जनकपुरमा आज रामनवमी महोत्सव

हिमाल प्रेस २४ चैत २०८१ १३:४६
6
SHARES
जनकपुरमा आज रामनवमी महोत्सव

धनुषा- सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदैछ। भगवान् रामको जन्म चैत्रशुक्ल नवमी तिथिमा भएको स्मरणमा आज रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ ।

शनिबारदेखि भारतको विभिन्न भेगका साथै नेपालको विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु भक्तजनासहित साधुसन्त रामनवमी पर्व मनाउन जनकपुरधाममा आएका छन्। मर्यादा पुरुषोत्तम रामको जन्मजयन्तीका अवसरमा आज यहाँ रामनवमी महोत्सव आयोजना गरिएको छ ।

रामको प्रेमभूमि र सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा आयोजित महोत्सवमा नेपाल र भारतका साधुसन्तसहित श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्वले जानकारी दिए।

उनका अनुसार मन्दिर परिसरमा श्रद्धालुद्वारा भजनकीर्तनका साथै मिथिलाञ्चलमा जन्मसंस्कारमा गाइने गीतले रामको जन्मोत्सवमा झैँ अनुभूति भइरहेको छ।

‘त्रेतायुगमा चैत्रशुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रमा उल्लेख गरिएको छ । अयोध्याका राजा दशरथपुत्र राम सूर्यवंशी क्षत्रिय राजकूलका ६१औँं पुस्ताका रूपमा मानिन्छन्। ‘राम शब्द रम्’ धातुबाट बनेको हो जसको अर्थ क्रीडा, खेल र आनन्द हुन्छ । विद्वानहरूले यसलाई विभिन्न अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने क्षमता छ, सोही क्षमताबाट उहाँको नाम राम भएको ग्रन्थमा उल्लेख छ’, मन्दिरका महन्त वैष्वले भने।

राम परब्रह्मा, परमतप र परमतारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँको नामसमेत राम राखेका पाइन्छ। महर्षि वैदिक विश्वविद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजारभन्दा बढी सहर रहेका पाइएको वैष्वले जानकारी दिए।

धार्मिक ग्रन्थमा शिवको रामभक्ति तथा हनुमान, नारद, अत्रि, अनुसूया, भरत, शवरीलगायतको रामप्रतिको प्रेम, भक्ति र उपासनाका बारेमा चर्चा गरिएको छ । कल्याणस्वरूप र सत्यस्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायक हुन्।

जसले रामनवमी व्रत गर्छ, त्यसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भन्ने शास्त्रमा वर्णन गरिएको महन्त वैष्वले बताए। उनका अनुसार विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषोत्तम हुन् भने उनको राज्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणाका स्रोत मानिन्छन्।

आज पनि सुशासन, सुव्यवस्थालगायत लोककल्याणकारी, आदर्श व्यवस्थाका लागि शास्त्रीय गुणलाई एउटै शब्दमा पूर्ण अभिव्यक्ति दिन रामराज्य शब्दलाई व्याख्या गर्ने गरिएको जानकारहरू बताउँछन्।

देशभक्ति, पितृभक्ति, मातृभक्ति, भातृप्रेम, प्रजावत्सलता, सरलता, सहिष्णुता, धार्मिकता, नैतिकता, क्षमाशीलता र वीरताका उदाहरण दिँदा पनि रामलाई सम्झिने गरिएको राम मन्दिरका महन्त गिरीले उल्लेख गरे। रामको जन्मोत्सवका अवसरमा आज यहाँ विधिवत् पूजाअर्चना गरिने र साँझमा बधाई गानसहित झाँकी तथा गीतनाद आयोजना हुने उहाँले जानकारी दिए।

कुर्था–जनकपुर–जयनगर मार्गमा नेपाल रेल्वे सञ्चालन भएकाले यहाँका जानकी मन्दिर र राम मन्दिरमा दर्शन गर्ने श्रद्धालु भक्तजनहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको जनकपुरधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साहले बताए।

शोभायात्रा, झाँकी तथा सांस्कृतिक कार्यक्रममा धार्मिक मर्यादा कायम राख्न सबैलाई आग्रह गरिएको बताउँदै उनले शान्ति, सुव्यवस्था र धार्मिक सौहार्द कायम राख्न स्थानीय प्रशासनले आवश्यक तयारी गरेको जानकारी दिए।

प्रकाशित: २४ चैत २०८१ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast