
काठमाडौँ- वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएपछि सम्झनास्वरूप श्रद्धान्जली दिने र अर्यालको सम्झना गर्ने क्रम जारी छ। ९७ वर्षीय उमेरमा निधन भएका रिसालका व्यक्तित्वका बारेमा अहिले चर्चापरिचर्चा भइरहेको छ। लामो समय पत्रकारिता गरेका रिसाल लेखकका साथै विभिन्न क्षेत्रमा कार्यरत थिए।
मुटु र फोक्सोसम्बन्धी रोगबाट ग्रसित रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका आइतबार निधन भएको थियो। उनको निधनसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रले एक सिद्धहस्त व्यक्ति गुमाएको स्मरण गरेका छन्।
खनालले रिसालको निधनपछि श्रद्धान्जली व्यक्त गर्दै देशले असल, देशभक्त र हिम्मतिलो व्यक्ति गुमाउनुपरेकोमा दुःख व्यक्त गरेका छन्। ‘भैरवजीको निधनले मलाई मर्माहत तुल्याएको छ। उहाँ(रिसाल) वामपन्थी आन्दोलनमा सहभागी हुनुभयो, पत्रकारिता गर्नुभयो, विभिन्न ढंगले नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता र अखण्डताका निम्ति जे गर्दै आउनुभएको थियो, त्यो अतुलनीय छ,’ आफ्नो गृहजिल्ला इलाममा रहेका खनालले भनेका छन्,‘पत्रकारितामा समेत उहाँको योगदान अन्त्यन्तै बढी छ। यो दुःखद क्षणमा म मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै परिवार र आफन्तजनमा समवेदना प्रकट गर्न चाहन्छु।’
पूर्वप्रधानमन्त्री खनालले झन्डै सय वर्षमा निधन भएका रिसालले नेपाली जनता र देशका लागि धेरै लेखनी छाडेर गएको स्मरण गरेका छन्। कालापानी क्षेत्रमा जनगणना गर्न गएको विषयलाई सम्झँदै खनालले अर्याललाई एकदमै देशभक्त र साहसिक व्यक्ति भएको भनेका छन्।
‘कालापानी क्षेत्रमा ५ वटा गाउँ छन्। त्यो क्षेत्रमा अर्याल नै गएर जनगणना गरेर त्यो भूभाग नेपालको हो भनेर देखाउनुभएको थियो,’ खनालले भनेका छन्,‘अर्यालको यो कामबाट दृढ देशभक्त सावित भएको पुष्टि हुन्छ भने उहाँ जिउँदो एक उदाहरण हो जसले यो भूभाग नेपालकै हो भनेर चिनाइरहन सक्यो।’