नेपालमा लगानी गर्न थाइल्यान्डका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

हिमाल प्रेस २१ चैत २०८१ १८:३२
16
SHARES
नेपालमा लगानी गर्न थाइल्यान्डका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र थाइल्यान्डका व्यवसायीहरूसँग संयुक्त भेटवार्ता गरेका छन्।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका उनले बिहीबार नेपाल र थाइल्यान्डका व्यवसायीहरूसँग संयुक्त भेटवार्ता गरेका हुन्।

भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको उर्वर भूमि भएको उल्लेख गर्दै थाई व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे।

नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक थुप्रै कानुनहरू संशोधन तथा परिमार्जन गरिएको बताउँदै उनले सरकारले लगानीको सुरक्षाको प्रत्याभूति दिने उल्लेख गरे।

प्रधानमन्त्री ओलीले नेपालमा लगानीका अवसर र सम्भावनाबारे निजी क्षेत्रको धारणा बुझ्न तथा निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमा लगानी गर्न सकिने बताए।

भ्रमणदलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुनमा सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण भएको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीका लागि सहज वातावरण रहेको उल्लेख गर्दै उत्पादन पछिको बजारका लागि भारत र चीनजस्ता ठूला जनसंख्या भएका छिमेकी मुलुक रहेकाले नेपालमा लगानी गर्दा थाई व्यवसायीहरू त्यो सम्भावनाबाट फाइदा लिन सक्ने बताए।

उनले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा सम्भावना रहेको जानकारी गराए। ढकालले भने,‘नेपाल लगानीका लागि पर्याप्त सम्भावना भएको मुलुक हो। पछिल्लोपटक सरकारले गरेका नीतिगत सुधारले बाह्य लगानीलाई आकर्षित गर्ने अवस्था छ। निजी क्षेत्रको तर्फबाट पनि म थाई व्यवसायीहरूलाई लगानीका लागि आग्रह गर्दछु।’

प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छौटौँ शिखर सम्मेलनमा सहभागी हुन बैंककमा रहेको छ। नेपाल र थाइल्यान्डबीच बुधबार दुई सरकारी र ६ गैरसकारी गरी आठवटा सम्झौतामा हस्ताक्षर भएको छ।

प्रकाशित: २१ चैत २०८१ १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast