नियात्रा

ढुंगो नेपालको, सम्झना नर्वेको

राजाराम बर्तौला २३ चैत २०८१ १९:०५
42
SHARES
ढुंगो नेपालको, सम्झना नर्वेको

सामाजिक जनजीवन, प्राकृतिक सौन्दर्य, गुराँस दर्शन, रोमाञ्चकता, साहस, देशदर्शनको अपरिमित आनन्दको स्रोत, अनुभवको संग्रह र अर्ग्यनिक स्वाद चाख्न पाउने अवसर। यो भन्दा राम्रो अर्को पदयात्रा कमै हन्छ। अहिलेसम्म कुनामा परेको पारखीको नजरमा पर्न नसकेको, प्रचारमा पनि नआएको एकदिने पदयात्राको अनुपम गन्तव्य हो नर्वेढुंगो।

नर्वेढुंगो नाम सापेक्ष नर्वे भन्ने देशको हुनुपर्छ भन्ने लाग्नु स्वाभाविकै हो। हो त यो एउटा स्थानीय वडाध्यक्ष …वनको दिमागी उपज। कुनै समय यिनी नर्वे गएको हुनुपर्छ। किनभने नर्वे रक पेन्टिङ, रक कार्भिङ अर्थात् प्रस्तर कलामा नाम चलेको देश हो। यहाँको केन्द्रीय भागमा अवस्थित एउटा क्षेत्रमा तीन सयभन्दा बढी रक कार्भिङहरू छन्।

रक पेन्टिङमा जनावरहरूको चित्र बनाइएको पाइएका छन्। यी प्रस्तर कलाहरू ढुंगे युग र काँस युगको मानिएको छ। अर्थात् यी प्रस्तरमा कुँदिएका कलाकृति प्राचीन हुन्। अनि नेपालको नर्वे ढुंगो? प्राचीनभन्दा पनि भौगर्भिक उत्थान हो नन्डेटेट। तर यो प्रस्तरमा जनावरको चित्रांकित नभएर प्रेमिल जोडीहरूमा नामांकित देखिन्छन्। त्यसैले यो प्रेमिल छ। सृष्टिको अस्थिपञ्जरमा प्रेमिल जोडीहरूको सिर्जनाको लाहाछाप भने पनि हुने।

यतिमात्र कहाँ हो र! नर्वेढुंगो चट्टान बनेर अक्करमा अड्केको छ। यसको शिरमा छ भालेपोथी डाँडो। गज्जबै छ ठाउँ। रुमानी रहरहरू सजाउने समाजबाट पर थपक्क उठेको डाँडो उत्तरतर्फ लहरे हिमाल हाँसेको र दक्षिणतर्फ उच्च पर्वतले छपक्क छेकेको। सामुदायिक बनको घना जंगल आद्र ठण्डा हावा उष्ण प्रेमिल जोडीहरूलाई अंकमाल गर्न प्रेरित गर्ने किसिमको छ।

समाजले छेकेको बन्धन छलेर खुला आकाशमुनि नांगोे डाँडामा उभिएर इजहार गरे हुन्छ प्रेमको। आलिंगनमा लट्ठिएर जंगल, बोटबिरुवा, लालीगुराँस, ढुंगामाटालाई साक्षी राखेर प्रेमको महल खडा गरे पनि हुन्छ। यहाँ रोक्ने कोही हुने छैनन्। कैलाशमा शिवपार्वती नाचेझैँ आफ्नै डमरु बजाएर नाचे पनि भयो।

यो मेरो आफ्नै जन्मभूमि हो। आफ्नै जिल्ला। अझ भनौँ एक डाँडापारिपट्टिको शिखरबेसी बाहुनगाउँ मेरो पुर्ख्यौली थलो। यहीँको यो रुमानी ठाउँमा अहिलेसम्म पुगेको रहिनछु। अचम्मकै हुन्छन् मानिसहरू। आफ्नै अगाडि देख्दैनन् परको टिप्न खोज्छन्। नजिकका भाइ चिन्दैनन् परसँग मितेरी लगाउन हौसिन्छन्। त्यही ढ्याङको मूला परेँ म पनि। मूला किन भनेको भने टिस्टुङ र पालुङमा औधी मूला फल्छन्। अहिले मूलासँगै आलुले ठाउँ लिएको छ।

