
काठमाडौँ- नेपाली कामदारको गन्तब्य मुलुक मलेसियामा सम्पन्न १६ औँ विश्वकप योग खेलकुद प्रतियोगितामा नेपालले २ स्वर्णसहित ६ पदक प्राप्त गरेको छ। मलेसियाको ब्यपारिक सहर क्वालालम्पुरमा अप्रिल ५ र ६ अर्थान शनिबार र आइतबार सन्चालन भएको विश्वकपमा ३१ नेपाली खेलाडीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए।
विश्वभरका २३ देशका १५३ खेलाडी सहभागी प्रतिस्पर्धामा नेपालबाट ९-११ उमेर समूहमा पुरुषतर्फ प्रयासजंग चौहानले स्वर्ण पदक, अमिस पटेलले रजत पदक, किरण मगरले कास्य पदक प्राप्त गरे। सोही उमेर समूहमा महिलातर्फ संस्कृति चैलागाईले कास्य पदक प्राप्त गरिन्।
यसैगरी १२-१४ वर्ष उमेर समुहमा महिलातर्फ प्रत्युशा खतिवडाले स्वर्ण पदक हासिल गरिन्। १५-१७ वर्ष उमेर समुहमा सुन्दर सार्कीले कास्य पदक प्राप्त गरे। नेपालले यस प्रतियोगितामा २ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ६ पदक प्राप्त भएको छ।
यस प्रतियोगिता अन्तर्राष्ट्रिय योग खेलकुद महासंघले आयोजना गरेको हो भने नेपाल योग खेलकुद संघले सन् २०१७ देखि अन्तर्राष्ट्रिय महासंघको सदस्यता लिएर ३ वटा दक्षिण एसियाली, ६ वटा राष्ट्रिय, १ वटा प्रदेशस्तरीय र २ वटा उपत्यकास्तरिय प्रतियोगिता सन्चालन गरिसकेको यस संघमा करिब ५०० योग खेलाडी जोडिएका रहेका छन्।
राष्ट्रिय, प्रदेशस्तरीय र जिल्लास्तरिय प्रशिक्षण साथै खेल सन्चालन गर्दै खेलाडीको क्षमता अभिवृद्धि गर्न संघको तर्फबाट अधिकतम प्रयास गर्ने, लामो समयदेखि योग खेलाडी,प्रशिक्षक हुँदै निर्णायकको समेत भूमिका निर्वाह गर्दै हाल बागमती प्रदेश योग खेलकुद संघको अध्यक्ष समेत रहेका केदारनाथ बस्ताकोटीले जानकारी दिए।