सरकारले निजी क्षेत्रलाई सहज हुने कानुन बनाउँछ : ऊर्जामन्त्री खड्का

हिमाल प्रेस २२ चैत २०८१ ९:०९
14
SHARES
सरकारले निजी क्षेत्रलाई सहज हुने कानुन बनाउँछ : ऊर्जामन्त्री खड्का

काठमाडौँ- ऊर्जामन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताएका छन्।

तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत् केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनको बारेमा चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीसँग गएराति आयोजित हस्ताक्षर समारोहमा मन्त्री खड्काले निजी क्षेत्रको सक्रियता बढाएर ऊर्जाको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए।

‘सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन बनाउँदै मुलुकको समृद्धि सुनिश्चित गर्न चाहन्छ,’ मन्त्री खड्काले भने। मन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य पूरा गर्न टनेल बोरिङ मेसिनजस्ता प्रविधि मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले जलविद्युत् परियोजनाको निर्माणसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुने कुरा पनि बताए।

‘स्रोतको उपयोग सबै नागरिकको अधिकार हो,विपन्न वर्गलाई पनि यसमा भाग लिन दिने तयारी छ,’ उनले थपे। भारत र चीनको बीचमा रहेको नेपालले दुवै देशका लगानीकर्तालाई आकर्षित गरेर फाइदा लिनुपर्ने मन्त्री खड्काले बताए।

नेकपा एमालेका सचिव योगेश भट्टराईले २०४६ सालको परिवर्तनपछि ऊर्जाको क्षेत्रको विकास तीव्र भएको र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए। तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगानाले उक्त परियोजनाले नेपालमा लोडसेडिङ अन्त्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यो आयोजनामा ५१ अर्ब लगानी हुनेछ जसमा १२ अर्ब लगानीकर्ता, ८ अर्ब पब्लिक सेयर, २९ अर्ब बैंक र वित्तीय संस्थाबाट र बाँकी २ अर्ब रुपैयाँ बत्ती बलेपछि भुक्तानी गर्ने गरी लगानी जुटाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast