
काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको ध्यान कार्यान्वयनयोग्य र यथार्थपरक बजेट निर्माणमा केन्द्रित रहेको बताएका छन्।
आगामी आर्थिक वर्षको बजेट निर्माणबारे श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा उनले वितरणमुखी नभई व्यावहारिक तथा कार्यान्वयनयोग्य योजना तर्जुमा गर्न सुझाव दिए।
उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वितरणमुखी बजेटले दीर्घकालीन लाभ नदिने बताए।
अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको गम्भीर समीक्षा आवश्यक रहेको बताउँदै विभिन्न मन्त्रालय तथा निकायका कार्यक्रमलाई एकीकृत गर्नुपर्नेमा जोड दिए।
छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विप्रेषण व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने धारणा राखे। उनले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप सदुपयोग गरी आन्तरिक रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए।
छलफलमा प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा तथा सीप विकासलाई प्राथमिकता दिने विषयमा समेत कुराकानी भएको थियो।