
काठमाडौँ- देशमा राजनीतिक र नीतिगत स्थायित्व सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अवलम्बन गर्नुपर्ने विभिन्न दलका नेताहरू र विज्ञहरूले सुझाव दिएका छन्। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को विज्ञ परिषदद्वारा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले अर्थ–राजनीतिक सुधार बिना समग्र राष्ट्र सुधार सम्भव नभएको बताउँदै स्थायित्व र राष्ट्रिय एकताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक रहेको तर्क प्रस्तुत गरे।
‘शासन चलाउने व्यक्तिलाई जनताले प्रत्यक्षरूपमा चुनेमा प्रजातान्त्रिक अभ्यास बलियो हुन्छ,’ भट्टराईले बताए। तानाशाहीको डर देखाएर राष्ट्रपतीय प्रणालीको विरोध गर्नु उपयुक्त नहुने भन्दै उनले कार्यकाल तोक्ने, प्रतिनिधित्व सुनिश्चित गर्ने जस्ता उपायहरू अपनाउन सकिने बताए।
भट्टराईले संसदीय प्रणालीमै पनि तानाशाह जन्मिन सक्ने उदाहरण दिँदै हिटलरको उदय संसदीय प्रणालीबाटै भएको बताए। साथै उनले ६० लाख दलित एकजुट भएमा सरकारलाई थेग्न गाह्रो हुने भन्दै सामाजिक न्यायका सवाल पनि उठाए।
कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली स्थायित्वको अचूक समाधान हुन नसक्ने बताए। नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रणालीभन्दा पनि प्रवृत्तिमा सुधार आवश्यक रहेको बताइन्।
नेकपा माओवादी नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले भने १५ वर्षअघि नै राष्ट्रपतीय प्रणालीको पक्षमा पुस्तिका लेखिसकेको स्मरण गर्दै यो प्रणालीले रियल डेमोक्रेसी सुनिश्चित गर्ने विश्वास व्यक्त गरे। उनले प्रत्याह्वान र महाभियोगको व्यवस्थाले अधिनायकवादको जोखिम न्यूनीकरण गर्न सकिने बताए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सन्तोष परियारले धर्म र संस्कारकै कारण राजनीतिक अस्थिरता आएको भन्दै संविधानभन्दा माथि संस्कारको सुधार आवश्यक भएको धारणा राखे।
जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले पनि राष्ट्रपतीय प्रणालीको समर्थन गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली र शासकीय सुधार आवश्यक रहेको बताए।
राजनीतिक विश्लेषक सृष्टि रेग्मीले चुनाव प्रणाली र संसदीय संरचना दुवै खर्चिलो भएको बताउँदै सस्तो, प्रभावकारी र स्थायी समाधानको खोजी गर्नुपर्ने सुझाव दिइन्।
डा.मित्र परियारले भने जातीय विभेदको सन्दर्भ उठाउँदै ‘मेरो राष्ट्र नै दलित रहेछ’ भन्ने भावनासहित समान प्रतिनिधित्व नहुनुको पीडा अभिव्यक्त गरे।
राजनीतिक विश्लेषक इन्द्र अधिकारीले सरकार अस्थिर हुनुको कारण प्रणाली नभई मानसिकता (माइण्डसेट) रहेको उल्लेख गर्दै स्थायित्वका लागि प्रणालीसँगै सोचमा पनि सुधार गर्नुपर्ने बताए।