
काठमाडौँ- यही चैत २९ देखि प्रदर्शन हुने फिल्म ‘पिताम्बर’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौँमा मंगलबार कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।
अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाईरहेको दृश्यबाट सुरु ट्रेलरमा एक्सनका दृश्यले स्थान पाएका छन्। बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सन केन्द्रित छन्। ट्रेलरमा फिल्मका प्रायः सबै कलाकारलाई स्थान दिइएको छ।
ट्रेलर हेरिसकेपछि फिल्मकी निर्देशक कृषा चौलागाईंले दर्शकसँग आत्म सर्मपण गरेको बताइन्। ‘ट्रेलर आएसँगै हामीले दर्शकसँग आत्म समर्पण गरिसक्यौँ। टिजर, गीत, पोस्टरजस्तै ट्रेलरलाई पनि मन पराइदिनुहुनेछ भन्नेमा ढुक्क छौँ’, उनले भनिन्।
फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।
फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन्। प्रदीप भारद्वाज र अभिमन्यु निरवीले फिल्मको पटकथा र संवाद लेखेका छन्। केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको छ।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन छ।