
काठमाडौँ– गाजापट्टीका बेकरीहरूमा पिठो तथा इन्धनको अभावका कारण उत्पादन रोकिएको छ। इजरायली नाकाबन्दीले गर्दा संकटग्रस्त गाजाबासीहरूबीच अनिकालको सम्भावित प्रभावबारे थप चिन्ता बढेको छ।
गाजाको बेकरी मालिक संघका प्रमुख अब्देल नासेर अल अजरामीले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) द्वारा अनुदानप्राप्त बेकरी सोमबार र अन्य बेकरीमा मंगलबारदेखि उत्पादन बन्द भएपछि चरम भोकमरीको सम्भावना बढेको बताएका छन्।
उनले डब्लुएफपीले पिठोलगायत भण्डारणका सामानको न्यूनताको सुचना जारी गरेसँगै बेकरीहरू बन्द भएपछि सयौँ हजार परिवारहरूको खानाको मुख्य स्रोत बन्द भएको बताए।
अल अजरामीले गाजाको स्थिति अत्यन्त खतरनाक भएको जनाउँदै आधारभूत सामग्रीहरू वितरण गर्न कुटानपिसान उद्योगहरू तुरुन्तै नखोलिए प्रकोप थप बढ्ने बताएका छन्।
उनले अन्तर्राष्ट्रिय समुदाय र मानवीय संस्थालाई इजरायललाई क्रसिङहरू पुनः खोल्न र मानवीय संकटको बढ्दो अवस्थालाई रोक्न खाद्य पदार्थ र इन्धनको बाटो अनुमति दिन दबाब दिन आग्रह गरेका छन्।
हालसालै जारी संयुक्त राष्ट्रसंघको प्रतिवेदनले गाजा अनिकालको प्रारम्भिक चरणमा प्रवेश गरेको संकेत गरेको छ जहाँ २० लाखभन्दा बढी मानिसहरूले खाद्यान्नको स्रोत पूर्ण रूपमा गुमाएका छन्।
यस क्षेत्रमा इजरायली आक्रमण बन्द नभएसम्म आगामी दिन विनाशकारी र खतरनाक हुन सक्ने विज्ञहरूले बताएका छन्। –रासस/क्यूएनए