मलेसियाको कानुनविपरीत सडकमा उत्रिन्छन् नेपाली कामदार

रमेश भारती ८ वैशाख २०८२ १४:०७
228
SHARES
मलेसियाको कानुनविपरीत सडकमा उत्रिन्छन् नेपाली कामदार तस्बिर स्रोत : मलेसियामा कार्यरत नेपाली

काठमाडौँ- मलेसिया रोजगारीका लागि पुगेका नेपाली कामदार ससाना समस्यामा पनि सडक आन्दोलनमा उत्रिने गरेका छन्। सोही कारण कतिपय नेपाली कानुनी समस्यामा पर्दै आएको मलेसियास्थित नेपाली दूतावासका अधिकारीहरू बताउँछन्।

गत महिना मलेसियाको पेराकमा सडक दुर्घटना हुँदा एक नेपाली कामदारको मृत्यु भयो। गाडीको ठक्करबाट सहकर्मीको मृत्यु भएपछि क्षतिपूर्ति माग गर्दै एक हजारभन्दा बढी नेपाली सडकमा उत्रिएका थिए।

आन्दोलनमा उत्रिएकामध्ये १३ जना नेपाली पक्राउ परेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। पेराकमा तेलुक इन्टानको चांकाट जोङमा प्रदर्शन गरेकाले उनीहरू पक्राउ परेका हुन्। उनीहरू कम्पनी र दूतावासको रोहबरमा रिहा भएका छन्।

एक वर्षअघि व्यक्तिगत झगडामा नेपाली कामदार काम छाडेर सडक आन्दोलनमा उत्रिएका थिए। बंगलादेश र थाइल्यान्डका नागरिकसँग झगडा हुँदा नेपालीहरू राजधानी क्वालालम्पुरस्थित सडकमा भाेला भएर प्रदर्शनमा उत्रिएका थिए। नेपाली महिला कामदारका विषयमा सामान्य विवाद भएपछि प्रदर्शनमा उत्रिएकामध्ये नौजना नेपाली पक्राउ परेका थिए। उनीहरूलाई पनि दूतावासको रोहबरमा मलेसिया प्रहरीले मुक्त गरेको थियो।

यसअघि २०७६ सालमा क्वालालम्पुरमा तीन हजारभन्दा बढी नेपाली कामदारले सडकमा प्रदर्शन गरेका थिए। मलेसियाका श्रम संगठनहरूले आन्दोलन गरिरहेका बेला आफ्नो माग राख्दै नेपालीसमेत आन्दोलनमा सहभागी भएका थिए।

दुई वर्षअघि मलेसियाको पेराकमा तेलुक इन्टानको चांकाट जोङमा विरोध प्रदर्शन गरिएको थियो। प्रदर्शनमा सहभागी ३२ जनाभन्दा बढी नेपालीलाई मलेसिया प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई नेपाली दूतावासको आग्रहपछि सामान्य जरिबाना तिराएर छाडिएको थियो।

चार वर्षअघि एकजना नेपाली महिलाको मृत्यु प्रकरणमा नेपालीहरू सडक आन्दोलनमा उत्रिएका थिए। मलेसियाको केलाङमा २०७७ कात्तिकमा आइतमाया मगर (आरती मगर) को हत्या भयो। उनको हत्या धनकुटाका गणेशबहादुर कार्कीले गरेका थिए। दोषीमाथि कारबाही माग गर्दै आन्दोलनमा उत्रिएकामध्ये ३० जनाभन्दा बढी नेपाली पक्राउ गरेका थिए। उनीहरूलाई कम्पनी र दूतावासको रोहबरमा छाडिएको थियो।

केही वर्षअघि मलेसियाकै पुचुङमा रेहेको पीटी स्विफ्ट मार्केटिङ कम्पनीमा कार्यरत नेपाली कामदार आन्दोलित भए। उनीहरू कम्पनीले ज्यादती गरेको, अतिरिक्त समयमा काम गरेबापतको पारिश्रमिक नदिएको भन्दै आन्दोलनमा उत्रिएका थिए। त्यतिबेला पनि दूतावास, रोजगारदाता र कामदारबीच भएको त्रिपक्षीय सम्झौता गरिएको थियो।

पीटी स्विफ्ट मार्केटिङ कम्पनीमा आन्दोलित कामदारले कम्पनीको भौतिक संरचनासमेत तोडफोड गरेका थिए। कम्पनीले आन्दोलित नेपाली कामदारलाई भौतिक संरचना तोडफोड गरेको क्षतिपूर्ति तिराएको थियो।

मलेसियाको कानुनअनुसार विदेशी कामदारले आन्दोलन गर्न पाउँदैनन्। रोजगारीका लागि आएका विदेशी नागरिकले मलेसियामा आन्दोलन गरे देश निकालासम्म कारबाही गर्ने कानुनी व्यवस्था छ। नेपाली कामदारहरु मलेसियाको कानुनविपरित आन्दोलनमा उत्रिने गरेको मलेसियास्थित नेपाली दूतावासका प्रथम सचिव खिमानन्द भुसालले बताए। उनका अनुसार अहिलेसम्म आन्दोलन गरेकै कारण नेपालीहरुलाई मलेसिया सरकारले देश निकाला गरेको प्रमाण छैन।

भुसालले भने, ‘नेपाली–नेपालीबीच झगडा हुँदा केही नेपालीले ज्यानसमेत गुमाएका छन्। यसपछि पनि नेपालीहरू आन्दोलनमा उत्रने गरेका छन्। यस्तो समस्या दूतावासले समाधान गर्दै आएको छ।’

मलेसियामा नेपालीहरू सडक आन्दोलनमा उत्रिएपछि यहाँको अध्यागमनले दूतावासमा खबर गर्दै आएको छ। मलेसिया नेपाली कामदारको रोजगार गन्तव्य देश हो। सरकारी आँकडानुसार त्यहाँ साढे पाँच लाख नेपाली वैदेशिक रोजगारीमा कार्यरत छन्। मलेसिया नेपालमा रेमिट्यान्स भित्रिने पाँचौँ देशभित्र पर्छ।

त्यति धेरै नेपाली कामदार रहेको मलेसियामा अवैध रूपमा बसोबास गर्नेको संख्या एक लाखभन्दा धेरै रहेको श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: ८ वैशाख २०८२ १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast