
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चैत १५ गतेको घटनामा राज्यले आफ्नो पार्टी कार्यालयको उचित सुरक्षा गर्न नसकेको बताएका छन्।
आइतबार काठमाडौँमा नेपाल आदिवासी जनजाति महासंघ(समाजवादी)को बागमती प्रदेश भेला उद्घाटन गर्दै अध्यक्ष नेपालले कांग्रेस र एमालेको पार्टी कार्यालयमा पर्याप्त सुरक्षाकर्मी तैनाथ गरे पनि आफ्नो पार्टी कार्यालयलाई भने राज्यले सुरक्षा गर्न नसकेकाले चैत्र १५ गते आगजनी र तोडफोड भएको बताएका हुन्।
आफ्नो कार्यालयमा तोडफोड गर्दै कम्प्युटर, मोवाइलका साथै पंखासमेत चोरी भएको उनले बताए।
उनले चैत्र १५ गतेको घटनामा जोडिएका सबैले जिम्मेवारी लिनुपर्ने र दोषीलाई सरकारले कारवाही गर्नुपर्नेमा जोड दिए। अध्यक्ष नेपालले आफ्नो पार्टीलाई उचित क्षतिपूर्ति दिन मागसमेत गरे।
अराजक व्यक्ति बोकेर राजतन्त्रलाई पुनर्वहाली गर्ने उदेश्य पुरा हुन नसक्ने उनले उल्लेख गरे।