
काठमाडौँ- विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक कर्मचारीहरूको आन्दोलनमा गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले ऐक्यबद्धता जनाएका छन्।
उनीहरूले शिक्षकहरूको आन्दोलनको समाधानका लागि अनुकूल वातावरण सिर्जना गर्न सरकारसँग अपिल गरेका छन्।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘शिक्षकहरूलाई काममा फर्कनका लागि अनुकूल वातावरण बनाइदिन सरकारसमक्ष माग गर्दर्छौं।’
उनीहरूले संविधानका व्यवस्थालाई बेवास्ता गरेर भएका कतिपय सम्झौताहरू र समझदारी समस्याको मुख्य कारण रहेको निष्कर्ष निकालेका छन्। यसैगरी, संविधानले माध्यमिक तहसम्म विद्यालय शिक्षा स्थानीय सरकारको दायित्व भएको कुरा पनि स्मरण गराइएको छ।
विज्ञप्तिमा थप भनिएको छ, ‘संविधानले माध्यमिक तहसम्म विद्यालय शिक्षा स्थानीय सरकारको दायित्व रहेको पुनः स्मरण गराउँदै विगतमा संविधानका व्यवस्थालाई बेवास्ता गरी गरिएका कतिपय सम्झौताहरू र समझदारी नै समस्याको कारक भएको हाम्रो निष्कर्ष छ।’
शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान, नयाँ शैक्षिक सत्रको सुरुवात र एसईई उत्तरपुस्तिका परीक्षण लगायतका महत्त्वपूर्ण कार्यहरू रोकिएका छन्। यी विषयमा पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।