
काठमाडौँ– अदालतले थुनामा पठाउन आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैँले गिरफ्तारी दिने भएका छन्। उनले चितवनमा आयोजना गर्न लागिएको सभा नरोक्न आग्रह गरेका छन्।
सभापति लामिछानेले फेसबुकमा लेखेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदैछु। साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठ्रलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्।’
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो। प्रहरीले सुप्रिम सहकारी रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख ३ मा लामिछाने, पूर्वडीआईजी छविलाल जोशीबाहेक २८ जनालाई प्रतिवादी बनाएर जिल्ला वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
लामिछानेसहितका १४ जनाविरूद्ध गत असोज ५ मा पूरक जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान सकेर दर्जन बढी तथ्य र प्रमाणसहित पूरक अभियोग दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो। दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणका प्रतिवादीलाई पनि कसुर र बिगो थपेर प्रतिवादी बनाइएको थियो।