
काठमाडौँ- सशस्त्र प्रहरीले बाराको जितपुरसिमराबाट १० लाखभन्दा बढी मूल्य बराबरको अवैध लत्ताकपडासहित गाडी बरामद गरेको छ। सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको लत्ताकपडा नियन्त्रणमा लिएको हो।
बा.प्र.०१–०२७ च ८५०३ नम्बरको पिकअप गाडीमा बीरगञ्ज महानगरपालिका–१६ भुटनदेवी मन्दिरनजिकबाट लोड गरी जितपुरसिमरातर्फ आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टोलीले पिछा गरेर पिकअप गाडीलाई नियन्त्रणमा लिएको उनले बताए।
सशस्त्र प्रहरीले पिछा गर्ने क्रममा भलुवाहीमा चालक पिकअप गाडी छोडेर फरार भएको प्रहरीले जनाएको छ।
गाडीबाट बरामद लत्ताकपडाको मूल्य १० लाख ८ हजार र गाडीको मूल्य २५ लाख रहेको बताइएको छ। नियन्त्रणमा लिइएका गाडी र लत्ताकपडा आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।