
काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपाले भृकुटीमण्डपमा गर्न लागेको आमसभाको स्थान परिवर्तन गर्न आग्रह गरेको छ। राप्रपाले चैत २६ गते जनसभा गर्दैछ। राप्रपाले भृकुटी मण्डपमा जनसभा गर्ने निर्धारण गरेको थियो।
जिल्ला सुरक्षा समितिको बैठकले राप्रपाले निर्धारण गरेको स्थानमा यसअघि नै शिक्षक, राष्ट्रिय जनमोर्चालगायतको आन्दोलन चलिरहेको उल्लेख गर्दै कार्यक्रम स्थानको विकल्पका रुपमा सिफल चौर वा बल्खुमा गर्न आग्रह गरेको हो।
‘सुरक्षा संवेदनशीलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको छ।
‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मूल नाराका साथ वर्तमान व्यवस्था विरोधी दल राप्रपाले नवीन समझदारीका लागि भन्दै भृकुटीमण्डपमा प्रदर्शन तथा वृहत् सभा गर्न लागेको हो।