
बैंकक- प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड आइपुगेका छन्। उनी औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा मंगलबार थाइल्यान्डको बैंकक आइपुगेका हुन्।
प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समयअनुसार ६ः१५ बजे बैंकक आइपुगेका हुन्। उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवम् यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका थिए।
थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत छन्। -रासस