास खण्डित हुँदै गएको छ। अवैध रूपमा माछा मार्ने क्रममा प्रयोग गरिने विषादी र विस्फोटक पदार्थहरूले डल्फिनको जीवनमा खतरा उत्पन्न गरेको गौतम बताउँछन्।
‘डल्फिन बाढीको समयमा पानीको बहाव कम हुने क्षेत्रमा जान्छन्’, उनी भन्छन्, ‘कोशी ब्यारेजभन्दा माथिल्लो तटीय क्षेत्रमा डल्फिनले राम्ररी चहलपहल गर्न पाएका छैनन्। किनभने तल्लो तटीय क्षेत्रबाट माथिल्लो तटीय क्षेत्रमा आउने उपयुक्त संरचना छैन।’
डल्फिनको सिकार र तस्करी हुनबाट बचाउन पनि चुनौती रहेकाले यसबारे थप प्रशिक्षण एवम् जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ।
कोशीमा बाढीको समयमा देख्न मुस्किल परे पनि हिउँद लागेपछि विचरण गरिरहेको डल्फिन हेर्न भारतीय पर्यटकसमेत आउने गरेको गौतम बताउँछन्।
‘ब्यारेजले गर्दा माथिल्लो क्षेत्रमा डल्फिनको संख्या कम छ। हामीले अघिल्लो वर्ष गणना गर्दा पनि दुईवटा मात्रै फेला पारेका थियौँ। तलदेखि माथिसम्म जान उपयुक्त संरचना नभएकाले माथिल्लो क्षेत्रभन्दा तल्लो क्षेत्रमा डल्फिनको संख्या धेरै छ,’ गौतमले भने, ‘सप्तकोशीमा डल्फिन नपाइनेमा कुनै शंका छैन। उत्तरी भागमा कम देखिए पनि दक्षिणी भागमा भने डल्फिन राम्ररी खेलेको देख्न सकिन्छ।’
दक्षिणबाट उत्तरतर्फ आउनका लागि कोशी ब्यारेजको ढोका भएकाले कारण समस्या हुने गरेको उनले सुनाए। उनका अनुसार यस वर्ष (सन् २०२५) मा पनि डल्फिन गणना गरिने तयारी छ। ‘यस वर्ष जेठमा डल्फिन गणना गर्ने तयारी छ,’ गौतम भन्छन्, ‘सन् २०२४ मा धेरै बाढी आएका कारण गणना प्रभावित बन्यो। यस वर्ष गणना हुन्छ।’