म एक्लो भएर नै ‘प्याउली’ लेखेकी हुँ : बालिका बान्तावा [अन्तर्वार्ता]

विवेक विवश रेग्मी २३ चैत २०८१ १६:११
148
SHARES
म एक्लो भएर नै ‘प्याउली’ लेखेकी हुँ : बालिका बान्तावा [अन्तर्वार्ता]

स्कुले उमेरदेखि नै कविता लेखनमार्फत साहित्य यात्रामा सक्रिय बालिका बान्तावाको एक महिनाअघि ‘प्याउली’ उपन्यास प्रकाशनमा आएको छ। कलरव धरानले प्रकाशनमा ल्याएको उक्त उपन्यास बालिकाको पहिलो पुस्तक हो। पुख्र्यौली थलो भोजपुर भएकी उनी झापा हुँदै हाल हङकङमा बसोबास गर्दै आएकी छन्।

उक्त उपन्यास प्रेमको उपन्यास हो, एकल महिलाको कथाको उपन्यास हो, एकाकीपनको उपन्यास हो। वा भनौँ पटकपटक एक्लिएर पनि संघर्ष गर्नका निम्ति प्रेरित गरिरहने उपन्यास हो। आममहिलाले हरेकदिनजसो भोगिरहेको समयको कथा हो। उक्त उपन्यास बालिकाको जीवनी नै हो। लेखनशिल्पका कारण उनले आफ्नो कथालाई उपन्यास बनाइन्, र प्रकाशनमा ल्याइन्।

उपन्यासमा लादिप्मा मुख्य पात्र छ। लादिप्मा भनेको बान्तावा भाषामा जुन हो। उप्मिहाङ छन् अर्का पात्र। उप्मिहाङ भनेको उज्यालो हो। उज्यालोको राजा। उज्यालोको राजा र जुन अर्थात् उनीहरूको प्रेमको कथालाई मुख्य रूपमा दृष्टान्त देखाउने प्रयास गरिएको छ।

उपन्यासमा भोजपुर, धरान, इटहरी, झापा, हङकङलगायतका ठाउँहरूबारेको कथा छ। कतिपय ठाउँमा लेखिका बान्तावाले मातृभाषालाई संरक्षण गरिरहेकी छिन्। आफ्नै भाषाको प्रयोगका कारण पनि उनको यो उपन्यासले नयाँ आकार कोरेको छ।

लेखिका बान्तावा कोशी प्रदेशको धरानमा भएको पुस्तक विमर्श कार्यक्रममा आएको अवसर पारेर विवेक विवश रेग्मीले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँलाई उपन्यास लेखनको सोच कसरी आयो?

मलाई मेरो कथा लेख्नु थियो। मेरो छोरीसम्मको पुस्ताले मैले बाँचेको कुरा र मैले बाँचेको भोगाइको परिवेश थाहा छ। भावी पुस्ताले पनि मेरो जीवनको घुमाउरो रेखा बुझून् भनेर जीवनी लेख्नु थियो। सोचेँ, मेरो जीवनी कसले पढ्लान्? मजस्तो मानिसको जीवनी केही पनि होइन। बरु आफ्नै कथालाई उपन्यास बनाउँछु भन्ने लाग्यो। उपन्यास भएपछि जसको आँखामा पनि पर्छ भन्ने बोध भयो। अनि उपन्यास लेखन यात्रा अगाडि बढाउँदै जाँदा पुस्तक प्रकाशनसम्म पुगेँ।

यो पुस्तक मनोभावनात्मक हो जस्तो देखिन्छ। त्यसलाई उपन्यासमै प्रस्तुत गर्न कति संघर्ष पर्‍यो?

उपन्यास मनोभावनात्मकजस्तो देखिए पनि सबै कुरा मनोभावनात्मक छैन। कतिपय कुरा काल्पनिक छन्, कतिपय यथार्थ छन्। जिन्दगी सरर बगेजस्तो हुँदैन, सरर लेखिएजस्तो हुँदैन। यो उपन्यास पनि त्यस्तै भयो। सरर बगेजस्तो, सरर लेखेजस्तो भएन। लेख्न मन लागेको निकै अघिदेखि हो। लेख्न थालेदेखि प्रकाशनमा नआएसम्म संघर्ष भइरह्यो।

‘प्याउली’ आमपाठकले किन पढ्ने?

पढ्दै जाँदा किताब बुझ्न र आफूले कसरी बाँच्ने भन्ने पनि सिकिन्छ। पुस्तक पढिसक्दा आममानिसलाई एउटा ‘पाठ’ पनि हुन्छ। त्यो पाठ महिलाका लागि मात्रै होइन, पुरुषका लागि पनि हुन्छ। विवाहित नारीले र अविवाहित नारीले के चाहिरहेकी छन् भन्ने प्रस्ट हुन्छ। विवाह गरिसकेपछि सर्वस्व जीवन साथीलाई सुम्पिइन्छ। त्यसपछि कस्तो जीवन बाँच्नुपर्छ भन्ने सिकाइका लागि ‘प्याउली’ पढ्नुपर्छ।

यो पुस्तकमा त सम्बन्ध विच्छेदका कुराहरू छन्। पुस्तकको सम्बन्ध विच्छेद र अहिले हरेक दिनजसो भइरहने सम्बन्ध विच्छेदमा के भिन्नता छ? सम्बन्धविच्छेद किन भइरहेको छ?

महिला वा पुरुषले आफ्नो सम्बन्ध रहेको व्यक्तिबाट आत्मसम्मान खोज्छ। आज जति पनि सम्बन्धविच्छेदका घटना छन् त्यो भनेको आत्मसम्मान नभएरै हो। जब आत्मसम्मानमा ठेस पुग्न थाल्छ, तब सम्बन्धमा विवाद आउन थाल्छ। जब आफू पनि कोहीमा निर्भर छैन, त्यो बेला आत्मसम्मानको महत्त्व हुँदोरहेछ। एक–अर्काले आत्मसम्मान नपाएरै पनि आज सम्बन्धविच्छेद भइरहेको छ।

एउटा मानिसले कसैलाई किन हेप्छ भने ‘मेरो लेभलको कोही मानिस छैन’ भने त्यो मानिसलाई मैले तल्लो स्तरको व्यवहार गर्ने सोच आममानिसमा अझै पनि छ।

सम्बन्ध भनेको परिवारलाई जोड्ने सूत्राधारसँगै बच्चाबच्चीका लागि आदर्श पनि हो। मानिसको सम्बन्ध किन धराशयी बन्दोरहेछ भने एउटा महिलाले आफ्नो लोग्नेबाट के चाहन्छ? भन्ने कुरा हुन्छ। यो उपन्यास हरेक घरघरको कथा हो। अधिकांशले भन्न र लेख्न नसकेको मात्र हो। हरेक घरमा कथा छ, तर दबिएरै बसिरहेको छ। यस्ता कथा आइरहनुपर्छ भन्ने लाग्छ।

उपन्यासले पुरुषलाई सचेत गराउँछ। यो कथा महिलाले त भोगिरहेकै छन्, पुरुषले बुझ्न पनि पढ्नुपर्छ। सचेत बन्न पनि पुरुषले यो किताब पढ्नुपर्छ।

यो उपन्यासलाई कतिपयले नारीवादी उपन्यास भनेर पनि चर्चा गरेका छन् नि?

यो उपन्यास एउटा महिला सशक्तीकरणको कथा हो। संघर्षको कथा हो। जीवनसाथीसँगको सम्बन्धमा बिग्रिएपछि थालनी गराएको कथा हो। सम्बन्ध बिगारेर पनि संघर्षका कारण आत्मनिर्भर भएकाको कथा हो। हरेक सम्बन्ध टुंगिनुअघि आफ्नै खुसीले सम्बन्ध त्याग हुँदैन। त्यही कथा हो। पुरुषको अहम्का कारण आफ्नै अस्तित्व र परिचय नरहने गरी कसरी जीवन बाँच्नु भनेर सम्बन्ध त्याग गरेको महिलाको कथा हो। संसारमै एक्लै भएर पनि म फेरि आफ्ना सपनालाई पछ्याउँछु भनेर लेखिएको कथा भएकाले पनि यसलाई नारीवादी भनिएको हो। नारी सशक्तीकरणका विषयमा लेखिएको कथा भएकाले नारीवादी भनेर चर्चा हुनु स्वाभाविक हो।

महिलाले आफ्नो अधिकार खोज्ने हो भने आफू पहिला आत्मनिर्भर हुनुपर्छ भन्ने कथाको उपन्यास हो। आज पनि नारी पुरुषको तिरस्कार सहँदै बसिरहेको अवस्था छ। त्यस अर्थमा नारीवादी भनिएको हो।

पछिल्लो समय पाठकले कस्ता पुस्तक पढ्न रुचाइरहेका छन्? पाठकले चाहेअनुरूपका लेखिएका छन्?

पाठकहरू बुझ्ने भएका छन्। बुझ्ने मानिसले पुस्तक निरन्तर पढिरहेका छन्। अधिकांश मानिसले प्रेमकै पुस्तक रुचाइरहेका छन्। प्रेमको कथा हुँदा उत्सुक र कौतूहल हुन्छ। प्रेम भन्ने कुरा त जुनै उमेरमा पनि हुँदोरहेछ। संसारलाई सुन्दर बनाउने कुरा पनि प्रेम नै हो। कथा पढ्दै जाँदा के होला? के होला? भन्ने आकर्षण भइरहेको हुन्छ। म पनि प्रायः प्रेमकै कुरा लेखिरहेकी हुन्छु। त्यसैले पनि प्रेमकै पुस्तक रुचाइन्छन् भन्ने लाग्छ। अर्को कुरा पाठकले चाहेअनुरूपकै पुस्तक लेखिएर नै नेपाली साहित्यका पाठकहरू बढिरहेका छन्।

साहित्यमा आउन चाहने नयाँ पुस्तालाई केही सुझाव छ?

साहित्यमा आउन चाहने भन्दा पनि आइरहेकाहरूले बुझ्नैपर्ने कुरा के छ भने तपाईँलाई जस्तो आउँछ, त्यो लेख्दै जानू। मनमा संकोच लिँदै नलिनू। मैले अग्रजहरूबाट जे सिकेँ, निसंकोच लेख्दै जानू। जानेर आएको कोही हुँदैन। लेख्दै जाने, सुधार हुँदै जान्छ। त्यसले पछिका दिनमा सहज हुन्छ।

यो पुस्तकको नाम ‘प्याउली’ नै किन राख्नुभयो?

म पाँच दाजुको कान्छी (एक्ली) बहिनी हुँ। घरमा पुलपुलिएर हुर्किएँ। आफ्नै कथा भएकाले प्याउली नाम राखेकी हुँ। साहित्यमा सानैदेखि रुचि थियो। कविता लेख्न मन पराउँथे। मैले परिवारलाई महत्त्व दिएँ। विदेश गइयो, एक्लो भइयो। एक्लो भएपछि कथा, कविता नै साथी भए। म परिवारको साथमा थिएँ भने ‘प्याउली’ ननिस्किन सक्थ्यो। म एक्लो भएकैले उपन्यास ‘प्याउली’ प्रकाशनमा आएको हो।

नेपालमा बसेर लेख्न र हङकङमा बसेर लेख्न के फरक रहेछ?

विदेशको दैनिकी दिमाग, हात, खुट्टा एकैछिन खाली नै हुँदैन। तीन–चार घण्टा मात्रै सुताइ हुन्छ। थाहै नपाई समय बितिराखेको हुन्छ। अत्यन्तै व्यस्त भएर समय बित्छ।

हुन त नेपालमा बसेर पनि लेख्ने कथा त्यही हो। बाहिर पनि त्यही हो। तर पनि पर्यावरणले फरक पार्छ। विदेशमा एक्लोपनले लखेट्छ। सन्तान सँगै नहुनु, परिवार नहुनु र एक्लै भएकाले सताइरहन्छ। नेपालमा भने परिवारसँगै बस्न पाइन्छ।

अन्त्यमा, मैले सोध्न छुटाएका र तपाईँलाई भन्न मन लागेका केही छन्?

पुस्तक लेख्नु वा साहित्य सिर्जना गर्नु भनेको इच्छाशक्ति नै रहेछ। २४ घण्टामा दुई घण्टा सुतेर पनि साहित्यलाई सयम दिन सकिनेरहेछ। म एक्लै भएकाले पनि मैले कसैलाई समय दिनुपर्दैन, त्यो समय साहित्यमा दिएँ। फलस्वरूप साहित्य लेख्दै जाँदा यो पुस्तक प्रकाशनमा आयो। पाठकले पढेर आफ्नो प्रतिक्रिया दिनुभयो भने मलाई लेख्नका निम्ति थप हौसला मिल्छ। पाठकको प्रतिक्रिया जस्तोसुकै पनि स्वीकार्य छ।

प्रकाशित: २३ चैत २०८१ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast