१५ वर्षपछि एकल साँझमा पुरुषोत्तम

हिमाल प्रेस २२ चैत २०८१ २१:४७
8
SHARES
१५ वर्षपछि एकल साँझमा पुरुषोत्तम

पोखरा– लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने १५ वर्षपछि फेरि एकल सांगीतिक साँझमा उभिएका छन्।

शुक्रबार पोखरा सभागृहमा आयोजित कार्यक्रममा उनले पुराना र नयाँ गरी चर्चित १८ गीत गाए। विभिन्न प्रसंग जोड्दै उनले गीत प्रस्तुत गरिरहँदा सभागृह हल गुञ्जायमान भएको थियो।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले अग्रज कलाकारको सम्मान गर्ने उद्देश्यले गत वर्षदेखि सुरु गरेको एकल सांगीतिक साँझअन्तर्गत यसपालि न्यौपानेलाई अवसर दिएको हो। गत वर्ष नारायण रायमाझीको काठमाडौँमा एकल सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको थियो।

स्याङ्जामा जन्मिएर उच्च शिक्षाका लागि काठमाडौँ पुगेका न्यौपानेको कर्मथलो भने पोखरा हो। प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्ष न्यौपाने रेडियो नेपाल प्रादेशिक कार्यालय पोखराका अधिकृतसमेत हुन्। तसर्थ पोखरामै एकल साँझको चाँजोपाँजो मिलाइएको प्रतिष्ठानले जनायो। न्यौपानेको यसअघि २०६६ सालमा लायन्स क्लब आयोजनामा पोखरा सभागृहमै एकल साँझ भएको थियो।

ठीक १५ वर्षपछिको एकल साँझमा उनले सररर पानी घट्टामा, झिलझिल सितारा, ऐना हेरेर, रुन्छ नि मन किन रुँदैन, फूलको बासना, श्रीखण्ड चन्दन, मिर्मिमुनि काली थुनेको, ढुंगेधारामा, पूर्वैमा झ्याल राखे लगायत डेढ दर्जन गीत गाए।
यस अवसरमा न्यौपानको जीवनीमा तयार पारिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो। योसँगै उनलाई प्रतिष्ठानले सम्मानसमेत गर्‍यो।

गायक न्यौपानेको नेपाली लोक दोहोरी क्षेत्रमा एउटा गर्विलो इतिहास कोर्न सफल भएका छन्। झण्डै साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसंगीतमा रहेका उनका करिब हजारभन्दा बढी गीतहरु रेकर्डिङ छन्। उनले २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए।

प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गीत, कला, साहित्यको माध्यमबाट समाजलाई सभ्य बनाउन सकियो भने मात्रै मानिस सुखी हुने बताए। सुखी समाज, समृद्धि समाज बनाउन लोकगीतको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ।

स्वदेशका प्रायः सबै जिल्लादेखि थुप्रै विदेशका भूमिसमेत पुगेर दर्शकलाई मन्त्रमुग्ध पारिसकेका न्यौपानेले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसकेका छन्। उनले लोकगीतमा लगातार तीनपटक म्यूजिक नेपाल अवार्ड पनि हात पारेका थिए।

प्रतिष्ठान अध्यक्ष रीता थापामगरले वार्षिक कार्यक्रमअन्तर्गत अग्रज कलाकारका सम्मान र लोककला संरक्षण गर्ने उद्देश्यले सांगीतिक साँझ आयोजना गरिएको बताइन्।

लोकसंगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले विस २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल लोकगीत, संगीत र लोककलाको क्षेत्रमा क्रियाशील हुँदै आएको छ। प्रतिष्ठानको ७ प्रदेश समिति, १ काठमाडौँ उपत्यका समन्वय समिति, ७७ जिल्लास्तरीय समिति तथा १० वटा देशमा आफ्ना शाखा समिति छन्।

प्रकाशित: २२ चैत २०८१ २१:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast