नेपाली भाषा मासियो भने देश संकटमा पर्छ : प्रा.डा. दिवाकर प्रधान [अन्तर्वार्ता]

माधवप्रसाद नेपाल २५ चैत २०८१ १६:४४
26
SHARES
नेपाली भाषा मासियो भने देश संकटमा पर्छ : प्रा.डा. दिवाकर प्रधान [अन्तर्वार्ता]

डाक्टर दिवाकर प्रधान काशी हिन्दू विश्वविद्यालयको कला संकायअन्तर्गत भारतीय भाषाका आचार्य र अध्यक्ष हुन्। नेपाली भाषा, साहित्य, कला, संस्कृति, सनातन सभ्यताका विशेषज्ञ प्रधान कहिले सिक्किम विश्वविद्यालयमा प्रवचन दिन पुग्छन् त कहिले उत्तरबंग विश्वविद्यालयको नेपाली भाषा साहित्यबारे सत्संगमा व्यस्त हुन्छन्। समयसमयमा नेपाल आइरहने प्रधान प्राय: नेपाली भाषा/साहित्य विषयक कार्यक्रममा देखिन्छन्।

नेपालीमा सकेसम्म आफ्नै शब्द प्रयोग गनुपर्छ, कामै नचल्ने भए मात्र स्वदेशी आगन्तुक शब्द प्रयोग गर्नुपर्छ र त्यति पनि नभएर संस्कृत शब्द प्रयोग गरेमा नेपाली भाषा जीवन्त हुने उनको बुझाइ छ। प्रधान नेपाली भाषामा विदेशी आगन्तुक शब्दको वर्चस्व हुन थालेकोमा चिन्तित छन्। अरबी, उर्दू, फारसी, अंग्रेजी शब्द बढी प्रयोग भइरहँदा नेपाली भाषाका मौलिक शब्द हराएर दुर्बल हुन थालेको बताउने उनले आफ्नै प्रयासमा भारतमा नेपाली भाषा शुद्धीकरण अभियान चलाइरहेका छन्। उनै प्राध्यापक प्रधानसँग नेपाली भाषा शुद्धीकरण अभियान, भारतमा नेपाली भाषा, काशीको दृष्टिमा नेपाली भाषासहितका विषयमा माधवप्रसाद नेपालले गरेको कुराकानी :

भारतमा तपाईँले नेपाली भाषा शुद्धीकरण अभियानको नेतृत्व गरिरहनुभएको छ। अभियान के हो? कसरी सञ्चालन हुँदै छ? नेपाली भाषी वक्ता भएका सबै ठाउँमा अभियान विस्तारका लागि केकस्ता योजना छन्?

अभियान के हो भनेर थाहा पाउनुअघि थोरै इतिहासतिर फर्कनुपर्छ। आगन्तुक शब्दको खाडलमा नेपाली भाषा पस्नै आँटेका बेला हाम्रा अग्रजहरू नेपाली भाषालाई जीवन्त राख्न एकजुट भएका थिए। फारसी, अरबी, उर्दू, हिन्दी भाषाका शब्दबिना नेपाली बोल्न-लेख्न नहुने ठानिएका बेला इसाब्द १९५६ तिर काशीका विद्यार्थी बालकृष्ण पोख्रेल, तारानाथ शर्मा, वल्लभमणि दाहाल आदि सचेतहरूले थालेको झर्रोवादी आन्दोलन हामीले भुल्नै हुँदैन। नेपाली भाषाको मौलिकता जोगाउन नेपाली भाषा सम्पन्न, समृद्ध र स्तरीय बनाउने दिशामा यो भाषिक अभियान आवश्यक थियो। ती अग्रजहरू विश्वविद्यालय स्तरका गुरु बनेपछि अभियान पछ्याउने धेरै भएका हुन्। हामीले नेपाली भाषाको मौलिक प्रयोगका बारेमा नेपालबाटै आएका अग्रजहरूबाट सिकेका हौँ।

यही बीचमा हिन्दी टेलिसिरियल र सिनेमाबाट नेपाली भाषी वक्ताले ह्वात्तै विदेशी शब्द समातिहाल्यो। सञ्चारमाध्यममा अरबी, उर्दूजस्ता भाषाका शब्द बढी प्रयोग हुन थाले। हिन्दीले अरबी र फारसीका धेरै शब्द भित्र्याएको छ। यो गांगेय क्षेत्रमा कुनै बेला इस्लामी/मुगल शासन थियो। त्यसैको प्रभावले अरबी र फारसी प्रयोग विस्तार भयो। नेपाल, दार्जिलिङ, सिक्किममा इस्लामी शासन थिएन। ती क्षेत्रमा मुगलले शासन गरेका होइनन्। हामीलाई अरबी, फारसी र उर्दू भाषाको असर नपर्नु पर्ने हो। हामी त भाषिक रूपमा अक्षुण्ण हुनुपर्ने थियो। भइदियो त्यस्तै।

अरबी, फारसी र उर्दूको प्रभाव उत्तरी भारतमा त पर्‍योपर्‍यो, नेपालको पहाडी क्षेत्र पनि अछुतो रहेन। नेपाली भाषाको मौलिकता जोगाउन नेपाल सरकारको सहयोग पनि भएन। नेपालको प्रशासनिक र न्यायिक कामका लागि नेपालीका नाममा अरबी पो प्रयोग हुन थाल्यो। भाषा र शब्द अरबीको चलाउने भन्नचाहिँ नेपाली भन्ने। सम्झाइदिने र बुझाइदिने विज्ञ भएनन्।

शासकहरूले चाहेको भए त सुधारका लागि सम्भव हुन्थ्यो होला नि?

राजा महेन्द्रले त बुझ्थे होलान्। उल्टै उनलाई दरबारमा दरबारी भाषा चलाउनुपर्छ अर्थात् मध्यकालीन दिल्ली दरबारको जस्तो भाषा चलाउनुपर्छ भनेर परामर्श दिइयो। ‘राजप्रासाद’लाई ‘दरबार’ भन्न थालियो। राजप्रासादको सहयोग पाएका भए झर्रोवादले चाहेको नेपाली भाषा र रक्षा अभियान सफल हुने थियो।

अचेल नेपालका थुप्रै लेखक/पत्रकारहरूले कनी-कनी विदेशी आगन्तुक शब्द ल्याएर नेपाली लेख्न थालेका छन्। पाँच वर्षअघि सुन्दै-नसुनेका शब्द नेपाली लेखनमा देखिन थालेको छ। उदाहरणका लागि ‘थालनी’ शब्द हराउँदै छ, ‘सुरु’ ले ओगटेको छ। ‘तिहुन’ शब्द प्रयोग हुनै छाड्यो विदेशी आगन्तुक शब्दका कारण। यसैले नेपाली मौलिक शब्द जोगाउनुपर्छ। सकेसम्म आफ्नै प्रयोग गर्नुपर्छ, आफ्नो समुदायको भाषा प्रयोग गर्नुपर्छ भनेर अभियान थालेका हौँ।

भारतीय अन्य भाषामा शुद्धीकरणका लागि प्रयास भइरहेका छन् कि? छन् भने त्यसको पृष्ठभूमि पनि बताइदिनुस् न।

भारतमा बोलिने भाषामा अरबी, उर्दू र फारसीका शब्द प्रयोग हुनु स्वाभाविक हो। तपाईँले भनेजस्तो सबै भाषामा त्यस्तो प्रयोग भएको पाइँदैन। भारतका धेरैवटा भाषाले अरबी र फारसी हटाएर आफ्नो भाषा शुद्ध बनाएका छन्। उदाहरणका लागि मराठी भाषालाई लिन सकिन्छ।

विदेशी भाषाको खाडलमा मराठी भाषा पस्नै आँटेका बेला प्रशासक सचेत बनेर जोगाएका थिए। यसमा छत्रपति शिवाजी महाराज (शासनकाल इसाब्द १६३० देखि १६८० सम्म) को विशिष्ट योगदान छ। उनी भारतका महान् योद्धा एवम् रणनीतिकार मानिन्छन्। उनले इसाब्द १६७४ मा पश्चिम भारतमा मराठ साम्राज्यको बीज रोपेका थिए।

शिवाजीले धेरै वर्ष औरङ्जेबको मुगल साम्राज्यसँग संघर्ष गरे। इसाब्द १६७४ मा राज्याभिषेक भएपछि उनी छत्रपति बने। उनले अनुशासित सेना एवम् सुसंगठित प्रशासनिक प्रभावको सहायता लिएर एउटा योग्य एवम् प्रगतिशील प्रशासन सेवा गरे। शिवाजीले समरविद्यामा अनेक नवाचार ल्याएका थिए। साथै छापामार युद्धको नवशैली (शिवसूत्र) विकसित तथा प्रासादीय शिष्टाचार पुनर्जीवित गरीकन फारसीको स्थानमा मराठी र संस्कृतलाई राजकाजको भाषा बनाए। अहिले मराठी धेरै शुद्ध छ।

भारतको स्वतन्त्रता संग्राममा कैयौँ मानिसले शिवाजीको जीवन चरित्रबाट प्रेरणा लिएका थिए। सोही प्रेरणाबाट उनीहरू तन, मन, धन र आहूति दिएका थिए।

शिवाजी महाराजले राज्य व्यवहारमा भाषालाई विशेष महत्त्व दिएका थिए। राज्य सञ्चालनमा अपभ्रंश तथा मिश्रित शब्दका स्थानमा संस्कृतनिष्ठ मराठी शब्द चयन गरे अनि तिनीहरूको प्रयोग प्रारम्भ गराए। यत्नपूर्वक तिनीहरूलाई राज्य व्यवहारमा स्थापित गराए। राजा आफैँले छुट्टै कोश बनाए। त्यसको नाम दिए ‘राज्य व्यवहार कोश’।

भाषाले देश र प्रदेश बचाउँछ भनेको यही हो। मराठी साम्राज्य बचाउनमा भाषाले ठूलो योगदान दिएको छ। त्यस्तो मुगल साम्राज्य बलवती भएका बेलामा मराठी साम्राज्य कायम रहन भाषा बाँच्नुपर्ने रहेछ नि त। शिवाजी महाराजले जस्तै भाषा, साहित्य, संस्कृति तथा सांस्कृतिक मूल्यलाई शासन र प्रशासनमा स्थापित गरेर स्वराज्यमन्त्रसिद्ध गर्न सक्नुपर्ने आवश्यकता छ।

मराठीजस्तै अन्य भाषामा पनि यसरी शुद्धीकरण अभियान सञ्चालन भएका छन्?

