
काठमाडौँ- उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ।
जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउन आदेश दिएको हो।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो।
जिल्ला अदालतको आदेशविरूद्ध सरकारी वकिलको कार्यालय उच्च अदालतमा पुनरावेदन गरेको थियो।
त्यस्तै उच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पनि थुनामा पठाउने आदेश गरेको छ। उच्चले जिल्ला अदालत रुपन्देहीको आदेश सदर गरेको हो।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि जिल्ला अदालत रुपन्देहीले जोशीलाई थुनामा पठाउने आदेश गरेको थियो।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो। प्रहरीले सुप्रिम सहकारी रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख ३ मा लामिछाने, पूर्वडीआईजी छविलाल जोशीबाहेक २८ जनालाई प्रतिवादी बनाएर जिल्ला वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
लामिछानेसहितका १४ जनाविरूद्ध गत असोज ५ मा पूरक जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान सकेर दर्जन बढी तथ्य र प्रमाणसहित पूरक अभियोग दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो। दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणका प्रतिवादीलाई पनि कसुर र बिगो थपेर प्रतिवादी बनाइएको थियो।