‘ऊनको स्वीटर’ को टिजरमा मिरुनाको डायरीमा अटो भर्दै विपिन

हिमाल प्रेस १९ चैत २०८१ १८:००
10
SHARES
‘ऊनको स्वीटर’ को टिजरमा मिरुनाको डायरीमा अटो भर्दै विपिन

काठमाडौँ- एक समय थियो, जब डायरीका पानामा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटा टाँसिन्थे, अनि जीवनका अविस्मरणीय क्षण अक्षरमा कैद गरिन्थ्यो। प्रेमी/प्रेमिकाले सँगै बिताएका पल, साझा सपना र गहिरा भावना डायरीका हरफहरूमा जिउँदै हुन्थे। तर डिजिटल युगको उदयसँगै त्यो परम्परा धमिलो बन्दै गयो। स्मृतिहरू अब स्क्रिनमा कैद हुन्छन।

त्यही समयलाई मंगलबार सार्वजनिक गरिएको ‘ऊनको स्वीटर’ टिजरले पुनः जीवित बनाएको छ। जहाँ डायरीका पानाहरू पल्टाउँदा निस्कने पुरानो यादको सुवास अझै पनि ताजा महसुस गर्न सकिन्छ। फिल्मको टिजरमा प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिहरूको यात्रा प्रस्तुत गरिएको छ।

फिल्ममा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन्। विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बूको भूमिका पनि विशेष नै छ। यिनै पाँच कलाकारको वरिपरि घुमेको टिजरले प्रेम, स्मृति, र सम्बन्धका उतारचढावलाई प्रस्तुत गरेको छ। विपिन र मिरूनाको अभिनयमार्फत प्रेम र स्मृतिका गहिराइ बुन्न खोजिएको छ, भने एलेक्स र परीक्षाले प्रेममा आउने नोकझोक र भावनात्मक टकराबलाई जीवन्त बनाएका छन्। अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप रोचक बनाएको छ।

टिजरमा मिरूनाले दिएको डायरीमा विपिन आफ्ना भावना लेख्दै गरेको दृश्य देखाइएको छ। विपिनले सांकेतिक रूपमा प्रेमका कुरा व्यक्त गरेका छन् भने, मिरूनाले प्रेममा जटिलता रहेको संकेत गरेकी छन्। फिल्ममा अन्य कलाकार सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय छ।

फिल्म आगामी वर्ष वैशाख २६ मा प्रदर्शन हुनेछ। ‘ऊनको स्वीटर’ आर्टमाण्डूको निर्माणमा बनेको पहिलो फिचर फिल्म हो। फिल्म नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको छ। सह लेखनमा सुरज कटुवाल छन्।

यस्ताे छ टिजर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast