
काठमाडौँ– वासिङ्टनसँग वार्तामा संलग्न एक वरिष्ठ रुसी अधिकारीले रुस र संयुक्त राज्य अमेरिकाले अर्को हप्ताको सुरुमा फेरि एकअर्कासँग सम्पर्क गर्न सक्ने बताएका छन्।
क्रेमलिनको अन्तर्राष्ट्रिय अर्थतन्त्र प्रतिनिधि किरिल दिमित्रिएभले च्यानल वान टेलिभिजनलाई एक अन्तर्वार्तामा दुई पक्षबीचको अर्को सम्पर्क ‘आउँदो हप्ता नै’ हुनसक्ने बताएको तास समाचार एजेन्सीले जनाएको छ।
रुसको सार्वभौम सम्पत्ति कोषका प्रमुख दिमित्रिएभ गत हप्ता वासिङ्टन गएका थिए। रुसले युक्रेनमा आफ्नो सैन्य अभियान सुरु गरेपछि अमेरिका जाने उनी सबैभन्दा वरिष्ठ रुसी अधिकारी हुन्।
उनले रूसी पत्रकारहरूलाई आफूले सम्बन्धमा ‘सकारात्मक गतिशीलता’ देखेको बताए।
तर आफ्नो पछिल्लो अन्तर्वार्तामा दिमित्रिएभले ‘अमेरिकी सरकारमा अझै पनि रुसका ठूलो संख्यामा शत्रुहरू छन्’ भने।
‘त्यसैले अहिले वार्ता पुनःस्थापित भएको छ भन्ने नाजुक आशा छ,’ ‘सूचना आक्रमणहरू’ को सामना गर्नुपर्ने आवश्यकता उल्लेख गर्दै उनले भने।
दिमित्रिएभले रुस र अमेरिका बीचको सम्बन्ध सुधारमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। फेब्रुअरीमा साउदी अरबमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकारीहरूसँगको वार्ताको पहिलो चरणमा उनले भाग लिएका थिए।–रासस/एएफपी