
काठमाडौँ- चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी थप चर्किँदै गए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कठोर भन्सार शुल्कको अडानबाट पछि हटेका छैनन्। राष्ट्रपति ट्रम्पको यो अडानका कारण सोमबार विश्व बजार आतंकति भएको छ।
विश्वभरका अधिकांश देशहरूले नयाँ अमेरिकी भन्सार शुल्कको धारलाई कम गर्न संघर्ष गरिरहेका छन्। तर, चीनले विशवको दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धलाई बढावा दिँदै भन्सार शुल्कहरूको सामना गरिरहेको संकेत दिएको छ।
ट्रम्पले अमेरिकाका व्यापारिक साझेदारहरूसँगको घाटामा कटौती गर्ने आफ्नो मागलाई दोब्बर तुल्याउँदै त्यो समाधान नभएसम्म कुनै पनि सम्झौतामा कटौती नगर्ने बताएका छन्।
‘कहिलेकाहीँ तपाईँले केही कुरा ठीक गर्न औषधि लिनुपर्छ,’ ट्रम्पले भनेका छन्। उनले एयर फोर्स वनमा सवार पत्रकारहरूलाई विश्व नेताहरू ‘सम्झौता गर्न लालायित भइरहेको’ बताए।
ट्रम्पले गत हप्ता संयुक्त राज्य अमेरिकामा आउने सामानहरूमा आधारभूत १० प्रतिशत आयात भन्सार शुल्क र युरोपेली संघ (ईयू), जापान र ताइवानसहित धेरै देशका लागि उच्च भन्सार शुल्क घोषणा गरेका थिए।
अधिकांश देशले जवाफी कारबाही गर्न छाडेका छन्। तर, एसियाली बजारहरू बन्द भएपछि चीनले शुक्रबारदेखि अमेरिकी सामानमा ३४ प्रतिशत प्रतिशोधात्मक भन्सार शुल्क लगाउने घोषणा गरेको छ।
यसका साथै चीनले दुर्लभ धातुको निर्यातमा पनि रोक लगाएको छ। चीनले इलेक्ट्रोनिक र स्वास्थ्य उद्योगमा प्रयोग हुने गैडोलिनियम र यट्रियम धातुको निर्यातमा रोक लगाएको हो।
‘यो कठोर–बल आर्थिक युद्ध हो,’ एसपीआई एसेट म्यानेजमेन्टका स्टिफन इन्नेसले भने,‘बजारले तपाईँलाई सरल भाषामा भन्दैछः विश्वव्यापी माग हराइरहेको छ र विश्वव्यापी मन्दी आउनेवाला छ र तीव्रतामा आउँदैछ।’
विश्वव्यापी रूपमा खर्बौँ डलरको स्टक नष्ट भएको छ र लगानीकर्ताहरू सुरक्षित सम्पत्तिमा सरेकाले सोमबार एसियाली इक्विटीहरूले अझ बढी क्षति बेहोरेका छन्।
सोमबारलाई भारतमा ‘ब्लड बाथ मन्डे’ भनिएको छ। भारतीय सेयर बजारको दुवै प्रमुख सूचकांकमा चार प्रतिशतभन्दा बढीको गिरावट आएको छ। अपराह्न साढे १२ बजे सेंसेक्समा ४.२७ र निफ्टी ४.५४ प्रतिशत गिरावट आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बीएसईमा १९.४ लाख करोडको क्षति भएको र आगामी दिनमा यो बढ्नसक्ने विश्लेषकहरूले बताएका छन्।
अमेरिकाले भारतमाथि २६ र चीनमाथि ३४ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको छ।
आयात शुल्क लगाउने ट्रम्पको निर्णयका कारण एसियाका अधिकांश बजार प्रभावित बनेको छ। टोक्यो, संघाई, बैंकक, सियोल र हङकङमा ११ प्रतिशतसम्मको गिरावट दर्ज गरिएको छ।
अमेरिकामाथि ३४ प्रतिशत कर लगाएर जवाफी कारबाही गरेको चीनको सेयर बजारमा ४ प्रतिशतभन्दा बढी गिरावट आएको छ भने हङकङमा हैंगसेंग इन्डेक्समा १० प्रतिशत ओरालो लागेको बताइएको छ। त्यस्तै जापानमा निक्केई कम्तीमा ६.५ प्रतिशत ओरालो लागेको छ। ताइवानको मुख्य सूचकांक लगभग १० र सिंगापुरको ८ प्रतिशतले ओरोलो लागेको छ।
न्युयोर्क स्टक एक्सचेन्जको मुख्य बोर्डहरूका लागि ‘फ्युचर कन्ट्र्याक्ट’ हरू आइतबार तीब्र रूपमा तल झरेको थियो। यसले सोमबार बजार खुल्दा वाल स्ट्रिट स्टकहरूका लागि थप पीडा दिएको बताइएको छ। विश्वव्यापी मन्दीका कारण सन् २०२१ अप्रिलपछि पहिलोपटक अमेरिकी तेल प्रतिब्यारेल ६० डलरभन्दा तल झरेको छ।