भारतका अग्रज भाषामध्ये बंगला भाषालाई लिन सकिन्छ। बंगला भाषा दुई खालको छ। मुगलकालमा बंगाल नबाबहरूले चलाएका थिए। त्यो ठूलो शासनमाथि इसाब्द १७६४ मा अंग्रेजहरूले आक्रमण गरे। उनीहरूको प्रभुत्व ठूलो थियो। बंगला भाषा फारसीमा लेखिन्थ्यो। भारतीय स्वतन्त्रता आन्दोलनको कालमा सचेत बंगालीहरू पन्जाबी र बंगाली गरी आधाआधा भए। बंगालमा हिन्दू र मुसलमान भए। पन्जाबमा शिख र मुसलमान भए।

पश्चिम पन्जाबीले फारसी शब्द बोल्न र लेख्न थाले। पूर्वी पन्जाबमा चाहिँ संस्कृत चलाउनुपर्छ भन्ने अभियान चलेको रहेछ। बंगालमा अभियान चलाउनेमा ईश्वरचन्द्र विद्यासागर (इसाब्द १८२०-१८९१) को नाम अग्रणी छ। उनले बंगाली पाठ्यपुस्तकमा बंगला भाषाकै शब्द प्रयोग गर्नुपर्छ भनेर अभियान चलाएका थिए। बंगला शब्द अक्षम छ भने चाहिँ संस्कृतको सहयोग लिनुपर्छ भन्ने उनको उद्देश्य देखिन्छ।

पूर्वका बंगालीहरूले त्यो कुरा मानेनन्। पश्चिम बंगालको भाषा समृद्ध भयो। पूर्वी बंगालमा ढाका विश्वविद्यालय र पश्चिम बंगालमा कलकत्ता विश्वविद्यालय सञ्चालनमा थिए। ईश्वरचन्द्र विद्यासागरको अभियानलाई कलकत्ता विश्वविद्यालयको विद्वत् परिषद्का तत्कालीन सदस्यहरू डा. सुनीतिकुमार च्याटर्जी, डा. श्यामप्रसाद मुखर्जीले समर्थन गरेका रहेछन्। उनीहरूले बंगला भाषा बचाउन यस्तो गरेका थिए। त्यसपछि शुद्ध बंगाली शब्दहरू प्रयोग गर्न थालिएछ। जहाँ बंगला भाषा अक्षम रहन्छ, त्यहाँ सक्षम संस्कृत भाषाबाट सहयोग लिइएको रहेछ।

बंकिमचन्द्र च्याटर्जीले लेखेको भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्… ‘ मा संस्कृत शब्दहरूको चयन गरिएको छ। रेकर्ड गर्दा यो सम्पूर्ण भारतमा स्वीकृत भयो।

बंगालको प्रभाव मराठीमा पनि परेको छ। तटवर्ती क्षेत्रमा युरोपेली उपनिवेश धेरै भएर सचेत छिटो भएका हुन्। भारतमा मुगल शासनले छाडेको बीज उखेल्नुमा सचेत हुनुपर्ने रहेछ भनेर युरोपेलीहरूबाट सिक्नेमा मराठी, मलयलम्, तमिल, तेलेगु, उडिया, बंगला भाषा हुन्। यी भाषा तटवर्ती क्षेत्रका हुन्।

भौगोलिक विस्तार र बसाइँ सराइले पनि भाषाको मौलिकतामा परिवर्तन भएको पाइन्छ। नेपाली भाषामा पनि त्यस्तै भएको हो?

दार्जिलिङकै कुरा गरौँ, नेपाली भाषा अर्को भाषामा विलय भयो भने गोर्खाल्यान्ड पाएर पनि गोर्खाल्यान्ड रहने छैन। नेपाली भाषा बाँचेन भने गोर्खाल्यान्ड बाँचेर के गर्नु? त्यसैले भाषा बचाउन नेपाल पनि अहिल्यै सचेत हुनुपर्छ।

भूमिहीन जाति संसारमा धेरै छन्। उनीहरूले पनि भाषा बचाएर जातिलाई जीवित राखेका छन्। भाषा बचाएर युरोपमा राष्ट्रवाद बलियो भएको छ। राष्ट्रवादभन्दा पहिला जातिवाद हो। भाषाले जाति बनायो।

युरोपमा रोमन साम्राज्यका बेला ल्याटिन भाषाले बाँधेर राखेको थियो। पुनर्जागरणपछि मान्छेले बुझ्न थाले। चर्चले लुकाएर राखेका बाइबलभन्दा राम्रा ग्रन्थ धेरै रहेछन्। ती ग्रन्थलाई आफ्नै भाषामा पढ्न पाए हुन्थ्यो भनेर सचेतता जाग्यो। त्यति बेला शास्त्रीय ग्रन्थ निकालिएको थियो। ती ज्ञान आफ्नो भाषामा ल्याउने क्रममा उनीहरूको देश बनेको हो।

भाषा बचाएरै युरोपमा धेरैवटा देश निर्माण भए। भारतमा राज्यहरू बने। इजरायल बन्यो। सोभियत संघबाट टुक्रिएर धेरै देश बनेका छन्। कम्युनिस्ट शासनले बलात् बाँधेको रहेछ। कम्युनिस्ट पार्टी हटेपछि त ती देशहरूले आत्मनिर्णयको अधिकार खोज्न थाले। भाषा बचाएर राखेमा नबनेका देश र प्रदेश पनि बनिन्छन्। भाषा नबचाएर बनेका देश र प्रदेश पनि भरिन्छन्।

नेपाल एउटा सिंगो राष्ट्र छ। यसलाई नेपाली भाषाले बचाएर राखेको छ। कतिपय विदेशीले नेपाली भाषा मास्ने प्रयत्न गरिरहेका छन्। नेपालको सन्दर्भमा नेपाली भाषा मासियो भने देशलाई संकट आइपर्छ। भारतका विषयमा भने भिन्नै सन्दर्भ छ। नेपाली भाषाकै कारण विभिन्न प्रान्तमा रहेका नेपाली एकै भएर बसेका छन्। नेपाली भाषा अरबी र फारसीको खाडलमा डुब्यो भने हामी कसरी बाँच्ने?

नेपालमा सबै विषयलाई राजनीति, समाज, आर्थिक, विषयअन्तर्गत चर्चा परिचर्चा गरिन्छ। नेपाली भाषा कहिल्यै पनि चर्चाको केन्द्रविन्दु हुन सकेको छैन। भाषाको मान्यता एउटा पक्ष हो तर भाषाको मानकबारे पनि विद्वत् वृत्तमा छलफल हुनुपर्छ। मेरो गोरुको बाह्रै टक्का, एक भाइ हिङ भए घरै नपस्ने, एक भाइ हिङ भएर घरै नबस्ने यस्तो खालको ढिपी छाडेर भाषाका सन्दर्भमा रूढिवादी अवधारणा त्याग्नुपर्छ।

फलानो र ढिस्कानो भाषामा यस्तो छ त, हिन्दीले चलाउँछ त भन्ने प्रभाववादी नभएर भाषालाई सबैको क्षमताभित्र पुर्‍याउन सक्ने प्रक्रियामा लाग्नुपर्छ।

धर्म र प्रशासनका कारण पनि भाषाको अस्तित्वमा हस्तक्षेप हुन्छ भनिन्छ। भारतमा त्यस्तो अभ्यास भएको पाउनुहुन्छ?

उत्तर भारतमा विदेशी आगन्तुक शब्दको प्रभावले हिन्दूस्तानी भाषा टुक्रिएका हुन्। उत्तर भारतमा बोल्ने भाषा अवधी, मैथिली, व्रज आदि सबै मिलाएर एउटा हिन्दूस्तानी भाषा बनाइयो। त्यति बेला धर्म मान्ने पनि धेरै थिए। मुसलमान आउँदाखेरि हिन्दू एउटै थिएनन्।

शैव, वैष्णव, शाक्त, गाणपत्य आदि बेग्लाबेग्लै सम्प्रदाय अस्तित्वमा थिए। मुसलमानले सबै हिन्दूलाई सिन्धुदेखि उताका हुन् भनेर हिन्दू नामकरण गरिदिए। मुसलमानले को शैव, को वैष्णव, को गाणपत्य, को शाक्त चिनेनन् नि त। नचिनेपछि उनीहरूले सबैलाई हिन्दू भनिदिएका हुन्। प्रशासनविरुद्ध जनता सबै एक हुनुपर्‍यो। बौद्ध पनि एउटै भए। मुसलमान त अर्कै मान्छे भइदियो नि।

भारतमा अंग्रेज शासन आएपछि अर्को व्यवस्था आएको छ। दक्षिण भारतमा फ्रेन्च, पश्चिम तटवर्ती क्षेत्रमा उर्दू र बंगालतर्फ अंग्रेजी भाषाको प्रभुत्व बढ्यो।

उत्तर भारतमा हिन्दूस्तानी भाषा दुई भागमा टुक्रिएको थियो। धर्म परिवर्तनका कारण यस्तो भएको थियो। मुसलमानहरूले अरबी, फारसी शब्द चलाएर हिन्दूस्तानी लेखे भने हिन्दूहरूले चाहिँ संस्कृत शब्द चलाएर हिन्दूस्तानी लेख्न थाले। संस्कृत शब्द चलाएर हिन्दूस्तानी लेख्नेहरू हिन्दी भए, अरबी फारसी चलाएर हिन्दूस्तानी लेख्नेहरू उर्दू भाषी भए। धर्म र प्रशासनले गर्दा एउटा भाषा दुइटा बन्यो।

धर्म जेसुकै होस् तर भाषाचाहिँ एउटा हुनुपर्छ। हामी यो कुरामा गम्भीर हुनुपर्छ। धर्मले बाँच्न नसक्दा भाषाले बाँच्न सक्दो रहेछ।

इसाब्द १९२६ मा दामोदर सावरकरले मराठी मर्यादा जोगाउने उद्देश्यले एउटा महत्त्वपूर्ण ग्रन्थ रचना गरे- मराठी भाषाचे शुद्धीकरण। यस ग्रन्थभित्र भएका कतिपय लेख बालगङ्गाधर तिलकको पत्रिका ‘केसरी’ मा १९२० देखि नै प्रकाशित गराउँथे। सावरकरजीको लेख पनि ‘केसरी’मा छापिन्थ्यो। महाराष्ट्र राज्य साहित्य संस्कृति मण्डलले इसाब्द १९५८ मा यसको दोस्रो संस्करण प्रकाशित गरेको थियो।

आफ्नो भाषालाई परकीय शब्ददेखि जोगाउन र स्वकीय गौरव प्रदान गर्नुपर्ने सावरकर महोदयको आग्रहलाई मराठी मानुषले स्वागत गरे। नेपाली मानुषले पनि यस्तै गर्नुपर्‍यो नि।

नेपालमा नेपाली पढ्नेका लागि मात्रै नेपाली भाषा भन्ने बुझाइ छ। भारततिर कस्तो छ? कुनै भाषाको उदाहरणसहित बताइदिनुस् न।

नेपाली भाषा समर्थ हुँदै गयो भने यस्ता समस्या हराउँछन्। अनि हीनताबोध पनि हराउँछ। हिन्दी साहित्यमा गोपालसिंह नेपालीलाई बडो सम्मान गरिन्छ काशीमा। उनले इसाब्द १९५० को दशकमा हिन्दी चलचित्रका गीत लेखे। जतिबेला हिन्दी भाषा अरबी र उर्दूमय थियो। नेपालीले नै शुद्ध हिन्दी भाषामा गीत दिएर चलचित्र उद्योगलाई चकित बनाएका थिए।

त्यसअघि हिन्दी फिल्म उद्योगमा मुसलमानहरूको वर्चस्व थियो। त्यस्तो बेलामा गोपालसिंह नेपाली, जो विहारका थिए, ले शुद्ध हिन्दी भाषामा लेखे। हिन्दीमा पनि यति मिठो गीत लेख्न सकिँदो रहेछ भन्ने दृष्टान्त दिन सफल भएका थिए उनी। यही कारण हिन्दी संगीत र साहित्यमा उनी श्रद्धाका पात्र छन्। आफ्नोपनको रक्षा गर्ने व्यक्ति सदैव सम्मानित हुन्छ। बम्बईको फिल्मी उद्योगमा पुँजीपति हाजीमस्तानहरूको हात थियो। इसाब्द १९६६ मा शिवसेना बनेर बाल ठाकरेले स्वत्वको रक्षा गरेका थिए।

इस्लामिक कालमा उत्तर भारतमा हिन्दूस्तानी भाषा बोलिन्थ्यो। पछि लेख्य साहित्य संस्कृत तत्सम शब्द चलाएर लेखिए त्यो भाषा हिन्दी भयो। अरबी आगन्तुक मिसाएर लेखिएको उर्दू भयो। उर्दू अहिलेसम्म अरबीकै भरमा रह्यो। उनीहरूले उदार भएर संस्कृतलाई ग्रहण गरेन। हिन्दीचाहिँ उदार भएर संस्कृत लत्याएर अरबीमा भर पर्न थाल्यो।

हिन्दीले मौलिकता जोगाउन सकेन। उर्दूले भने जोगाइरहेको छ। केही सचेतहरूले हिन्दी भाषा जोगाउन प्रयास गर्छन्। तर सबै सञ्चारमाध्यम यसमा सचेत छैनन्। हुन त हिन्दी भाषी क्षेत्र धेरै वर्ष इस्लामिक शासनको अधीनमा बसेको हुनाले पनि यस्तो भएको हो।

गोरखपुरको गीताप्रेसबाट छापिने ‘कल्याण’ पत्रिकामा मौलिक हिन्दी रूप पाइन्छ। यसका लेखकहरूमा विदेशी आगन्तुक शब्द पाइँदैन। यसैगरी काशी विश्वविद्यालयबाट नेपाली विषयमा शोधपत्रहरूमा एउटा पनि अरबी र फारसी शब्द प्रयोग गरिएको पाइँदैन। यस्तो अभ्यास उत्तरबंग र सिक्किम विश्वविद्यालयमा पनि भइरहेको छ।

विश्वविद्यालयहरूबीच समन्वय भइरहेको छ। चाँडै एउटा निर्देशिका बनाउन तत्पर भएका छौँ। त्यसका लागि सूची बनाउँदै छौँ। यसमा शोधार्थी पनि खटिएका छन्।
हिन्दीका अनन्य साधक विद्वान् समालोचक शिक्षाविद्हरू डा. श्यामसुन्दर दास, पं. रामनारायण मिश्र, शिवकुमार सिंहको प्रयासमा कैथी लिपि प्रचलनमा आएको थियो। कैथी लिपिको सट्टा देवनागरी लिपिमा शुद्ध हिन्दी भाषाको प्रयोग गर्न काशीको क्विन्स कलेजमा इसाब्द १९९३ मा खोलिएको काशी नागरिक प्रचारिणी सभाको प्रयास रुचिकर विषय छ।

आधुनिक हिन्दी साहित्यका पिता भारतेन्दु हरिश्चन्द्र (इसाब्द १८५०-१८८५) का फुपूका छोरा बाबु राधाकृष्ण दास यसको पहिलो अध्यक्ष थिए। उनीहरूले नागरिक प्रचारिणी पत्रिका निकाले। पछिसम्म हिन्दी शुद्धीकरणको सेवा गरेका छन्। सभाको सहयोगमा भारतीय प्रेसका अधिपति चिन्तामणि घोष (बंगाली बाबु) ले जनवरी १९०० देखि शुद्ध हिन्दी भाषाको पहिलो हिन्दी मासिक पत्रिका ‘सरस्वती’ प्रकाशन गरे। त्यस बेला युनाइटेड प्रोविन्स (अहिलेको उत्तर प्रदेश) को उच्च न्यायालयमा शुद्ध र सजिलो हिन्दी भाषाको अनुमोदन गराए। यहाँ त अहिलेसम्म त्यही चल्दै आएको छ। प्रशासनिक काममा उत्तर प्रदेशमा प्राय: संस्कृत भाषाको प्रयोग हुन्छ। इन्डियन प्रेस, नागरिक प्रचारिणी समिति र सरस्वती पत्रिकाको सहयोगमा उत्तर प्रदेशमा यस्तो व्यवस्था भएको हो।

नेपालमा न्यायालयका सबै काम अरबी भाषामा हुन्छ। उत्तर प्रदेशमा न्यायालय भनिन्छ, नेपालमा अदालत, नेपालमा कानुन पढिन्छ, उत्तर प्रदेशमा विधि।

नेपाली भाषामा कतिपय शब्द आफ्नो भाषामा मात्र सम्भव हुँदैनन्। त्यस्तो अवस्थामा प्रयोग गर्नैपर्ने हुन्छ। उदाहरणका लागि सरकार संस्कृत शब्द होइन, प्रचलनमा आइसकेको छ। उपनेत्र संस्कृत शब्दको सट्टा चश्मा प्रयोगमा आएको छ। साबुनको नेपाली शब्द छैन। नेपाली शब्द नभएरै अन्यत्रबाट ल्याउनुपरेको हो। असम्भव कुरालाई साह्रै ढिपी गर्नु पनि हुँदैन। नेपालीले आगन्तुक शब्द ल्याउनु भनेको स्वाङ मात्रै हो। सचेत बनेका स्वाङ र ढर्रा हटिहाल्छ।

तपाईँले नेपाली भाषा शुद्धीकरणका लागि फारसी, उर्दूका शब्द हटाउने अभियान सञ्चालन गर्दा फेला परेका केही त्यस्ता शब्दहरू बताइदिनुस् न। जसले नेपाली शब्दलाई विस्थापन गर्न खोज्दै छन्?

मैले नेपालका थुप्रै पुस्तक र पत्रिकाबाट टिपोट गरेर यस्ता शब्दको सूची बनाएको छु। हो, हामीले अरबी, फारसी शब्द प्रयोग गर्दा आफ्ना शब्द हराउँदै छन्। हामीले ‘अरनी’ भन्न बिर्सियौँ। ‘नास्ता’ भन्न थाल्यौँ। दिउँसोको भोजनलाई ‘खर्च’ भन्नुपर्ने हो। खर्च भनेर व्यय बुझ्न थालिएको छ। ‘पङ्क्ति’ भन्न छाडेका छौँ, ‘हरफ’ भन्छौँ। ‘लहर’ भन्न छाडेका छौँ ‘लस्कर’ भन्छौँ। हामी ‘अनुभव’ गर्छौँ, ‘बोध’ गर्छौँ, नेपालतिर त ‘महसुस’ गर्न थालेका रहेछन्।

नेपालमा धेरैले ‘अक्सर’ प्रयोग गरेको सुन्छु। लेखाइमा पनि यस्तै पाउँछु। अधिकतर, प्राय: बहुधा शब्द छन् नि त्यसको सट्टा। नेपालमा ‘आदत’ प्रयोग गर्न थालिएको छ, ‘बानी’ हराउन थालेको छ। नेपालमा ‘तलब’ खान्छन्, हामी ‘वेतन’ खान्छौँ। नेपालीहरू ‘अन्दाज’ गर्छन्, हामी ‘अड्कल काट्छौँ’। बाहेक, अतिरिक्त भन्न छाडेर ‘अलावा’ प्रयोग गर्न थालिएको छ नेपाली भाषामा।

 

नेपाली भाषामा आफ्नै शब्द धेरै छन्। राम्रा पनि छन्। नेपालका सञ्चारमाध्यमले पनि नेपाली भाषालाई छिन्नभिन्न पारेको देख्छु। त्यही पीडाले गर्दा हामी अलिक सचेत हुनुपर्छ।
नेपाली भाषालाई राजनीतिक आन्दोलनहरूले पनि बिगारेका छन्। त्यसैले साह्रै दु:ख लागेर हामीले अभियान चलाएका हौँ। त्यसो नगर्ने हो भने नेपाली भाषा बाँच्दैन त्यसपछि नेपाली जाति पनि बाँच्दैन र नेपाल देश पनि बाँच्दैन।

अरबी, फारसी, उर्दू नमिसिएका शब्दहरू संकलन गरी कोश बनाउन सकिँदैन? यसमा केही प्रयास भएका छन् कि?

कोश निर्माणका लागि काम भइरहेको छ। यो समूहले गर्नुपर्ने काम हो। असमबाट खगेन शर्माले यस्तो प्रयास गरिरहनुभएको छ। शब्दकोशका लागि हामीले पनि योजना मागिरहेका छौँ। दिल्लीले पनि काम गर्दै छ। साहित्य एकेडेमी कोश निर्माणको अभियानमा छ।

मेरो वृत्ति प्रशासनका बस्ने भएकाले त्यस्ता काममा जोडिन पाएको छैन। मेरा उत्तराधिकारीहरू भने सक्रिय छन्। नयाँ पिँढी भाषाप्रति सचेत पनि छन्।

नेपाली भाषा शुद्धीकरण भनेर अभियान सञ्चालन गर्दा अरू भाषाको विरोध भएन र?

हामीले अंग्रेजी, अरबी, उर्दू र फारसी भाषाको विरोध गरेका होइनौँ। ती भाषा पनि जान्नुपर्छ। अंग्रेजी भाषालाई पनि हामी सम्मान गर्छौँ। हामीले अंग्रेजी सिकेर नेपाली बिर्सन्छौँ। तर ती भाषाले नेपाली भाषालाई अतिक्रमण गर्नु हुँदैन। हामीले पनि अतिक्रमण रोक्नुपर्छ। शुद्धीकरण अभियानको उद्देश्य अन्य भाषाको विरोध होइन।

वेद, पुराण र सनातनी सभ्यतामा रहेका हाम्रा ज्ञानविज्ञानका कुराहरूलाई अब नेपाली भाषामै पढाउन प्रविधिको सहयोग लिन सकिन्छ? यस विषयमा पनि हामीले चासो लिनुपर्ने समय आएन र?

यसो गर्न सकेमा धेरै लाभ हुन्छ। सेन्टर इन्स्टिच्युट फर इन्डियन ल्यांग्वेजेज (भारतीय भाषा परिषद्) ले नेपालीसहित प्रमुख २२ वटा भारतीय भाषालाई समेटेर प्रविधिसँग जोड्ने काम गरिरहेको छ।

चेन्नईको भारतीय प्रौद्योगिकी संस्थानमा सुनिता दाहाल यस्तै काममा संलग्न हुनुहुन्छ। उहाँले शास्त्रीय तमिल भाषा सिकेर ‘तिरुकुरल’ को अनुवाद गर्नुभयो। भाषाका अध्ययनका लागि मात्रै तमिलको आफ्नै विश्वविद्यालय छ। तमिल अध्ययन भनेको ज्ञानविज्ञान, गणित, समाजशास्त्र सबै कुरा आफ्नै भाषामा अध्ययन गर्नु हो। जहाँ तमिल हुन्छन्, त्यहाँ तिरुकुरल हुन्छ। यसपछि त्यो संस्थाले नेपाली भाषामा पनि काम गर्ने भएको छ।

विद्या अध्ययन र नेपाली ग्रन्थहरूको मुद्रणका क्षेत्रमा काशी छायामा पर्दै गएको हो?

काशी नगरमा काशी हिन्दू विश्वविद्यालय मात्रै छैन। अहिले निजी विश्वविद्यालय धेरै खुलेका छन्। काशीमा मात्रै पाँचवटा विश्वविद्यालय छन्। त्यसैले शिक्षाको केन्द्र काशी छँदै छ। नेपाली विषयमा स्तरीय पठनपाठन हुँदै आएको छ।

काशी हिन्दू विश्वविद्यालयले नेपाली विषमा आठवटा ‘कोर्स’ चलाउँछ। स्नातकमा अनिवार्य नेपाली पढाइ हुन्छ। ‘एबिलिटी एडभान्स कोर्स’ सञ्चालनमा छ। ‘डिप्लोमा कोर्स’ र ‘ब्रिज कोर्स’ सञ्चालनमा छन्। स्नातकको ‘कोर कोर्स’ भइहाल्यो। ‘मेजर र माइनर कोर्स’ पनि पढाइ भइरहेका छन्।

यी ‘कोर्स’ पढ्ने नेपाली भाषी मात्रै हुँदैनन्। हिन्दी भाषी पनि हुन्छन्। एउटा ‘कोर्स’मा कम्तीमा दुई सयजना विद्यार्थीले नेपाली पढ्छ। नेपाली भाषाको राम्रो प्रचार छ। अनेपाली भाषीले पनि नेपाली भाषा पढ्नुपर्छ यहाँ। भारतको कुनै विश्वविद्यालयमा अनेपालीले नेपाली पढ्ने सुविधाचाहिँ काशी हिन्दू विश्वविद्यालयमा मात्रै छ।

प्रौद्योगिकी विकासले गर्दा काशी छायामा परेजस्तो देखिएको हो। मुद्रणको काम काशीमा पहिला निकै सस्तोमा हुन्थ्यो। अहिले मुद्रणको सुविधा सबैतिर पुगेको छ। मुद्रणालयका कारण धेरै लेखक र प्रकाशक पुस्तक छाप्न काशी आउँथे। अहिले त्यस्तो आवश्यकता छैन। त्यसैले काशीमा आउन छाडेका हुन्। मुद्रण व्यवसायमा पनि धेरै नेपाली संलग्न थिए। ती व्यवसायी अन्यत्र सरुवा भए। यो त समयको खेल हो।

पछिल्लो समयमा दार्जिलिङ, सिक्किम र असममा नेपाली भाषाका क्षेत्रमा केकस्ता काम भइरहेको पाउनुहुन्छ?

दार्जिलिङमा राजनीतिक सुशासन त्यति राम्रो छैन। त्यहाँ स्वशासन पनि छैन। बंगालको अधीनमा बस्नुपरेको छ। बंगाल भनेको बाघ हो। बंगालबाट गोर्खाल्यान्ड छुट्ट्याउन खोज्नु बाघको मुखबाट मासु खोस्नुजस्तै हो। त्यो संघर्ष व्यापक छ। संघर्षमै लिप्त भएपछि राजनीतिक स्थिरता हुँदैन।

राजनीति भनेको सबै शास्त्रको जड हो। राजनीति ठिक भयो भने त्यहाँको कला, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नति हुन्छ।
अब दार्जिलिङबाट हामीले त्यति धेरै अपेक्षा गर्नु हुँदैन। दार्जिलिङ धेरै संकष्टमा हुर्किएकाले गर्दा त्यहाँबाट निस्कनेहरूले राम्रो काम गरेर परिचय बनाए। साहित्यमा मात्रै होइन खेल क्षेत्रमा पनि राम्रा निस्किएका छन्।

दार्जिलिङमा नेपाली भाषामा पठनपाठन शिक्षा इसााब्द १९१८ देखि हुन थालेको हो। पारसमणि प्रधान नहुँदा हुन् त हामी सबै हिन्दी भाषी हुने थियौँ यति बेला। पछिल्लो समयमा चाहिँ राजनीतिक चाप धेरै भएकाले भाषाको उन्नतिमा त्यति धेरै काम हुन सकेको छैन।

इसाब्द २०१७ मा बंगाल सरकारले बंगालका सबै पाठशालामा बंगला अनिवार्य गरेको छ। उत्तर बंगला (दार्जिलिङ) मा सबैले बंगला पढ्न सक्दैनन्। बंगला भाषा आफैँमा समृद्ध छ। त्यसलाई हामी श्रद्धा गर्छौँ। तर बलात थोपर्नु हुँदैन। त्यसविरुद्ध ठूलो आन्दोलन भयो। त्यो सफल हुन लागेको थियो, बंगालीसँग सहमतिमा टुंगिए।

बंगलादेशी शरणार्थीलाई पहाडतिर पठाउने क्रम चलिरहेको छ। गोर्खाहरूलाई अल्पसंख्यक बनाउने प्रयास जारी छ। गोर्खाको निर्धनताको लाभ उठाएर हाम्रा भूमिहरू अनेपाली भाषीहरूले किनिरहेका छन्। विपन्नहरूले आफ्नो भूमि सस्तोमा बेचिरहेका छन्। त्यो ठाउँमा बंगालीहरूले ठूलाठूला होमस्टेहरू बनाएका छन्। पहिलाका भूमिपतिहरू अहिले दास बनेर काम गर्न बाध्य छन्। चियाबारी हाम्रा लागि रुमानी कविता लेख्ने ठाउँ हो। चियाको मुनामुनामा भनेर नेपाली भाषीले कविता लेख्छौँ।

चियाको बोटहरू हाम्रा होइनन्। चियाबारीका अधिपति त अर्कै छन्। त्यहाँ काम गर्ने श्रमिक मात्रै हुन्। नेपाली भाषा सबै श्रमिकको भाषा भयो।

नेपालमा प्रत्येक जातको आआफ्नो भाषा छ। दार्जिलिङ र असमपट्टि पनि यस्तै अवस्था छ। दार्जिलिङ र असमतर्फ श्रम गर्न जानेमा धेरै नेपाली छन्। श्रमिक वर्ग एउटै सर्वहारा भए। बाहुन पनि श्रमिक, तामाङ पनि श्रमिक, कामी पनि श्रमिक भएपछि सबै श्रमिकलाई एउटै व्यवहार गरिन्छ। सबैको दु:ख एउटै भएन?

उनीहरूले आफ्ना दु:खवेदना आपसमा नेपाली भाषामा साटासाट गर्छन्। यसकारण नेपाली भाषा एकताको सूत्र भएको छ। नेपालमा नेपाली भाषा एकताको प्रतीक बनेर रहेको छ। त्यो प्रतीक छैन भने नासिन्छ। हामीले भानुभक्त आचार्यलाई एकताको प्रतीक मानेका छौँ। त्यसैले भानुभक्तलाई समातेर नेपाली भाषा शुद्धीकरणको कुरा गर्छौँ। भानुभक्तलाई समातेर हामी पाठशालामा नेपाली भाषा पढाउँछौँ। यो एउटा अभियान हो।

उपभोक्तावाद र विपणिले गर्दा स्पर्धा चलेको छ। यसमा अर्थनीतिले पनि ठूलै भूमिका खेलेको छ। आर्थिक रूपमा जुन ठाउँ सम्पन्न हुन्छ, त्यहाँको भाषासाहित्य समृद्ध हुँदै जान्छ।

सिक्किम सम्पन्न भएका कारण त्यहाँ लेखन-प्रकाशनको सुविधा छ। त्यहाँका निर्माण प्रकाशन र जनपक्ष प्रकाशन सक्रिय छन्। अहिलेको सरकारले पनि कसैले केही लेख्यो भने मुद्रणमा सहयोग गर्छ।

असमपट्टि नेपाली भाषाको अवस्था राम्रै छ। राम्राराम्रा कृतिहरू निस्कन थालेका छन्। कतिको व्यय गर्न सकिन्छ भन्नेमा निर्भर हुँदो रहेछ। प्रकाशन, मुद्रणमात्रै नभएर वितरण व्यवस्थामा जो सचेत छ, त्यसको राम्रो हुँदै आएको छ। लेखकहरूले पनि लेखिदिनुपर्‍यो। जसले राम्रो लेख्छ उसको चल्छ। गनगन गरेर मेरो पढिदिएन भनेर भएन नि। राम्रो लेख्न सक्नुपर्‍यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast