संसद् अधिवेशनबारे सांसदहरूको समीक्षा : विधेयक बनाउन सफल

हिमाल प्रेस १९ चैत २०८१ १७:०४
30
SHARES
संसद् अधिवेशनबारे सांसदहरूको समीक्षा : विधेयक बनाउन सफल

काठमाडौँ- संघीय संसद्को संघीय संसद्को हिउँदे अधिवेशन विधेयक निर्माणका हिसाबले सफल देखिएको छ। हिउँदे अधिवेशन कानुन निर्माणमा प्राथमिकता दिइने भएकाले विधेयक अधिवेशन पनि भनिन्छ।

हिउँदे अधिवेशनमा प्रतिनिधिसभाको २७ वटा बैठक बसेको थियो। अधिवेशनमा १२ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएको थियो। तीमध्ये पाँचवटा विधेयक संघीय संसद्को दुवै सभाबाट पारित भएका छन् भने सातवटा विधेयक समितिमा विचाराधीन छन्। तीनवटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत मात्रै भएका छन्। राष्ट्रियसभाबाट प्राप्त सातवटा विधेयकमध्ये चारवटा विधेयकलाई पारित गरी प्रतिनिधिसभाले राष्ट्रियसभामा फिर्ता पठाएको छ।

सांसदहरूले पनि हिउँदे अधिवेशन सफल भएको बताए। अधिवेशन अन्त्य भएपछि मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले हिउँदे अधिवेशन विधेयक निर्माणका हिसाबले सफल भएको बताएका हुन्।

नेकपा एमालेका सांसद योगेश भट्टराईले हिउँदे अधिवेशनमा १३ वटा विधेयक पारित भएको भन्दै विगतको तुलनामा महत्त्वपूर्ण उपलब्धि रहेको दाबी गरे। विषयगत समितिले पनि गम्भीरतापूर्वक काम गरेको र सरकारले समेत महत्त्वपूर्ण विधेयक प्रस्तुत गरेको उनको भनाइ छ।

त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले संसदको विधेयक अधिवेशनमा २१ वटा कानुन निर्माण गर्ने प्रतिवद्धता गरेको भन्दै त्यसमध्ये महत्त्वपूर्ण विधेयक अघि बढेको बताए। सदन धेरै दिन बन्द गर्ने परिपाटी अन्त्य भएको र राजनीतिक स्थायित्वका लागि दलहरु गम्भीर देखिएको उनको भनाइ छ। उनले सरकारको कामकारवाहीमा चित्त नबुझेको भन्दै गति बढाउनुपर्ने देखिएको धारणा व्यक्त गरे।

रास्वपा सांसद सोबिता गौतमले हिउँदे अधिवेशन निकै चुनौतीपूर्ण देखिए पनि विधेयक अघि बढ्न सफल भएको बताए। उनले सदनको कामकारबाही नियन्त्रणमुखी देखिएको टिप्पणी गरिन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को चालु अधिवेशन सोमबार राति १२ः०० बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिरफारिस गरेको थियो। सभामुख घिमिरेले प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशन सोमबार राति १२ः०० बजेदेखि अन्त्य जानकारी गराउँदै बैठक अन्त्य भएको घोषणा गरेका छन्। हिउँदे अधिवेशन माघ १८ गते सुरु भएको थियो।

प्रकाशित: १९ चैत २०८१ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast