
काठमाडौँ- टोयोटाले आफ्नो तेस्रो पूर्णतया इलेक्ट्रिक सवारीको रूपमा bZ3X SUV चीनमा सार्वजनिक गरेको छ। GAC ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको यो नयाँ मोडल चिनियाँ बजारलाई लक्षित गरी विकास गरिएको हो। नेपालमा टोयोटाको आधिकारिक बिक्रेता सिजी ग्रुप हो।
टोयोटाको ब्रान्ड भए पनि bZ3X सिधै GAC Aion V मा आधारित रहेको बताइएको छ। आकार, मोटर र ड्राइभट्रेन GAC Aion V कै भए पनि bZ3X मा प्रयोग गरिएको ब्याट्री प्रविधि फरक रहेको छ। ५ डोर र ५ सिटर क्षमता भएको यस SUV को लम्बाइ ४,६०० मिमि, चौडाइ १,८५० मिमि, उचाइ १,६०० मिमि र ह्वीलबेस २,७६५ मिमि रहेको छ।
टोयोटाले सार्वजनिक जानकारी अनुसार bZ3X मा प्रयोग भएका ६५ प्रतिशत पार्ट्स GAC सप्लायर्सबाट आपूर्ति गरिएको हो। चीनमै उत्पादित यो सवारी एकदमै लोकप्रिय बन्ने देखिएको छ। बिक्री सुरु भएलगत्तै केवल एक घण्टामै १०,००० भन्दा बढी अर्डर प्राप्त भएका थिए। अर्डरको चापले टोयोटाको अनलाइन सर्भर समेत केही समयका लागि क्र्यास भएको बताइएको छ।
नेपालकोमा, GAC Aion ब्रान्डको आधिकारिक वितरक CG मोटर्स रहेको छ। इलेक्ट्रिक सवारीसाधनप्रतिको आकर्षण र SUV सेग्मेन्टको माग बढ्दो रहेकाले CG मोटर्सले Aion V दुई महिनाअघि नेपाली बजारमा भित्र्याएको थियो।
Aion V को लम्बाइ ४,६०५ मिमि, चौडाइ १,८५४ मिमि, उचाइ १,६६० मिमि, ग्राउण्ड क्लियरेन्स १८५ मिमि रहेको छ। यसमा १९ इन्चको मल्टि-स्पोक एल्युमिनियम ह्वील, लेदर सिटसहित तातो–चिसो सेटिङ, स्मार्ट रेफ्रिजरेटर, फुड वार्मर, र प्यानोरामिक ग्लास रूफजस्ता लक्जरी विशेषताहरू दिइएका छन्। सुरक्षाको दृष्टिले ७ वटा एयरब्याग उपलब्ध छन्।
Aion V को सुरुवाती मूल्य नेपाली बजारमा ६४.९९ लाख राखिएको छ। टोयोटाको bZ3X GAC Aion V मा आधारित भएकाले यो गाडी भविष्यमा नेपाली ग्राहकका लागि पनि आकर्षक विकल्प बन्न सक्ने अनुमान गरिएको छ।