
काठमाडौँ- विभिन्न विचार समूह र राजनीतिक दलबाट सक्रिय राजतन्त्रको वकालत भइरहँदा नेपाली कांग्रेसमा पनि ‘हिन्दु राष्ट्र’ चाहने जमात सक्रिय बनेको छ।
नेपाली कांग्रेसमा विगतमा दबिएको यो एजेन्डा यतिबेला सतहमा आएको हो। सडकमा राजतन्त्रका पक्षमा प्रदर्शन चर्किएपछि हिन्दु राष्ट्रको एजेन्डा पेचिलो बन्दै गएको कांग्रेसका नेताहरू बताउँछन्।
कतिपयले पार्टीमा हिन्दु धर्मको पक्षधरता बढाएर कांग्रेसले राजावादी आन्दोलनलाई ‘भर्याङ’ बनाइदिएको समेत बताउन थालेका छन्। यद्यपि कांग्रेस विधानमा लोकतन्त्र/धर्मनिरपेक्षता छ।
पार्टीमा नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ भन्ने एउटा समूह गणतन्त्र घोषणादेखि नै सक्रिय छ। अहिले उनीहरू थप सशक्त हुन थालेको नेताहरू बताउँछन्।
‘हिन्दु धर्म हाम्रो पहिचान हो। अरू देश मुस्लिम र क्रिस्चियन हुँदा हुने नेपाल हिन्दु राष्ट्र किन हुन नहुने?’ कांग्रेस सांसद एवं केन्द्रीय सदस्य दीपक गिरी भन्छन्, ‘संविधान संशोधन गरेर हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने मेरो पुरानै एजेन्डा हो। पहिले गिरिजाबाबुलाई भ्रममा पारेर धर्मनिरपेक्षता बनाइयो। पहिचानका लागि भने पनि हिन्दु राष्ट्र बन्नुपर्छ।’
गिरी कांग्रेस विधानमा हिन्दु धर्मको एजेन्डा समेट्नुपर्ने बताउँछन्। ‘हामी राजा मान्दैनौँ। हाम्रो एजेन्डा राजा होइन पनि तर धर्म चाहिन्छ’, उनी भन्छन्।
कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालादेखि प्रवक्ता प्रकाशशरण महतसमेत हिन्दु राष्ट्रका पक्षमा उभिएका छन्। सभापति देउवा निकटस्थ नेता हिन्दु राष्ट्रका पक्षमा खुल्दा संस्थापन लाइन एकजुट हुने हो कि भन्ने शंका उत्पन्न भएको जानकारहरू बताउँछन्।
केही दिनअघि देउवा निकट कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले संविधान संशोधन गरेर हिन्दु राष्ट्र बनाउनुपर्ने प्रस्ताव गरेकी थिइन्। कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागकी प्रमुखसमेत रहेकी संग्रौलाले ‘संविधान संशोधन आजको आवश्यकता र चुनौती’ बारे सबै प्रदेशको एजेन्डा संकलन गर्ने क्रममा हिन्दु धर्म हुनुपर्ने आवाज उठेको बताएकी थिइन्। उनले हिन्दु धर्मको पक्षधरताको सुझावसहित देउवालाई प्रतिवेदन बुझाएकी छन्।
‘धेरै नेताहरू हिन्दु धर्म हुनुपर्छ भन्नेमा पुग्नुभएको छ, पहिचान पक्षधरता बढेको छ’, कांग्रेस नेता गिरी भन्छन्।
यसअघि महासमिति बैठकमा कांग्रेसका केही नेताले हस्ताक्षर अभियान चलाएका थिए। सांसद शंकर भण्डारीको नेतृत्वमा ‘हिन्दु राष्ट्र’ का पक्षमा अभियान सञ्चालन भएको थियो। हिन्दु राज्यका पक्षमा झन्डै आठ सय महासमिति सदस्य र ३८ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए।
‘बाहिरबाहिर उठ्छ, एजेन्डा बन्दैन’
कांग्रेसमा एउटा समूहले विगतदेखि नै हिन्दु राष्ट्रको वकालत गरिरहेको नेताहरू सुनाउँछन्। खुमबहादुर खड्का हिन्दु राष्ट्रका पक्षमा थिए। उनको निधन भइसकेको छ। त्यतिबेला खड्का समूहमा रहेका कांग्रेस नेताहरू तितरबितर भए पनि उनीहरूले हिन्दु राष्ट्रको एजेन्डा छाडेका छैनन्। ‘खुमबहादुर दाइको स्कुलिङमा जोजो हुनुहुन्थ्यो। उहाँहरू अहिले पनि हिन्दुराष्ट्र भन्नुहुन्छ’, कांग्रेसका एक नेताले भने।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा कांग्रेसमा हिन्दु राष्ट्रका पक्षमा बहस हुनुलाई स्वाभाविक ठान्छन्। उनले बाहिरबाहिर हिन्दु राष्ट्रका पक्षमा अभियान र बहस भइरहे पनि पार्टीमा एजेन्डा नबनेको बताए।
‘व्यक्तिगत धारणा त जसको जे पनि हुन सक्छ। आधिकारिक रूपमा कांग्रेसको एजेन्डा के हो भन्ने कुरा मुख्य हो,’ विश्वकर्मा भन्छन्, ‘अहिले हामी धर्मनिरपेक्षतामै छौँ। यसैमा रहन्छौँ।’ विश्वकर्माले यस्तो बताए पनि कांग्रेसमा नेतृत्व तहदेखि हिन्दु राष्ट्रको पक्षधरतामा देखिन थालेको छ।
‘पहिचान (हिन्दु) को कुरा हो। पार्टीभित्र बलियो आवाज बन्दै गएको छ,’ कांग्रेस प्रवक्ता एवं देउवा निकट प्रकाशशरण महत भन्छन्, ‘सनातन धर्मका पक्षमा लाग्नुपर्छ भन्ने धेरै छन्।’ देउवाकै सदासयतामा कांग्रेसमा हिन्दु राष्ट्रको प्रचार हुँदैछ हो भन्ने प्रश्नमा डा. महत भन्छन्, ‘यो सभापति (देउवा) ज्यूकै सदासयतामा भएको हो।’
विश्वकर्मा भने यस्ता विषय सामूहिक रूपमा कहिल्यै नउठेको सुनाउँछन्।
धर्मबारे कांग्रेसमा धर्मसंकट
कांग्रेसमा अहिले संस्थापन पक्षधरका केही नेता हिन्दु राष्ट्रको पक्षधरता देखाउँदा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता भने कट्टर ‘धर्मनिरपेक्षता’ पक्षधर हुन्। उनीहरू अहिलेकै एजेन्डाबाट अघि बढ्नुपर्ने सुनाउँछन्।
राजतन्त्रको पक्षधरता त हुनै नसक्ने उनीहरूको बुझाइ छ। ‘हामी धर्मनिरपेक्षताबाट वरपर हुन सक्दैनौँ। संस्थापनतिर के हुँदैन थाहा छैन,’ इतर पक्षका एक नेता भन्छन्, ‘जसले व्यवस्था लडेर ल्यायो। त्यसलाई नै माया हुने हो। नलडेकाहरूलाई थाहा हुन्न।’ ती नेता गगन थापा-विश्वप्रकाश शर्माकै अडानले यसअघि पनि कांग्रेसको महासमिति बैठकमा हिन्दु राष्ट्र एजेन्डा नबनेको दाबी गर्छन्।
‘बाहिर हस्ताक्षर अभियान चले पनि भित्र यसबारे बहस भएन,’ ती नेता भन्छन्, ‘व्यवस्थाविरुद्ध जान सकिँदैन भन्ने कांग्रेसको मूल एजेन्डा हो।’
कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र उठ्ने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताउने गरेका छन्। ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक देश भएकाले सबै जात, धर्म र भाषालाई समान ठाउँ दिनुपर्छ। हाम्रो पार्टीमा भएको त्यही हो,’ थापाले भन्ने गरेका छन्।
लोकेश ढकालसहितका नेता अहिले पनि सक्रिय राजतन्त्रको वकालत गर्दै आएका छन्।
राजनीतिक विश्लेषक विष्णु दाहाल ज्ञानेन्द्र शाह निरंकुश र दललाई प्रतिबन्ध लगाउने निर्णयका कारण मात्र कांग्रेस गणतन्त्रका पक्षमा खुलेको टिप्पणी गर्छन्।
‘ज्ञानेन्द्र शाहले दलमाथि प्रतिबन्ध लगाएर निरंकुश नबनेको भए सायद कांग्रेसको एजेन्डामा राजतन्त्र नै हुन्थ्यो,’ दाहाल भन्छन्। दाहालले कांग्रेस नेताहरू भ्रष्टाचारबाट बच्न हिन्दु धर्मको वकालतमा लागेको बताउँछन्।
‘कांग्रेस नेताहरू भ्रष्टाचारबाट बच्न हिन्दु राष्ट्रतर्फ अघि बढेको देखिन्छ’, दाहालले भने, ‘पहिले कांग्रेस नेताहरू ‘प्रो अमेरिकन’ र ‘प्रो इन्डियन’ जस्ता थिए। अहिले अमेरिकाले साथ दिएको छैन त्यसैले उनीहरू भारतको पक्षधरता देखाउन हिन्दु एजेन्डामा पसेका हुन सक्छन्।’