शिक्षक आन्दोलनमा सहभागी हुन निजी विद्यालयका शिक्षक कर्मचारीलाई ईस्टूको अपिल

हिमाल प्रेस २४ चैत २०८१ ११:१७
462
SHARES
शिक्षक आन्दोलनमा सहभागी हुन निजी विद्यालयका शिक्षक कर्मचारीलाई ईस्टूको अपिल

काठमाडौँ- नेपाल शिक्षक महासंघले काठमाडौँमा गरेको आन्दोलनमा सहभागी हुन निजी विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई पनि अपिल गरिएको छ।

संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) ले प्रेस विज्ञप्ति जारी गर्दै गत माघ २० गतेदेखि जारी आन्दोलनलाई थप सशक्त बनाउन निजी विद्यालयका शिक्षकहरूलाई आन्दोलनमा सरिक हुन अपिल गरेको हो।

महासचिव भुपाल उप्रेती र अध्यक्ष होमकुमार थापाद्वारा जारी विज्ञप्ति अनुसार नेपाल शिक्षक महासंघले गुणस्तरीय, विद्यार्थीमैत्री र शिक्षकमैत्री विद्यालय शिक्षा ऐन जारी गराउनका लागि चैत २५ गतेदेखि आम शैक्षिक हडतालको घोषणा गरिसकेको छ। यस अवधिमा देशभरका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिनेछ।

विज्ञप्तिमा भनिएको छ, ‘यो अन्तिम र निर्णायक आन्दोलन हो। सबै शिक्षक–कर्मचारी साथीहरूले काठमाडौँमा जारी शैक्षिक सडक आन्दोलनमा अनिवार्य रूपमा उपस्थित भई ऐक्यबद्धता प्रकट गर्नुपर्छ।’

शिक्षक महासंघले हडताल अवधिभर उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार तथा शैक्षिक भ्रमण लगायत कुनै पनि क्रियाकलापमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ।

विद्यालय सञ्चालकहरूको लगानीसम्बन्धी विषय पनि विद्यालय शिक्षा ऐनसँग सम्बन्धित भएकाले प्याब्सन र एनप्याब्सन जस्ता संघ–संस्थाहरूलाई पनि आम हडतालप्रति ऐक्यबद्धता जनाउन तथा विद्यालय बन्द गरी सहयोग गर्न ईस्टूले अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast