
काठमाडौँ- सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकीकरणको टुंगो लागेको छ। आइतबार बर्दियामा बसेको दुवै पार्टीका नेताहरूको बैठकले पार्टी एकीकरणको टुंगो लगाएको हो।
सहमतिअनुसार एकीकृत पार्टीका संरक्षक रेशम र कार्यकारी अध्यक्ष राउत हुनेछन्। त्यस्तै नाउपाकी अध्यक्ष रन्जिता चौधरी श्रेष्ठ एकीकृत पार्टीकी सहअध्यक्ष हुनेछिन्।
पार्टी वरीयतामा पहिलो स्थानमा रेशम, दोस्रोमा राउत र तेस्रोमा रन्जिता हुनेछिन्। दुवै दलका नेताहरूको बैठकले एकीकृत पार्टीको नाम, चुनाव चिह्न, झण्डालगायतका विषयमा पनि टुंगो लगाएको छ। एकीकरणपछि बन्ने पार्टीको नाम नागरिक-जनमत हुनेछ भने चुनाव चिह्न ढकिया राख्ने सहमति जुटेको छ।
त्यस्तै झण्डाको रङ बैजनी रहने भएको छ। बैजनी रङको बीचमा चुनाव चिह्न ढकियासहितको झण्डा राख्ने सहमति भएको छ।
जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक रेशम चौधरीसहित कार्यदलका ६ जनाबीच छलफल भएको छ।
प्रवक्ता यादवले १५ वैशाखभित्र एकताको घोषणा गर्ने गरी दुवै दल सहमतिको नजिक पुगेको बताए। ‘मोटामोटी धेरै कुरामा सहमति भइसकेको छ, बाँकी रहेका केही विषयलाई भोलि बैठक बसेर टुंगोमा पुर्याउँछौँ। वैशाख १५ भित्र पार्टी एकीकरणको घोषणा हुन्छ,’ उनले भने।
पार्टी एकीकरणलाई अन्तिम रूप दिन दुवै दलका नेताहरू शनिबार नै बर्दिया पुगेका थिए।