कस्तो छ रवीन्द्र र धवलको हिरासत बसाइ? अधिकारकर्मीले भने- तीनकुने घटनाको निष्पक्ष छानबिन होस्

हिमाल प्रेस २२ चैत २०८१ १६:४७
174
SHARES
कस्तो छ रवीन्द्र र धवलको हिरासत बसाइ? अधिकारकर्मीले भने- तीनकुने घटनाको निष्पक्ष छानबिन होस्

काठमाडौँ- दुई जनाको ज्यान जाने गरी चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाले आफूहरू निर्दोष रहेको बताएका छन्।

उनीहरूले शुक्रबार पुगेका मानवअधिकारकर्मीको टोलीसँग यस्तो दाबी गरेका हुन्। उनीहरू दोस्रोपटक म्याद थप भई प्रहरी हिरासतमा रहेका छन्। उनीहरुमाथि राज्यविरुद्ध कसुरमा अनुसन्धान भइरहेको छ। वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईको नेतृत्वमा एउटा टोली उनीहरूलाई भेट्न जिल्ला प्रहरी परिसरमा पुगेको थियो।

प्रसाईले दुवैजनालाई उपलब्ध बसाइ व्यवस्था सन्तोषजनक रहेको बताए। उनले भने, ‘मोबाइल र सोसल मिडियामा एक्सेस दिइएको छैन। पत्रपत्रिका भने कसैले लगिदिए पढ्न दिइँदो रहेछ।’

भेटघाट गर्ने ठाउँ भने व्यवस्थित नभएको प्रसाईले बताए। ‘उहाँहरू जेलमा बसेको होइन। हिरासतमा बस्नुभएको हो। हामीले उहाँहरूसँग फलामको बारको वारिपारि भएर कुराकानी गर्‍यौँ’, उनले भने।

टोलीसँग दुवैजनाले हिंसात्मक घटनामा संलग्न नभएको बरु कार्यक्रम स्थलमा अश्रुग्यास प्रहार हुन थालेपछि सुरक्षित ठाउँतर्फ गएको बताएका छन्। ‘हामीलाई जानाजान फसाइएको हो। हिंसात्मक घटनामा हाम्रो संलग्नता छैन। मञ्चमा बसेका बेला अश्रुग्यास प्रहार हुँदा त्यहाँबाट भाग्नुपरेको थियो’, उनीहरूलाई उधृत गर्दै प्रसाईले भने। दुवैजनाले तीनकुने घटनामा सरकारका तर्फबाट बल प्रयोग भएको दाबी गरेका छन्।

उनीहरूले भनेका छन्, ‘हामीमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको छ। हामीले राजद्रोह नै गर्ने खालका गतिविधि गरेका छैनौँ।’ उनीहरूले घटनाका बारेमा निष्पक्ष रूपमा न्यायिक छानबिन गर्न माग गरेका छन्। मिश्र र राणालाई भेट्न अधिकारकर्मीहरू प्रसाईँ, एमनेस्टी नेपालका निर्देशक निराजन थपलिया, जबाफदेहिता निगरानी समितिका अध्यक्ष राजुप्रसाद चापागाईँ, एडभोकेसी फोरमका विन्देश दहाल, विकास बस्नेत, इन्सेकका कृष्ण गौतमलगायत पुगेका थिए।

मानवअधिकारवादीहरूले पनि घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। प्रसाईले हिमालप्रेससँगको कुराकानीमा भने, ‘प्रहरीको विवरणले पनि राज्यबाट घातक हतियार प्रयोग भएको देखिएको छ। घटनाको निष्पक्ष रूपमा छानबिन हुनुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast