
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयअन्तर्गतका प्रायः क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सन्पन्न भएको छ। चैत ५ गते तोकिएको चुनाव कतिपय क्याम्पसमा भने रोकिएको थियो। रोकिएका अधिकांश क्याम्पसमा मतदान भइसकेको त्रिवि विद्यार्थी कल्याणप्रमुख पशुपति अधिकारीले जानकारी दिए।
चुनावी परिणामअनुसार प्रमुख तीन दल निकट संगठनको वर्चस्व देखिएको छ। कांग्रेस भ्रातृ संगठन नेविसंघ ११० वटा क्याम्पसमा निर्वाचित भएको छ। यसैगरी एमाले भ्रातृ संगठन अनेरास्ववियु १०८ वटा क्याम्पसमा निर्वाचित हुँदै दोस्रो भएको छ भने माओवादी भ्रातृ संगठन अखिल क्रान्तिकारी तेस्रो बनेका छन्।
त्रिविको केन्द्रीय क्याम्पस र त्रिचन्द्र क्याम्पसको नतिजाले राजनीतिक वृत्तकै ध्यान खिचेको छ। दुवै स्थानमा नेविसंघले बाजी मारेको छ। त्रिचन्द्र क्याम्पसमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन्। सात विद्यार्थी संगठनको मोर्चा बनाएर निर्वाचनमा होमिएका अनेरास्ववियु र अखिल क्रान्तिकारीलगायतका संगठनले तेस्रोमा चित्त बुझाउनुपरेको छ।
कोइरालाले १२१५ ल्याए भने नेविसंघकै बागी सागर न्यौपानेले ६८३ मत ल्याए। मोर्चाका प्रमित बिष्टले ४३१ प्राप्त गरे।
त्रिविकै केन्द्रीय क्याम्पसको नतिजा रोचक देखिएको छ। मुख्य प्रतिस्पर्धी थिए नेविसंघ र अनेरास्ववियु। साँघुरो जित निकाल्दै नेविसंघले त्रिवि केन्द्रीय क्याम्पसमा यसपल्ट पनि बाजी मारेको हो। नेविसंघका दीपकराज जोशी ८ मतान्तरले अखिलका सिद्धान्त भट्टलाई पराजित गर्न सफल भएका छन्।
६ हजार १४६ मतदाता रहेको त्रिविमा तीन हजार ११८ मत खसेको थियो। ७८९ मतसहित नेविसंघका जोशी निर्वाचित हुँदा प्रतिस्पर्धी अनेरास्ववियुका भट्टले ७८१ मत ल्याए। अखिल (क्रान्तिकारी) का प्रविन दाहालले ७२७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५१५ मत प्राप्त गरे। अर्की स्वतन्त्र उम्मेदवार पदमा भुसालले १६६ मत ल्याइन्।
नेविसंघ वृत्त जितले आश्चर्यमा छ यतिबेला। किनभने संगठनभित्र केही समयदेखि तिक्ता र असन्तुष्टिको पारो बढेको छ। त्यसकै असरका कारण विभिन्न क्याम्पसमा नेविसंघका बागी उम्मेदवार मैदानमा थिए।
अखिलमा भने पूर्ण तयारी रहँदा पनि सभापतिबाहेकका पदमा मात्र नतिजा हात पर्न सक्यो।
स्ववियु चुनावका विषयमा छलफल र संवाद भइरहेको विद्यार्थी नेताहरू बताउँछन्। नेविसंघमा मतान्तर घटेकोमा चिन्ता छ भने अखिलमा हारेको पीडा देखिन्छ।
नडगमगाएको नेविसंघ
त्रिविमा उम्मेदवार छनोट गर्न नेविसंघले ‘महाभारत’ झल्नुपरेको थियो। आन्तरिक तिक्तताको टुंगो अदालतले लगायो। यति हुँदा पनि स्ववियु नतिजा आफ्नै पक्षमा परेका छ। थालनीमा नेविसंघमा उम्मेदवार को बन्ने भन्ने विवाद थियो।
नेविसंघबाट अध्यक्षमा उम्मेदवारी पाँचजनाको पर्यो। दीपकराज जोशी, अनोज कार्की, पद्मा भुसाल, नरेन्द्र साउद, अक्कल रानाभाटले उम्मेदवारी दिएका थिए।
जोशीका पक्षमा दुजाङ शेर्पा उभिए भने त्रिवि नेविसंघ एकाइ अध्यक्ष विष्णु बडैलासहितका नेताले अनोज कार्कीलाई साथ दिएका थिए। यी सबै विद्यार्थी नेता कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। टिकट वितरणमा भने यी दुवै पक्ष विभाजित थिए।
‘मनोनयनको समय घर्किन लागेको थियो। संगठन बचाउनका लागि मैले अनोज कार्कीको नाम लगेको थिएँ,’ बडैला भन्छन्, ‘पार्टी महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठोरले समेत फोन गरेपछि मैले अनोजलाई उम्मेदवारका रूपमा उभ्याएँ।’
बडैलाले नेविसंघ सभापति शेर्पासँग समेत परामर्श गर्न खोजेका थिए। तर शेर्पा सम्पर्कमा नआएपछि अनोजलाई अघि सार्न खोजे। जब अनोज मनोनयनको पत्र लिएर निर्वाचित समितिमा पुगे तब दुजाङको हस्ताक्षरसहितको पत्र बोकेर दीपकराज जोशी पुगे।
एकै संगठनबाट दुई उम्मेदवार पुगेपछि निर्वाचन समिति अलमलमा पर्यो। निर्वाचन समितिले निर्णय लिन नसकेपछि आधिकारिकताका लागि नेविसंघलाई पत्र काटेको थियो। ‘हामीलाई निर्वाचन समितिले भनेको थियो। दुजाङजीको हस्ताक्षर भएको आधिकारिक भनेर पत्र लेखेको हौँ’, नेविसंघ प्रवक्ता सुरज सेजुवाल भन्छन्। यो विषय यत्तिकै रोकिएन। कार्कीले उच्च अदालत पाटनमा मुद्दा दायर गरे। अदालतले आधिकारिक उम्मेदवार दीपकलाई तोकिदियो।
नेविसंघको विवाद यति मात्र थिएन। दीपक र अनोजबाहेकका उम्मेदवारलाई मिलाउनुपर्ने बाध्यता थियो। नरेन्द्र साउद र पद्मा भुसाल पनि बागीका रूपमा उठेका थिए।
दीपकको पार्टीका शीर्ष नेतासम्म पहुँच रहेको दाबी गर्छन् उनी निकट विद्यार्थीहरू। नेविसंघ त्रिविका सभापति बडैलाका पनि उनी नजिक थिए। दीपक निकट नेताहरू अनोजले प्यानल ‘छनोट’ गर्न नसकेको बताउँछन्। ‘देउवाकै हो तर दीपकको जस्तो अडान लिन सकेनन्। यही कारण नाम गएन भन्ने देखियो’, नेविसंघका एक नेता भन्छन्।
जब अदालतले निर्णय दियो तब नेविसंघ एक बन्यो। ‘दीपकसँग हाम्रो समस्या थिएन। हामी संगठनले जित्नुपर्छ भन्नेमा थियौँ। त्यही कारण एक भएर लाग्यौँ’,बडैला भन्छन्।
अदालतले निर्णय लिएपछि आफूहरू एकजुट भएको उनको भनाइ छ। ‘हामीले हाम्रो प्रतिस्पर्धी को हो भनेर चिनेका थियौँ। अखिललाई जित्न नदिन पनि हामी एक भएर लाग्यौँ’, बडैला भन्छन्।
दीपक-अनोजबीचको विवाद थिएन। नेविसंघका प्रवक्ता सेजुवालका अनुसार नेविसंघबीच ‘बुझाबुझ’ नहुँदा समस्या आएको हो। ‘दुजाङ-बडैलाबीच समन्वय हुन सकेन। फोन मात्र लागेको भए पनि समस्या हुने थिएन,’ सेजुवाल भन्छन्।
त्रिविमा नेविसंघको विरासत लामो थियो। वामपन्थी निकट विद्यार्थी संगठन अघिल्ला चुनावमा पनि प्रायः निर्वाचित हुन सकेका थिएनन्।
अर्को कुरा, उम्मेदवार छनोटमा पनि सधैँ विवाद हुन्थ्यो। २०७९ सालको स्ववियु चुनावमा तीन जनाको उम्मेदवारी पर्दा विवाद परेको थियो। नेविसंघबाट श्यामराज ओझा, योगेन्द्र रावल, विष्णु बडैला, राजेशकुमार श्रेष्ठ र पद्मा भुसालको दाबेदारी थियो। अन्ततः ओझाले टिकट पाए। निर्वाचित भए पनि।
यसपटक नेविसंघमा विवाद नसकिँदै चुनाव भएको थियो। नेविसंघकै बागी पद्मा भुसाल पनि लडेकी थिइन्। उनले ‘सम्मानजनक’ मत समेत ल्याउन सकिनन्।
‘मलाई संगठनले टिकट दिएको भए सानदार मत ल्याउने थिएँ। नदिँदा पनि मेरै पहुँचले मत ल्याएँ’, भुसालले भनिन्, ‘म एमएस्सीकी विद्यार्थी हुँ। प्राविधिक विषयको समस्या कस्तो हुन्छ भन्ने मलाई थाहा छ। संगठनले भने टिकट दिएन,’ भुसाल भन्छिन्। उनले १६६ मत पाएकी थिइन्।
जित छोप्न सधैँ चुक्ने अखिल
विगतभन्दा सुझबुझ ढंगले स्ववियु चुनावमा होमिएको थियो अखिल। उम्मेदवार छनोटमा सचेत बन्दै अखिलले सिद्धान्त भट्टलाई अध्यक्षको उम्मेदवार बनाएको थियो। सिद्धान्त यसअघि पनि त्रिविमा स्ववियु सचिवमा निर्वाचित नेता हुन्।
अखिलले चुनावभन्दा केही दिनअघि मात्रै नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूसँग तालमेल गरेको थियो। भट्टको हारपछि अखिल नेतृत्वको आलोचना भइरहेको छ। किनभने त्रिविमा यसअघि अखिलकै प्रभावशाली नेता उज्ज्वल खड्कामाथि कारबाही गरिएको थियो। उनै उज्ज्वल यसपटक स्ववियु अध्यक्षमा ५१५ मत ल्याए।
‘हामीले उज्ज्वललाई मिलाउन खोजेका पनि हौँ तर सकेनौँ,’ त्रिवि क्याम्पसका अनेरास्ववियुका एक नेताले भने, ‘पटकपटक कोसिस गर्दा समेत भएन। एमाले नेता ऐन महरसमेत लाग्नुभयो तर ल्याउनै सकिएन।’
महर र उज्जलको गृहजिल्ला एउटै भएकाले पनि मिलाउने प्रयास गरिएको थियो। उज्ज्वल पछि हटेनन्। सभापतिमा पराजित भट्टले भने यसबारे समीक्षा हुँदै जाने बताए।
‘अहिल्यै केही भन्न सक्ने अवस्था छैन। संगठनको मिटिङ बसेर निर्णय लिएला’, उज्ज्वललाई यसअघि संगठनबाट हटाउनु नै अखिललाई भारी परेको विद्यार्थीहरूको बुझाइ छ। ‘यो निर्णयले यति ठूलो रूप लिएला भन्ने लागेको थिएन। समिक बडाल (अखिल अध्यक्ष) माथि नै अहिले काउन्टर भइरहेको छ’, अनेरास्ववियुका एक नेता भने।
बडालमाथि संगठनबाटै आलोचना हुन थालेपछि केही विद्यार्थीले ‘आई म विथ समिक बडाल’ अभियान चलाइरहेका छन्। उनीहरूले ‘नेतृत्वलाई कमजोर बनाएर, आन्दोलन बलियो हुँदैन’ भनेर बडालको समर्थन गरेका हुन्।
अर्को कुरा भट्टले स्नातक तहमा ‘इन्भाइरोमेन्ट साइन्स’ पढे पनि स्नातकोत्तरमा ‘ सोसल वर्क’ अध्ययन गरेका हुन्।
‘त्रिविमा प्राविधिक विषय पढ्नेलाई समर्थन गर्ने एउटा तप्का छ। तर सिद्धान्तलाई विज्ञान पढेको भनेर हामीले बुझाउन सकेनौँ’, ती विद्यार्थी भन्छन्, ‘अहिले सिद्धान्त इन्भाइरोमेन्ट साइन्समा मास्टर गर्दै छन्। हामीले मतदातालाई त्यो कुरा बुझाउन नसक्नु कमजोरी रह्यो।’ सिद्धान्तको हारपछि वर्तमान राजनीतिक परिस्थिति समेत घातक देखिएको नेताहरू सुनाउँछन्।
‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको असर पनि हाम्रो चुनावमा देखियो। यस्तो विविध कारण हाम्रा पछि लागे’, ती विद्यार्थी नेताले भने।
२०६० सालमा अनेरास्ववियुका विजय राईपछि अनेरास्ववियुले सभापतिमा जितेको छैन। त्रिविमा अनेरास्ववियुबाटै २०६० सालअघि भने टंक कार्की (२०३६), शंकर पोखरेल (२०४५), जगन्नाथ खतिवडा (२०४९) र विजय राई (२०६०) सभापति जितेका थिए।