नर्वेढुंगा छ रे भन्ने सुनेको थिएँ र धेरै समयदेखि त्यहाँ जाने उत्सुकता पालेर बसेको थिएँ। अवसर मिलेको थिएन। चैतको १६ गते शनिबार पनि सामाजिक बैठकका कारणले जान पाउने अवस्था थिएन। पन्ध्र गते साँझ सहरमा अनपेक्षित आइपरेको घटनाले बैठक रद्द गर्न परेको जानकारी पाएँ। यसे घरमा त के बस्नु भनेर पालुङको भाइ नवराजलाई फोन लगाएँ। पालुंगेलाई कहिले फुर्सद हुँदैन।

एउटा तरकारी झिकेर खाली रहेको जग्गामा अर्को तरकारी लगाउन हतार हुन्छ। अनि त्यसलाई मलजल, गोडमेल भन्दै सारा दिन खेतबारीमा बित्छ। भाइ नवराजले चैतको २० सम्म आफू खाली हुने जनाउ केही दिनअघिको भेटमा दिएको थियो। त्यसैको सदुपयोग गर्ने विचार गरेँ।

पालुङ बाहुनगाउँकै भएर के गर्नु त्यही टिस्टुङपारिको गाउँठाउँ पुगेको रहेनछ भाइ। नर्वेढुंगो उसले पनि सुनेको मात्र रहेछ। साथी पाएपछि ऊ पनि जाने भयो। म पनि साथी पाएकोमा दंग परें।

काठमाडौँबाट बिहान मोटरबाइक लिएर त्रिभुवन राजपथको बाटो हुँदै टिस्टुङ देउराली पुग्दा साढे आठ बजेको थियो। त्यहाँ नौ बजे भट्ने कार्यक्रम थियो। टिस्टुङ देउराली २००० मिटरको उचाइमा छ। चिसै छ ठाउँ। यो देउराली भएर आजको उमेरसम्म सयौँ पटक ओहरदोहर गरियो। यहाँबाट पश्चिम तरेली परेको पाखोमा रहेको बस्तीलाई हेरेर हिँडियो। तर त्यहाँ जाने रहर यसअघि कहिल्यै आएन।

यहीँबाट पश्चिममा छ आग्रा, गोगने गाउँ। गाउँको नाम थाहा छ तर त्यहाँ जाने अवसर जुटेको थिएन। टिस्टुङ देउरालीबाट पश्चिम भिरालो गाउँमा आजभन्दा तीसचालिस वर्षअघिसम्म ढुंगाको गारोमा फुसको छानो भएका घर देखिन्थे। गरिबीले आक्रान्त गाउँको कथा सुनिदिने कोही थिएनन्।

कोदो, फापर, मकै खाएर बाँच्दथ्यो यो गाउँ। यहाँको पुरै गाउँ तामाङ बस्ती हो। गरिबीमा पनि हाँसेर बसेको यो गाउँ अहिले साँच्चिकै हाँसेको छ। पक्की घर देखिन्छन्। गाउँमा बिजुलीबत्ती, बाटो र अरु आधुनिक सुविधा पुगेका छन्।

देउराली क्याफेमा नवराज भाइलाई कुर्दे गर्दा यसका सञ्चालक कृष्ण तामाङ भाइसँग गफ गर्ने अवसर जुर्‍यो। माओवादी द्वन्द्वमा अपहरणमा परेर जागिर नेपाली सेनाको जागिर छोड्न बाध्य पारिएका रहेछन्। अहिले क्याफे चलाएर बसेका छन्। पिताबाट पाएको २५ रोपनी भिरालो पाटोमा आलुखेती गर्दा रहेछन्।

देउरालीबाट पश्चिम आँखा लगाउँदा एउटा चारतले पक्की घर देखियो। भिरालो पाखोमा व्यापार व्यवसायको सम्भावना पनि नभएको ठाउँमा चार तलाको घर देखेर कृष्ण भाइलाई सोधेको त त्यो घर मालिकले वर्षको एक करोड त आलु बचेर कमाउँछ रे! भनेको सुन्दा समय कसरी फर्किन्छ भन्ने आँखै अगाडि देखेँ।

नवराज भाइ दस बजेतिर आइपुग्यो। साथमा १२ वर्षको छोरो अभिन्न पनि रहेछ। ‘हिँड्ने रहर गर्‍यो लिएर आएँ दाइ’ भन्यो। ढिलो भइसकेको थियो। हिँड्नुभन्दा अगाडि कृष्ण तामाङ भाइले यात्राको केही टिप्स दिए। उनलाई धन्यवाद भनेर हामी हिँड्यौँ। मोटरसाइकल खुकुरीपार्कमा लगेर राख्यौँ। खुकुरी पार्कसम्म पिच बाटो छ। यो देउरालीबाट करिब तीनचार किलोमिटर टाढा छ।

खुकुरीपार्कमा स्थानीय युवालाई फुलबल खेल्न फराकिलो मैदानको व्यवस्था गरिएको छ। यसको किनारामा प्रस्तर कलामा खुकुरी बनाएर उभ्याइएको छ। भुइँमा यसको दाप र कुखुरोको प्रस्तरकला राखिएको छ। खुकुरीसँग यसको दाप हुनु प्रासंगिक नै भयो। तर कुखुरो किन होला? बुझ्न सकिएन। खुुकुरीले कुखुरो काटेको भन्ने अर्थ खोज्दा खुकुरीको प्रयोगको महत्त्व घट्ने देखिन्छ। जावो कुखुरा त कर्दले नै पनि रेटिन्छ भनि खुकुरी किन चाहियो? सम्भवतः यसको अरु नै केही अर्थ होला भन्ने सोचियो। आकर्षक छ पार्क।

पार्कबाट ढुंगा बिच्छाएर खुड्किला निर्माण गरिएको छ। एक घण्टा जतिको उकालो हिँडाइपछि भालेपोथी डाँडामा आइपुग्छ। सिनेम्याटिक छ ठाउँ। कुनै फिल्म निर्देशकले थाहा पायो भने प्रेमगीतको छायांकन गर्ने प्रशस्त सम्भावना रहेको छ। भालेपोथी डाँडामा ल्यान्डमार्क देखाउन होला झन्डा राखिएको रहेछ। तर अहिले झन्डाको खम्बा मात्रै छ।

यहाँबाट अझै उकालो चढ्दै करिब एक किलो मिटरजति पर रहेको ‘लेन्खु चिया बगान’ पुग्यौँ। चिया बगानका लागि २०७८ सालमा जमिनको बन्दोबस्त र यसका लागि उपभोक्ता समिति गठनलगायत अरु सामान्य केही प्रबन्ध गरिसकेपछि चियाको बिरुवा नरोपिएको अवस्थामा ठाउँको नाम चियाबगान रहेको देखियो। चिया बेगरको बगान चिया बगान। देशको आवधिक योजनालाई चरितार्थ गर्ने एउटा नमुना यो दुरदराजको गाउँमा आएर पनि देख्न पाइयो।

यहाँबाट हामीसँग दुई विकल्प थिए। छनोट हाम्रै जिम्मामा थियो। सत्तलसिंह राजाको लोककथा जस्तो लामो बाटो या छोटो बाटो राज्ने। हामीलाई कुइभीर हेर्न जानु थियो। कुइभीर अर्थात् कहाली लाग्ने भीर।
चियाबगानसँगै भएको घरकी महिलालाई कुइभीर जाने बाटो कता हो भनेर सोध्यौँ।’ठूलो बाटो गए पनि हुन्छ, सानो बाटो गए पनि हुन्छ’ भन्ने जवाफ आयो। सानो बाटो गए लेखको जंगल काटेर घुमेर आउनुपर्ने। ठूलो बाटो अर्थात् गाडी चल्ने बाटो गए कुइभीरको अन्तिम छेउमात्र देखिने। सानो बाटो जाने भनेर कस्सियौँ।

निकै पर जंगलको छेउमा पुगेपछि एकजना वयस्क भेटिए। ‘यहाँबाट घुमेर जाँदा बाटो खराब छ, चार घण्टा लाग्छ, कुइभीरमा लड्ने सम्भावना रहन्छ’ भनेर एकै सासमा भने। बच्चा पनि लिएर हिँडेका छौँ। एक पटक पनि नहिँडेको बाटो छ। यिनैले भनेको मान्नैपर्‍यो भन्दै त्यहीँबाट फर्कियौँ र ठूलै बाटो समाएर हिँड्यौँ। यही बाटो पनि लेकको भन्ज्याङसम्म पुग्नुपर्ने रहेछ।

बाटो फराकिलो थियो। मन झनै फराकिलो भयो। जंगल राताम्मे थियो लालीगुराँसले ढाकेको। कुन फूलको मात्र प्रशंसा गरूँ। कुन फूल मात्र धित् मरुञ्जेल हेरूँ। कुन फूलको रस्वादन गरूँ। म त लालिगुराँस भएँ, ऊ बनैभरि फुलिदियो म मनैभरि फुलिदिएँ। ढकमक्क ढाकिएर, गमक्क गम्किएर, मसक्क मस्किएर ऊ कतै लजाई म कतै हराएँ। यो पदयात्रा गुराँसमय भयो। गुराँसे भयो।

गुराँसको रंगीन सपना कुइभीरको डरलाग्दो भीरले अत्यास लाग्दो बनाउँदो रहेछ। भीरैमा पनि गुराँस फुलेको छ। भीर हेर्न यसको शिरबाट हिँड्नुपरेको भए जीवनको गति कस्तो हुन्थ्यो होला! हुन त भीर खोपेरै भए पनि मानिस हिँड्थ्यो होला। जसरी भीरमा पनि गुराँस फुलेको छ। अक्करे भीरलाई हेरेर हामी ओरालो लाग्यौँ नागछेडा।

हिँड्न नजाने लडिन्छ। बाटो नहेरे पछारिन्छ। ओरालोमा चिप्लिन्छ। उकालोमा उत्तानो परिन्छ। कुदेर ओरालो झर्छु भन्दा मन र गति मिलेन भने चित् खाइन्छ। चित् खाइयो। बल्ड्याङ खाइयो। १२ वर्षे केटो फुत्त फुत्क्यो। म परे पछारिनेमा। लड्दा लौरोले पनि साथ नदिने रहेछ। सधैँ साथ दिने लौरोले पनि गति छाड्यो। ठीकै छ लडेरै हो मानिस उठ्ने भन्दै जिउ टकटक्याएर हिँडेँ। बाटो अझै लामो थियो, घुँडा दुख्दै थियो। पथिकलाई आराम गर्ने फुर्सत कहाँ? घामको हिँडाइसँग गन्तव्य नाप्नु छ।

नागछेडा दुईतिर भिरालो परेको बीचमा उठेको डाँडामा बसेको छ। यस्तै १०-२० घर होलान्। एउटा घरमा मोटरसाइकल राखेको देखें। सायद यहाँसम्म सवारीसाधन आउन सक्ने फरकिलो बाटो पनि हुनुपर्छ। गाउँबाट केही मिटर ओरालो लागेपछि झोलुंगे पुलमा पुगिन्छ। यहाँको भीरलाई पनि महभीर भनिने रहेछ। यो झोलुंगे पुलको लम्बाइ २४७.५ मिटर लामो छ। झोलुंगे पुलबाट तल हेर्दा निकै गहिरो देखिन्छ। पुल आकर्षक देखिन्छ। पुल तरेपछि सवारीसाधन चल्ने कच्ची बाटो भेटिन्छ।

हामी अब फर्किँदै थियौँ। तर मुख्य गन्तव्य नर्वेढुंगा पुग्न अफै धेरै बाँकी थियो। उकालो लाग्दै यही बाटो पूर्वतर्फ हिँड्दै गर्दा धेरै वरबाट भीरको बीचमा नर्वेढुंगा देखियो। हामी हिँडेको बाटो निकै तल थियो। यही बाटो हिँड्दै जाँदा जंगल काटेर निकै पर पुगेपछि उकालो चढेर घुमेर आउनुपर्ने भयो।

बाटोमा एकजना भाइ भेटिए। उनीहरूले भने, ‘जंगलको बाटो माथि उक्लिएर पनि जान सकिन्छ। तर तपाईँहरू जान सक्नु हुन्न। फर्किएर आउनुहोला।’ उनको भनाइले हामीलाई सहरिया ठानेको प्रतीत भयो।

दुई सय मिटर माथिसम्म त होला नि यो ठाडो जंगल भने हामी कस्सियौँ। उनीहरूलाई बाटो देखाई दिन सक्नुहुन्छ भनी अनुरोध गर्‍यौँ। हामीलाई बाटो देखाइदिए। बाटो त के मानिस हिँडेको रेखा जस्तो। सायद घाँसदाउरा गर्ने मानिस हिँडेको हुनुपर्दछ।

कतै हातपाउले टेक्दै, कतै बुट्टा समाउँदै उक्लियौँ। भित्र जंगलमा दाउरा खोज्न आएको मानिस भेटियो। अझै पर जाँदा एउटा नौ वर्षकी इन्द्रमाया तामाङ नाम गरेकी सानी बच्ची भेटिइन्। बाख्रा चराउँदै रहछिन्।
‘तिमीलाई यो जंगलमा एक्लै बाख्रा चराउन आउँदा डर लाग्दैन’ मैले सोधेँ।

उनको जवाफ थियो, ‘लाग्दैन।’

‘कति वर्षकी भयौ, स्कुल जाने गरिकी छ्यौ त?’

‘अँ, नौ वर्षकी भएँ। स्कुल जान्छु, आज बिदा छ त्यसैले बाख्रा चराउन आएकी।’

‘कतिवटा छन् बाख्रा?’

‘बाह्रवटा छन्।’

‘तिम्रो पेवाचाहिँ कतिवटा छन् नि?’

‘चारवटा छन्।’

चारवटा बाख्रा पेवामा पाएकी यी सानी नानीलाई गतिलो शिक्षा पेवामा दिन सकेको भए? पढ्ने कापी, कलम, झोला, स्कुलको शुल्क आदि दिन सकेको भए। अर्थात् सहरको औसत बच्चाले पाउने सरहको शिक्षा यिनलाई पनि दिन सकेको भए? राज्य चुकेको छ या समाज निर्माणको चेतना जाग्रित गराउने कलामा, कर्तव्यमा नागरिक समाज चुकेको छ। हामी कहाँ चुक्यौँ?

हामीसँग एउटा १२ वर्षको केटो बिदाको दिन उसको पितासँग पदयात्रा गर्न निस्किएको छ। सहरका नौ वर्षका नानीहरू आफ्ना आमाबाबुलाई आइसक्रिम, बर्गर या पिज्जा किनिदे भनेर कचकच गरिरहेका होलान्। तामाङ गाउँकी यी सानी नानी भने नांगो खुट्टा लिएर जंगलको बीचमा बाख्रा चराउँदै छिन्। बाख्रासँग जीवन साट्दै गरेकी यी सानी नानीको भविष्य यही जंगल जस्तै दुरुह छ। देख्न त लालीगुराँस फुलेको छ जंगलै भरि। सुन्दर पनि देखिन्छ तर जीवनको वास्तविकता जंगली काँडाले कोरे समान छ।

हामी नर्वेढुंगा पुग्यौँ। यसलाई चारैतिरबाट नियालेर हेर्‍यौँ। एउटा चट्टान, एउटा आकृति तर फरक परिचय बोकेको। गाउँकै परिचय बनेर उभिएको छ। एउटा ठाउँ घुम्न छुटाउनै नहुने।
यहाँबाट हामी लखरलखर हिँड्दै फर्किदै गर्दा बाटोमा पर्ने मुस्कान झर्ना पनि हेर्न भ्यायौँ। हिउँदमा पानी सुकेर मुस्कानझरना तिरतिरे भएको छ। बर्खामा यसको प्रवाह ठूलो हुने छ र सुन्दर देखिने छ। मुस्कान झरना मुस्कुराउने छ।

सँगै छ खुकुरीपार्क। मोटरसाइकल समाएर फर्कियौँ। भाइ नवराज आफ्नो छोरासहित पालुङ फर्कियो। म दुःखेको घुँडो सुम्सुम्याउँदै काठमाडौँ फर्किए। टिस्टुङ देउरालीबाट काठमाडौँ ५५ किलोमिटर पर्दछ। अर्थात् बिहान गएर पदयात्रा गरे साँझ घर सजिलै आउन सकिन्छ।

  

प्रकाशित: २३ चैत २०८१ १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast